अष्टाङ्ग योग र कपालीतन्त्रको प्रादुर्भाव

940
Shares

एकपटक ब्रह्मा र महादेवको बीचमा को ठूलो भन्ने कुरामा भनाभन भएछ । ब्रह्माले म ठूलो भन्ने अनि महादेवले म ठूलो भन्ने । ब्रह्माले तिमीभन्दा म ठूलो भन्न थालेछन् अनि महादेवले पनि तिमीभन्दा म ठूलो भन्दै रिसाउन थालेछन् । यसरी ब्रह्मा र महादेवको बीचमा चर्काचर्की नै परेछ । ब्रह्मालाई साह्रै रिस उठेछ र भनेछन्– ‘तिमी छुसीले के फूर्ति गर्छौ ? तिमी पानीमा झार उम्रेजस्तै उम्रेकै त हौ नि ! तंलाई त मैले नै सृष्टि गरेको हुँ ।’

महादेव पनि रिसले चुर भएर क्षेत्रीय स्वभाव निकाल्दै ब्रह्मालाई भनेछन्– ‘तिमी छुसी बाहुनले के गर्छौ ? तिमीलाई त सिध्याइदिन्छु ।’ यति भन्दै उनले ब्रह्माको कपालको जरा दाहिने हातले समाउँदै फनफनी घुमाउन थालेछन् । महादेवले यसरी रिसाएर ब्रह्माको जटा समातेर घुमाउँदा मुठीभरी ब्रह्माको कपालको जटा उखेलिएछ । उतिनै खेर ब्रह्मा डराएर यसले त मलाई मार्न लाग्यो बाबा भन्दै भागेछन् ।

मुठीभरी ब्रह्माको कपाल समातेर एकछिन् महादेव टोलाउन थालेछन् र मनमनै गुनेछन्– ‘अब के गर्ने ? बेकारमा मैले ब्रह्मालाई कपाल समातेर फनफनी घुमाएँ । हेर मेरो हातको मुठीभरी ब्रह्माको कपाल, अब त मलाई ब्रह्महत्याको पाप पो लाग्ने भो !’ अब के गरुँ भनी महादेवलाई दिकदार लागेछ । अनि महादेवले यो ब्रह्महत्याको पापबाट कसरी मुक्त हुने भनी विचार गर्दै एकसुरमा हिँड्दै जाँदा कासीमा पुगेछन् । मसानघाटमा पुगेपछि त्यहीं मसानमाथि नै बसेर महादेवले तपस्या गर्न थालेछन् । त्यहाँ भएका ऋषिमुनिहरुले अचानक महादेवको प्रत्यक्ष दर्शन पाएर ज्यादै खुशी भएछन् र महादेव बसेको मसानको वरिपरि बसेर ध्यान गर्न लागेछन् ।

महादेवको ध्यान कहिले खुल्छ र महादेवको आशिर्वाद एवं उपदेश पाउन सकिन्छ भन्ने आशाले ती ऋषिहरु चौबीसै घण्टा त्यहीँ बसिरहे । हप्तौं बित्यो, कैयौँ दिन बित्यो । तैपनि महादेवको ध्यान खुलेन । महिनौं दिनपछि बल्लबल्ल महादेवको ध्यान खुलेछ । यसो हेर्दा चारैतिर ऋषिहरुले घेरा हालेर बसेको देख्दा महादेव आश्चर्यमा परे । महादेवले ती ऋषिहरुलाई सोधनी गरे– ‘हैन तिमीहरु किन यहाँ बसिरहेका ?’ अनि ती ऋषिहरुले प्रणाम गर्दै भने– ‘हे प्रभु देवाधि महादेव ! हामीले यहाँ हजुरको दर्शन गर्न पाउनु हाम्रो अहोभाग्य हो । हजुरको दर्शन पाउन वर्षौंं तपस्या गर्दा पनि कठिन हुन्छ । आज हामीले हजुरको दर्शन यति सजिलै पाउन सक्नु र हजुरले हामीप्रति यस्तो अनुकम्पा बक्सनु हाम्रो प्रारब्ध नै हो, हजुकै कृपा हो ।’ हजुरलाई हाम्रो कोटीकोटी प्रणाम भन्दै वन्दना गर्न थाले ती ऋषिहरुले ।

ती ऋषिहरुको प्रार्थनाबाट महादेव अत्यन्तै हर्षित भई भन्न थाले– ‘लौ माग तिमीहरुलाई के वरदान चाहियो ? म दिन्छु ।’ तब ऋषिहरुले प्रार्थना गर्दै भने– ‘प्रभु ! हजुरले हामीलाई उपदेश दिइबक्सियोस् । हजुरकै आशिर्वाद र उपदेश पाउने आशाले हामी यहाँ हजुरको ध्यान कहिले खुल्ला भनि बसिरहेको महिनौं भइसक्यो । हामीलाई हजुरको उपदेश र आशिर्वाद प्राप्त होस् ।’
महादेवले पनि ऋषिहरुको वन्दनाबाट प्रभावित भई लोककल्याणको लागि अष्टाङ्ग योगको विस्तृत रुपमा ज्ञान प्रदान गरे । ती सबै ऋषिलाई अष्टाङ्ग योगको ज्ञान प्रदान भएपछि महादेवले ती ऋषिहरुमध्ये योगमा उत्कृष्ट भएका ऋषि पतञ्जलीलाई लोककल्याणका लागि सबैलाई योग सिकाउनू भन्ने आज्ञा गरे । ऋषि पतञ्जलीले सिकाउन थालेको उक्त अष्टाङ्ग योग कालान्तरमा पतञ्जली योगको नामले प्रसिद्ध हुन गएको हो ।

लोककल्याणका लागि दिएका विभिन्न उयपदेशमध्ये एउटा मुख्य उपदेश नै अष्टाङ्ग योग हो । यो योगको अभ्यास गर्न सकेमा मानिसको जीवन सार्थक हुन्छ । अष्टाङ्ग योगको अनुशरण गर्न सकेमा हामीमा यम, नियम र संयमको ज्ञान प्राप्त भई आध्यात्मिक पथमा जान सहज हुनेछ । अनि मोक्षको उद्देश्य प्राप्त गर्न सकिनेछ ।

अष्टाङ्ग योगमा पाँचवटा कुरा छन्– अहिंसा, सत्य, असत्य, चोरेर नलिने र ब्रह्माण्डमा त्यो अपरिग्रह (आवश्यकभन्दा बढी नलिने) । अनि नियममा पनि पाँचवटा कुरा समावेश गरिएको छ– बुद्धता, सन्तोष, स्वाध्याय, तप र ईश्वर (प्राणिधान) । त्यस्तै संयम भनेको ध्यान र समाधिको कुरा भयो । साधारण मानिसले अर्थात् घरगृहस्थीमा रहेका मानिसले ध्यान र समाधिको मार्गमा जान कठिन हुन सक्छ तर यम र नियम मात्र पालना गर्न सकेमा हामीले हाम्रो चरित्र निर्माण गर्न सक्नेछौंं ।

महादेवले अर्को उपदेशको रुपमा कपालीतन्त्रको ज्ञान दिए । वास्तवमा महादेव नै तन्त्र र योगका प्रवत्र्तक हुन् । महादेवले ब्रह्माको कपाल मुठीभरी उखेलेको हुनाले महादेवको अर्को नाम कपाली हुन गएको हो । महादेवको नामबाटै अर्थात् कपालीबाटै कपालीतन्त्रको ज्ञान अर्का एक ऋषिलाई दिई त्यसको प्रचारप्रसार सम्बन्धित व्यक्तिहरुलाई मात्र गर्नू भने । सोही अनुरुप कपालीतन्त्र पाएका व्यक्ति जोगी हुनुपर्ने, सोही अनुरुपको संस्कारमा रहनुपर्ने गरिदिएकाले ज्ञान प्राप्त गर्ने जोगी संन्यासी भए । ती जोगी संन्यासी ब्राह्मणहरुमा गिरी, पुरी, भारतीका नामले चिनिन थाले भने नेवाः समुदायमा जोगी कपालीतन्त्रको प्रयोग गर्ने भएकाले कपाली भनिन थालियो ।

वास्तवमा अष्टाङ्ग योग र कपालीतन्त्र दुवै लोककल्याणका लागि महादेवले प्रदान गरेका हुन् । अष्टाङ्ग योगका माध्यमले मानिसलाई सत् कर्म गराई मोक्ष प्राप्तिको मार्गमा लगाउने हो भने कपालीतन्त्रको माध्यमबले पनि मानिसको जन्म संस्कारदेखि मृत्यु संस्कारसम्म सद्गति प्रदान गर्दै मोक्ष प्राप्तिको मार्गमा लगाउने हो ।

वैदिक पद्धतिबाट जन्मदेखि मृत्युपर्यन्तका संस्कारसम्मका क्रियाकलापसमेत योगमार्गमा समावेश गरिएको हुन्छ भने कपालीतन्त्रको माध्यमबाट पनि जन्मदेखि मृत्युपर्यन्तका सम्पूर्ण संस्कार समावेश गरिएको हुन्छ । नेवाः जाति एउटा यस्तो संस्कारित जाति हो, जसमा ब्राह्मणदेखि शुद्रसम्म चारै वर्णका जातीय वर्गीकरण, सोही अनुरुप संस्कार र संस्कृति सम्पन्न रही आएको छ ।

यसमा नेवाः जातिमा जन्मदेखि मृत्युपर्यन्त कपालीहरुले कपालीतन्त्र अनुसारका क्रियाकलाप गरेर बच्चा जन्माउनेदेखि लिएर मृत्युपश्चात् पनि अर्थात् मृत्यु भएको सातौं दिनमा दिवंगतका नाममा दिइने भोजन तान्त्रिक विधिविधान गरी ग्रहण गरेर दिवंगत व्यक्तिलाई मोक्ष प्रदान गर्नु हो । तर समयान्तरले आज आएर यी कपालीहरुले तान्त्रिक विधिविधान गर्न छोडिसकेका छन् । यदाकदा कतै यी विधिविधान गर्ने कपालीहरु अपवादको रुपमा हुन सक्छन् । वास्तवमा यो शिवतन्त्र कपालीतन्त्रलाई त्यागेर कपालीहरुले अन्य जातिसरह जीवन बिताउन थालेका छन् तर उनीहरुको मृत्युमा भने लासलाई जमिनमुनि नै गाड्ने चलन भने यथावत् रही आएको छ ।