काठमाडौं।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण भव्यताका साथ समापन भएको छ । कीर्तिपुरस्थित त्रिवि रंगशालामा फ्लडलाइटमा प्रायजसो खेल खेलाइयो । चिसो हुनुको बावजुद फ्लडलाइटमा भएका खेलहरूमा दर्शकको अत्यधिक सहभागिता पनि रह्यो । एक हिसाबले मूल्यांकन गर्ने हो भने नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटमा फड्को मारेको छ । यो लिगले विदेशी खेलाडीलाई समेत लोभ्याइसकेको छ ।
यस सिजनमा विदेशका महान खेलाडीमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र इंग्ल्यान्डका जेसन रोयले समेत खेल्नाले यस लिगको महत्व कति हो भन्नेमा कुनै व्याख्या गरिरहन पर्दैन् । पूर्व क्रिकेटर पारस खड्काका अनुसार अर्को सिजनको नेपाल प्रिमियर लिग अझै भव्यताका साथ संचालन गर्ने विश्वास लिएका छन् ।
नेपाल प्रिमियर लिगमा केही रेकर्डहरू पनि बनेका छन् । जुन यहाँ प्रस्तुत गरिएको छ ।
२२०–टोलीद्वारा उच्चतम स्कोर – एनपीएल २ मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको नोक्सानीमा २२० स्कोर बनाएको ।
१९२ –टोलीद्वारा उच्चतम स्कोर पछ्याएको –एनपीएल २ मा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध १७७ रनको विजयी लक्ष्य पछ्याएको । तर, एनपीएलको रेकर्ड चाहिँ गत संस्करणमा विराटनगर किंग्सले लुम्बिनी लायन्सले दिएको १९२ रन पछ्याएको हो ।
१७६–कुनै पनि विकेटमा उच्चतम पार्टनरसिप – एनपीएल २ मा विराटनगर किंग्सका मार्तिन गप्टिल र लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध दोस्रो विकेटमा १३२ रनको पार्टनरसिप गरेका । तर, समग्रमा एनपीएलमा रेकर्ड १७६ रनको छ । जुन, गत संस्करणमा पोखरा एभेन्जर्सका दिनेश खरेल र एन्ड्रीज गोसले लुम्बिनी लायन्सविरुद्ध उक्त ठूलो पार्टनरसिप गरेका थिए ।
११४–व्यक्तिगततर्फ उच्चतम रन – एनपीएल २ मा कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ११४ रन बनाएको ।
३–सर्वाधिक हाफ सेन्चुरी – एनपीएल २ मा चितवन राइनोजका रवि बोपाराले ३ हाफ सेन्चुरी बनाएको ।
३२३–सर्वाधिक रन – एनपीएल २ मा पोखरा एभेन्जर्सका एडाम रोसिंगटनले एक शतकसहित ३२३ रन बनाएको । यो समग्रमा एक खेलाडीले एउटै प्रतियोगितामा बनाएको सर्वाधिक रनको रेकर्ड पनि हो ।
२७९–सर्वाधिक रन नेपाली खेलाडीमा – एनपीएल २ मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७६ रन बनाएको । गत संस्करणमा पनि रोहितको टोली पुछारमा रहे पनि उनले सर्वाधिक २७९ रन बनाएका थिए ।
१७–सर्वाधिक विकेट – एनपीएल २ मा सुदूरपश्चिमका अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र लुम्बिनी लायन्सका शेर मल्लले समान १७ विकेट लिएका । यी तीनै जना नेपाली खेलाडी हुन् । गत संस्करणमा पनि सर्वाधिक विकेटसंख्या १७ नै थियो । जसमा, स्कट कुगेलिन र ललित राजवंशीले लिएका थिए ।
५५५–दुबै संस्करण गरी सर्वाधिक रन (व्यक्तिगततर्फ) – लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ५५५ रन बनाएको ।
२७–दुबै संस्करणमा गरी सर्वाधिक विकेट (व्यक्तिगततर्फ) – सुदूरपश्चिम रोयल्सका स्कट कुगेलिनले २७ विकेट लिएको ।
२३–सर्वाधिक छक्का – एउटै प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड जिमी निशामको नाममा रहेको छ । गत संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन प्रम्ुख भुमिका खेलेका निशामले २३ छक्का प्रहार गरेका थिए । यस सिजनमा समेत गरी उनले सर्वाधिक ३१ छक्का प्रहार गरेका छन् ।
१२–एक इनिङमा सर्वाधिक छक्का–कर्णाली याक्सका मार्क वाटले एनपीएल २ मा लुम्बिनी लायन्सविरुद्ध १२ छक्का प्रहार गरेर रेकर्ड राखे । यो कोही पनि खेलाडीले एक खेलमा राखेको सर्वाधिकसख्याको छक्काको रेकर्ड हो ।











प्रतिक्रिया