निःस्वार्थी नेता सुवर्ण शमशेरको स्मृति

846
Shares

यसपटक सुवर्ण शमशेरको स्मृति दिवस नेपाली कांग्रेस पार्टी र उसका शुभेच्छुक संस्थाहरुले मनाएको जस्तो मलाई लागेन । नेपाली कांग्रेसका केही महत्वपूर्ण नेताहरुमध्ये प्रमुखमा पर्ने सुवर्ण शमशेर राणाको ४८ औं स्मृति दिवस त्यत्तिकै गएको आभास भयो । स्मरणीय छ, सुवर्ण शमशेरको जन्म सन् १९१० मार्च १ मा भएको हो भने निधन सन् १९७७ नोभेम्बर १९ मा भएको थियो ।

सामन्ती राणा परिवारमा जन्मेको हुनाले उनमा व्यक्तिगतरुपमा ऐश, आराम र ऐयासी जीवनका लागि नपुग्ने केही थिएन । तर राणा परिवारभित्र कलह एवं को सानो, को ठूलो भन्ने विवाद थियो । राणा परिवारभित्रकै भए पनि ‘ए’, ‘बी’, ‘सी’ भनेर ल्याइते, ब्याइते र नानी–मैयाहरुबाट जन्मेकाहरुलाई छुट्याइने गरिन्थ्यो । यसरी वर्ग छुट्याइएको राणाभित्रका एकै बाबुका सन्तानहरुको पनि अलग–अलग समूह छुट्याइँदा सुवर्ण शमशेर राणाचाहिँ ‘सी’ क्लासमा पर्थे । स्मरण रहोस्, सुवर्ण शमशेर श्री ३ महाराज भीम शमशेरका नाति र हिरण्य शमशेरका छोरा थिए ।

नेपालमा एकतन्त्रीय जहानिया राणा शासन अकण्टकरुपमा चलिरहेको अवस्था थियो । त्यही क्रममा भारतको वनारस (वाराणसी) मा २००३ सालको कात्तिक महिनामा विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो सक्रियतामा र देवीप्रसाद सापकोटाको नेततृत्वमा ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ पार्टी गठन गरेका थिए । त्यसै क्रममा सुवर्ण शमशेरले पनि २००५ सालमा भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गरेका थिए ।

दलको प्रमुख अर्थात् सभापतिचाहिँ सुवर्णले महेन्द्र विक्रम शाहलाई बनाएका थिए भन्ने जानकारहरुको भनाइ रहेको छ । स्मरणीय छ, ऊ बेलै सुवर्णले देवव्रत (डीबी) परियारलाई ‘नेपाल प्रजातन्त्र कांग्रेस’ को संस्थापक सदस्य बनाएका थिए । यो कदम (कथित् दलित भनिने जात समूहबाट कुनै पनि राजनीतिक पार्टीको संस्थापक सदस्य बनाउनु) लाई ऊ बेलाको जमानामा समाजले क्रान्तिकारी कदमका रुपमा हेरेको थियो । हुन त २००६ साल चैतमा ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ मिलीकन बनेको ‘नेपाली कांग्रेस पार्टी’ को महामन्त्री पदमा पनि धनमानसिंह परियारलाई ल्याइएको थियो । यो प्रसंगलाई यहीँ छाडौं । अब लागौं, सुवर्ण शमशेरका बारेमा केही जानकारी लिनेतर्फ ।

सुवर्ण शमशेरले गरेको अमूल्य योगदानलाई सम्झेर नै हुनुपर्छ, नेपाली कांग्रेस पार्टीले बितेर गएका आफ्ना पार्टीका प्रमुख नेताहरुको मर्यादाक्रमको सूचीमा एक नम्बरमा विश्वेश्वरप्रसाद कोइरालालाई राखेको छ भने सुवर्ण शमशेरलाई दोस्रो मर्यादाक्रममा राखेको छ । अनि मात्रै गणेशमान सिंहलाई तेस्रो र कृष्णप्रसाद भट्टराईलाई चौथो स्थानमा राखेको छ । त्यसपछि गिरिजाप्रसाद कोइरालालाई पाँचौं र सुशील कोइरालालाई छैटौं मर्यादाक्रममा राखेको छ ।

भनिन्छ, २००६ साल चैतमा ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’ मिलेर एउटै पार्टी भएपछि सुवर्ण शमशेरले पार्टीलाई एक करोड नगद रकम नै सहयोग गरेका थिए । निश्चय नै ऊ बेलाको समयमा एकजना व्यक्तिले विनास्वार्थ एक करोड नगद सहयोग गर्नु भनेको चानेचुने कुरो थिएन । जानकारहरुको भनाइ के रहेको छ भने, त्यो वेला ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ अर्थात् बीपी कोइराला पक्षधरसँग हजारौं–हजार योद्धाहरु नेपालको १०४ बर्से जहानिया एकतन्त्रीय राणा शासनलाई जगैबाट फाल्नका लागि सशस्त्र क्रान्ति गर्न भनी हातहतियार चलाउने तालिम लिएर बसेका थिए । तर खासमा चाहिँ ‘अखिल भारतीय राष्ट्रिय कांग्रेस’ अर्थात् बीपी कोइराला पक्षधरसँग तत्कालै पैसाको जोहो गर्ने कुनै मेलोमेसो मिलिरहेको थिएन ।

तर जब दुई पार्टी एक भए, त्यसपछि सुवर्ण शमशेरले पार्टीलाई विनाव्यक्तिगत–स्वार्थ तत्कालै एक करोड नगद सहयोग दिएपछि नेपाली कांग्रेसले बर्माबाट हातहतियार किन्यो । एक विदेशी पाइलटको सहयोगमा हवाईजहाजबाट ल्याई छिमेकी देश भारत र नेपालको सिमानामा खसालिएको थियो । सो कुरो बीपी कोइराला स्वयंले विभिन्न प्रसंगमा लेख्नु÷बोल्नुभएको छ । यसरी हातहतियार प्राप्त भएपछि नेपाली कांग्रेसका हजारौं–हजार तालिमप्राप्त क्रान्तिकारी योद्धाहरुले नेपालका विभिन्न ठाउँमा हातहतियारसहित श्री ३ महाराज अर्थात् राणा सरकारका सेनाविरुद्ध धावा बोल्दै आक्रमण गरेपछि छोटो समयमै १०४ बर्से एकतन्त्रीय राणा शासनको अन्त्य भयो । मै हुँ भन्ने राणा शासकहरुले आखिरमा जनतासामु घुँडा टेकेरै छाडे ।

सुवर्ण शमशेरमा खासै लोभलालच र व्यक्तिगत महत्वाकांक्षा थिएन । त्यसैले त पार्टीलाई एकपटक एक करोड दिएर मात्रै नपुगेर पार्टीमा पटक–पटक आर्थिक संटक आइपर्दा उनले विनास्वार्थ आर्थिक सहयोग दिइरहे । सुवर्ण शमशेरमा खासै लोभलालच र व्यक्तिगत महत्वाकांक्षा थिएन भन्ने एक महत्वपूर्ण प्रमाण छ । २०१५ को निर्वाचनपछि बनेको नेपाली कांग्रेसको सरकार (जुन सरकारमा सुवर्ण शमशेर स्वयं अर्थमन्त्री रहेका थिए) ले २०१६ मा ल्याएको बिर्ता उन्मूलन कार्यक्रमपछि सुवर्णले कुनै नाइँनास्ती नगरी आफ्नो नाममा रहेको मधेसको १२ हजार बिघा जग्गा सरकारलाई बुझाएका थिए ।

त्यस्तै २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याउँदा पनि राजा महेन्द्रले पार्टीका लोकप्रिय नेता बीपी कोइरालालाई प्रधानमन्त्री बन्ने मार्गप्रशस्त नगरेर पुनः सुवर्ण शमशेरलाई नै प्रधानमन्त्री बनाउने मनसायले आलटाल गरिरहनु र सुवर्ण शमशेरलाई सो सम्बन्धमा ग्रिन सिग्नल दिनु, गोप्य ढंगले राजा महेन्द्रले सुवर्ण शमशेरलाई भेट्नु आदिलाई पनि लिन सकिन्छ । तर सुवर्ण शमशेर राजा महेन्द्रको कुरोमा टसका मस भएनन्, बरु सुवर्ण शमशेरले नै उल्टै बीपी कोइरालालाई नै देशको प्रधानमन्त्री बनाउनुपर्ने भनी आफ्नो अडान दह्रोसँग लिएका थिए भन्ने जानकारहरुको भनाइ रहेको छ । नत्र भने देशको प्रधानमन्त्रीजस्तो पद को हुन चाहँदैन थियो होला र ? तैपनि सुवर्ण शमशेरले बीपीका लागि ठूलो राजनीतिक त्याग गरेका थिए, ऊ बेला ।

अर्को कुरो भनेको अहिले राजनीतिक पार्टी, सरकार, निजामती कर्मचारीलगायत हरेक क्षेत्रमा समावेशीको कुरो उठ्छ । अझ समावेशीको कुरो प्रमुख मुद्दा बन्ने गरेको छ । तर त्यो बेला त्यस्तो कुरोमा खासै ध्यान जाँदैन थियो । तैपनि सुवर्ण शमशेरले २००५ सालमा भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गर्दा आफू सभापति नबसेर महेन्द्रबहादुर शाहलाई सभापति बनाएका थिए । त्यस्तै देवव्रत (डीबी) परियारलाई संस्थापक सदस्यमा राखेका थिए । यो कदम त्यो बेला एकमात्रै समावेशी र प्रजातान्त्रिक कदम रहेको थियो भन्न सकिन्छ ।

नेपाली कांग्रेस पार्टी भनेको मुख र नाराले मात्रै ‘डेमोक्र्याट’ भन्ने पार्टी नभएर नेतृत्व तहमा पनि ‘प्रजातान्त्रिक र समावेशी नीति अपनाउने पार्टी हो’ भन्ने सन्देश जान्थ्यो, बुद्धिजीवीदेखि लिएर आम जनतामा । यसले आखिरमा नेपाली कांग्रेसलाई दीर्घ कालसम्म फाइदा पुग्ने थियो, पुगेको पनि छ । पछिल्लो समयमा त नेपाली कांग्रेसले ८ वटा क्लस्टरको व्यवस्था नै गरेको कम्तीमा सहमहामन्त्री पदमा सबै जातजाति, भाषाभाषी, लिंग, क्षेत्र, धर्म, वर्गलाई समेट्न । नेपाली कांग्रेसले आफ्नो पार्टीमा गरेको ८ वटा क्लस्टरको व्यवस्थाले गर्दा नेपालका अरु राजनीतिक दलहरु पनि समावेशीकरणको नीति अपनाउन बाध्य भएका, हुँदै गएका छन् ।

जे होस्, समावेशीकरणको मामिलामा नेपाली कांग्रेस पार्टी नै अरु राजनीतिक पार्टीभन्दा एक कदम अगाडि छ है भन्ने व्यवहारले देखाउँछ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका लागि यो धेरै हदसम्म सुखद हो ।
नेपाली कांग्रेस पार्टीले १४ औं महाधिवेशनबाट ८ वटा क्लस्टर छुट्याएर आरक्षण (कोटा) लागू गरेको जो छ, त्यसले नेपालको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

१४ औं महाधिवेशनबाट जो महिला, आदिवासी जनजाति, दलित, मधेसी, पिछडिएको क्षेत्र, थारु, मुस्लिम, आर्यखस र अल्पसंख्यक वा अपांगता भएकाबाट समेत एकजना केन्द्रीय सदस्यमा अनिवार्य आउने व्यवस्था गरिसकेको छ । त्यसले गर्दा अन्य राजनीतिक दलका नेताहरुमा पनि आफ्नो दलमा ‘समावेशीकरण’ र ‘समानुपातिक समावेशीकरण’ लागू गर्न दबाब पर्ने गरेको देखिन्छ ।

सुवर्ण शमशेरका बारेमा लेखिनुपर्ने विषयहरु अनगिन्ती होलान् । यहाँ सबै लेख्न सम्भव छैन । अर्को कुरा, मैले इमान–जमानका साथ भन्नुपर्दा मसँग सुवर्ण शमशेरका बारेमा त्यस्तो बृहत् जानकारी पनि छैन । उनका बारेमा थाहा हुनेहरुले प्रशस्तै लेख–रचनाका साथै किताब पनि लेखेका छन् । मैले त एक निःस्वार्थी नेता सुवर्ण शमशेरको स्मृति दिवसमा समेत कतैबाट उनको स्मरण गरेको नदेख्दा केही लेखिटोपलेको मात्रै हुँ ।