लैंगिक हिंसाविरुद्धको अभियान र एड्स अनि यौनका अन्तर्राष्ट्रिय चर्चा गर्नुपर्ने समय एकै बेला परेको छ । डिसेम्बर १ विश्व एड्स दिवस, सन् १९८८ डिसेम्बर १ लाई सम्झनुपर्ने दिन । गत डिसेम्बर १ मा ३८ औँ विश्व एड्स दिवस मनाइयो । यस वर्षको नारा ‘अवरोध पार गरौँ एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने रहेको छ । दिवस मनाइरहँदा संसारमा करिब ९० लाखले उपचार नपाएका तथ्यांकहरु आइरहेका छन् ।
हाम्रो सरकारी संयन्त्र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले भनेको छ– सन् २०२४ को अन्त्यसम्म यहाँ ३४ हजार ३३७ जना संक्रमितको अनुमान छ भने त्यसमा ७७ प्रतिशतले उपचार पाएका छन् । ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टी रिट्रोभाइरल औषधि उपचारको निःशुल्क व्यवस्था गरिएको छ । अफसोस नै भन्नुपर्छ, गतवर्ष मात्रै यहाँ ५६९ जनाको मृत्यु भएको र सन् २०१० को तुलनामा यो तथ्यांक ८६ प्रतिशतले कम हो ।
यो रोग, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रोग हो र यसले दक्षिण अमेरिकी देश हाइटीबाट सर्वप्रथम पहिचान पाएको हो । नेपालको सन्दर्भमा पोखरामा पहिले पुष्टि भएको हो । हाल विश्वमा ४ करोड ८० लाख संक्रमित रहेकामा नयाँ संक्रमितको संख्या १ लाख ३० हजारको छ । समग्रमा हाल यसबाट संक्रमित हुनेमा ३ करोड ९४ लाख मानिस १५ वर्ष उमेरमाथिका छन् र १ करोड ४० लाख भने १४ वर्षमुनिका रहेका छन् । संक्रमितमध्येका ६ लाख ३० हजारको मृत्यु भइसकेको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आव ०८०।०८१ मा नै यहाँ ३० हजार बढी संक्रमित देखिएका छन्, १५ वर्षमाथिका महिला १३ हजार, पुरुष १६ हजार र १४ वर्षमुनिका १ हजार २ सय बढी छन् । तथ्यांक विश्लेषण गर्दा १५ देखि ४९ उमेर समूह, जो सक्रिय जनसंख्या हो, धेरै रहेका छन् भनौँ ५१ः५ प्रतिशत र १४ वर्ष उमेरसम्मका समूहका कलिलाको संख्या ४८ प्रतिशत छ । सन् १९८८ देखि हालसम्म ३० हजारजनाको मृत्यु भइसकेको छ र करिव २६ हजार बढीले एन्टी रिट्रोभाइरल थेरापी ओखती प्रयोग गरिरहेका छन् ।
एड्सको परिभाषा गर्दा इम्युन पावरको डेफिसियन्सी हो भने शरीरमा हुने रोगसँग लड्ने क्षमतामा कमी हुनु नै यसको मूल लक्षण हो । असुरक्षित यौन सम्पर्क, रगत दिँदा–लिँदाको असुरक्षित सिरिन्ज, लागू पदार्थ आदिबाट एचआईभी÷एड्स सर्ने हुन्छ । जति बेला अमेरिकामा संक्रमण देखियो, औषधि थिएन, अहिले ओखती छ यसको । नियमन र रोकथाम गर्ने निकाय पनि धेरै छन् । तर संसारका संक्रमितमध्ये ७० प्रतिशतले थाहै पाउँदैनन् आफू संक्रमित छु भन्ने । पहिले त परीक्षणमा पनि डराउँथे, लाजको कुरो पनि थियो, परीक्षण र ओखती निःशुल्क छ अहिले ।
पुरुषले पुरुषैसँग गर्ने यौन सम्पर्क, सुईबाट नशालु औषधि सेवन, असुरक्षित यौन सम्पर्क, परीक्षणविनाको रक्तदान, रोजगारीमा छलाङ मार्ने गरी स्वदेश–विदेशको भागदौड, सवारी चालकहरुसँगको जथाभावी यौन आकर्षण र सम्पर्क धेरै छन् यसको वृद्धिका कारणहरु । त्यसो त एचआईभी÷एड्सका केही विधिहरु पनि छन् निराकरणका लागि, जसलाई एबीसी मेथडको नामले सम्झन सजिलो छ । एको अर्थ एक्सटिनेन्स भनौँ यौन सम्पर्क नै नगर्ने, बीको अर्थ विट्विन टु पार्टनर भनौँ श्रीमान्–श्रीमती मात्र र सीको अर्थ हुन्छ कण्डम अर्थात् सम्पर्क गर तर कण्डम प्रयोग गरेर । सन् १९८८ देखि विश्व तात्यो यसमा र हरेक वर्ष डिसेम्बर १ लाई यसको दिवसका रुपमा मनाउन पनि थाल्यो । नेपालमा स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन नियन्त्रण केन्द्रले यसबारे काम गरिरहेको छ ।
यो रोग लाग्नेमा हाम्रा उत्पादनशील जनशक्ति बढी छ, र त यो राष्ट्रिय समस्या भएको छ । रोजगारीका पीडा, घरबाहिर धेरै रहनुपर्ने, समलिंगी यौन, कण्डमको प्रयोग नहुने, लाजको संकोच, क्षयरोग नै निम्तिएको अवस्था र हाम्रो ७५३ स्थानीय तहहरु नै भरपूर सक्रिय हुन नसक्दा यो महामारीको रुपमा देखा परेको छ । विभिन्न जिल्लाबाट भाइरल औषधि ४५ वितरण केन्द्रहरुबाट ५१ हजार बढीलाई वितरण गरिरहेको भनिएको छ, तथापि यसबारे सचेतनाको कमी नै महसुस भएको छ ।
अभियान सञ्चालन वा गोष्ठीहरु ठूला होटलहरुमा हुन्छन्, गरिनुपर्ने खुल्ला सडक वा स्थानीय जनचासो रहेका स्थानहरुमा हो । सार्वजनिक यातायात सञ्चालनका मुख्य–मुख्य नाकाहरुमा हो, रोजगारीको खोजीमा रहेका मूल स्थानहरुमा हो, शैक्षिक पठनपाठन गरिने संस्थाहरुमा हो, कोर्स सिलेबसमै रहनुपर्ने विषय हो । यो केन्द्रीकृत महामारी हो, दुव्र्यसनी, यौनकर्मीहरु बढी मारमा परेका छन्, हालसम्मको आँकडा हेर्दा लागूपदार्थ दूव्र्यसनीको संख्या ३ प्रतिशत र यौनकर्मीको संख्या २ः२ प्रतिशत रहेको छ, नजिकको देश भारतमा काम गर्न जानेको संक्रमित संख्या ०ः२ प्रतिशतको रहेको छ ।
सन् २०३० मा पूर्ण उन्मूलन हुने लक्ष्यको समय नजिक आइरहँदा कार्यक्रमहरु प्रभावकारी नभएको देखिन्छ । हाम्रो उपचार पद्धति पर्याप्त छैन । स्वास्थ्य सुविधा नै कमजोर छ । बाह्य दातृ निकायको भर पर्नुपरेकाले साधन–स्रोतकै कमी छ । दक्ष जनशक्तिको त अभाव नै छ । संस्थागत प्रयास छ तर संयन्त्रहरुका बीच समन्वयको अभाव छ । शिक्षाको खोजी, शहरको महँगो शिक्षा, खर्च धान्न नसक्ने अवस्था, श्रम रोजगारीका लागि जुनसुकै उमेर समूहको पनि प्रतीच्छा, बालबालिकाहरुप्रतिको यौन शोषण, चेतनाकै कमी धेरै छन् यसमा हेर्नुपर्ने विषयहरु । कम्बोडिया, दक्षिण एसियाका देशहरु, थाइल्यान्डमा यसको रोकथाममा धेरै प्रगति देखा परेको छ, नियन्त्रण कार्यक्रम बढी प्रभावकारी छ ।
हाम्रा दुर्गम भेग, स्वास्थ्यप्रतिको सरकारी जिम्मेवारीकै अभाव पनि रहेको छ, तालिम प्राप्त जनशक्तिको पहुँच सबैतिर छैन । हिजोआज सामाजिक सञ्जाललगायत यत्रतत्र प्रविधिको प्रयोगले महिला हिंसालाई झन् बढाएको छ । पहिलेजस्तो यौन खुल्ला नहुने अवस्था अलिक छैन अहिले । पंक्तिकारले जति बेला झन्डै ३५ वर्षअघि यससम्बन्धी एक अध्ययनमा संलग्न भई सम्बद्ध निकायलाई प्रतिवेदन बुझाउँदै थियो, स्थिति भयावह थियो, अहिले करिब सामान्य देखिए पनि उत्साहित हुने अवस्था छैन । सामाजिक सञ्जाल, उत्ताउला फोटाहरु, टिकटक धेरैले असर पारेको छ, जुन विषय गोपनीय हुन्छ, उजागर गर्दा त्यसको महत्व बढ्ने होइन बरु घट्छ नै ।
यो शताब्दीको शुरुतिर १४ देखि ५० वर्ष उमेर समूहका विश्वका ३ करोड ६१ लाख मानिसहरु यसबाट संक्रमित भई बाँचिराखेका थिए भने यसमा आधा संख्या महिलाकै देखिन्थ्यो । सन् २००४ मा आइपुग्दा ३० लाखले एचआईभी÷एड्सबाट ज्यान गुमाए । जहाँ गरिबी र अशिक्षा छ, यौनधन्दा बढी हुने, चेलीबेटी बेचबिखन हुने, खुल्ला सिमानाका कारण मानव ओसारपसार, वेश्यावृत्ति, शिक्षा आर्जनको चाहनामा शिक्षकहरुबाटै यौनतृष्णा, आफन्तबाटै यौन पिपासुको घेराबन्दी, लैंगिक विभेद, पर्यटन, पर्यटकको देखासिकी, धेरै खर्चबर्चको चाहना, व्यापारिक काम, पेसागत काम कारबाहीले स्त्री–पुरुषको सदावहार भेटघाट, धेरै विषय गुप्त रहने, पद, प्रतिष्ठाको लोभ र शारीरिक भोकले यौनकार्यलाई सामान्यरुपमा बुझिदिँदा पनि यस्ता रोगबाट मानिसलाई समस्या खडा गरेको देखिन्छ ।
धेरै यस्ता रोगी भएको स्थान अफ्रिका हो, बालबालिका पनि त्यहीँ बढी संक्रमित छन्, मृत्युको सिकार हुने संख्या त्यहीँ बढी छ । विश्व स्वास्थ्य संगठनले भनेको थियो– सन् २०१५ मा आइपुग्दा संसारमा ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाए । यो रोग आपैmँमा रोग नभएर इम्युन सिस्टमको कमजोरी, रोग प्रतिरोधात्मक क्षमताको कमी हो । नेपालमा यससम्बन्धी रोग निराकरणका लागि विगत ५ वर्षमा मात्रै ११ करोड ४७ लाखभन्दा बढी युएस डलर भनौँ १० अर्ब रकम खर्च भइसकेको तथ्यांक छ । यसअघि पनि धेरै रकम विदेशीहरुले दिएका हुन् । बढी संक्रमित हुने हाम्रो सन्दर्भमा १५ देखि ४० वर्ष समूहका किशोरकिशोरी नै छन् । रोजगारीका सिलसिलामा अपरिचितसँगको यौन सम्पर्कले यो रोग बोकी ल्याएका केसहरु पनि धेरै छन् ।
पूर्वीय दर्शनले यौनलाई आजको जस्तो खुल्ला राखेको थिएन । विवाहपूर्व यौन सम्पर्कलाई पाप भनेको थियो, वास्तवमा पाप भन्नु प्रदूषण नै हो । आजको जस्तो बिहेवारीमा उमेरको ढिलाइ पनि थिएन, दिदीबहिनीहरु केटा साथी बनाउन हम्मेसी तयार हुन्नथे । विभिन्न कथाकुथुङ्ग्रीहरु बनाएर यसबारे सतर्क रहने गरी शिक्षा दिन्थे, हाम्रा पूर्वजहरु । बाबुआमाको इज्जत, प्रतिष्ठा सम्झन्थे, बहकाउमा नलाग्न नैतिक शिक्षा दिन्थे, जग्गेमा चरु होम गरेर अग्नि साक्षी राखी जन्ती, वरियात, पूरा इष्टमित्रलाई देखाएर, सम्धी, सम्धेलो गराएर केटाकेटीको इज्जत, औकात, प्रतिष्ठा हेरेर, ढोग, भेट गरेर, औपचारिक सिउँदोमा सिन्दुर भरेर विवाह गर्ने चलन थियो ।
परीक्षणका लागि दुलही भित्र्याएपछि मातृका स्थापना गरेको कोठामा दम्पती सुतेर भोलिपल्ट जग्गे बनाई बच्चा पाएको थाङ्ना धोएको प्रतिकको रुपमा खट्कुलोमा सबैले देख्ने गरी मैला कपडा धुने, अघिल्लो जग्गेमा औपचारिक जुठो खाने र खुवाउने चलन थियो । शारीरिक सम्पर्कको प्रमाणित र कुनै गुनासो भए गुनासो पोख्ने गरी १६ दिनभित्र ससुराली जाने, जसलाई १६ दिने साइत या दुलहन फर्काउने भन्ने चलन थियो । अब त्यसो रहेन, गर्भ बोकेको ६ महिनामा मन्दिर गएर सिन्दुर हाल्ने वा कोर्ट म्यारिज गर्ने प्रथा आयो । विदेशमा त रिहर्सल पति–पत्नीको पहिल्यै हुन्छ भन्ने सुनिन्छ, यहाँ पनि त्यही सिको भएको देखिन्छ । बाबुले खोजेको केटाको कुरा गर्दा मैले त स्कूलमा उहिल्यै… भन्ने गरेको धेरै विषय देखिएका छन् । विदेशमा पारपाचुके गर्नेको संख्या पनि धेरै देखिन्छ, यहाँ पनि सम्बन्ध भत्किएका केसहरु धेरै छन् । सबैले बेलैमा सजग नभए यसले भोलि विकराल रुप लिन सक्छ, विगतभैmँ ।











प्रतिक्रिया