मोबाइल व्यवसायले देशको अर्थतन्त्र र समाज जोडेको छ : मन्त्री खरेल


काठमाडौँ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले देशको अर्थतन्त्र चलायमान बनाउनुका साथै समाजलाई जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ। नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन गर्दै उहाँले मोबाइल व्यवसायमा लाखौँ जेनजी युवा आबद्ध भई देशमै रोजगारी सिर्जना भएको उल्लेख गर्नुभयो।

मन्त्री खरेलले मोबाइल व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै एमडीएमएस प्रणालीभित्र रहेको भ्रष्टाचारको जालो च्यात्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। दिनहुँ ठूलो संख्यामा युवा विदेश जाने अवस्थालाई रोक्न सबै मिलेर पहल गर्नुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस प्रणालीलाई स्पष्ट रूपमा लागू गर्न वा खारेज गर्न माग गर्नुभयो भने काठमाडौं जिल्ला अध्यक्ष सुरेश बानियाँले सेकेन्ड ह्यान्ड मोबाइल कारोबारलाई वैध बनाउन र नेपाली उत्पादनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो।