काठमाडौँ ।
युके र अमेरिकामा रोजगारी दिलाइदिने प्रलोभन देखाई ठूलो रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार महाबज्रयोगिनी एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लि. का सञ्चालक मनोज कुमार सिंह उर्फ अनुप कुमार सिंह र उनका सहयोगी नरबहादुर श्रेष्ठ उर्फ लड्डुबहादुर श्रेष्ठलाई झापाको धुलाबारीबाट पक्राउ गरिएको हो।
मनोज कुमार सिंहले आफू पूर्वराजपरिवारको भान्जा भएको दाबी गर्दै बेरोजगार युवायुवतीलाई युकेका म्यान्चेस्टरस्थित Midland Hotel Manchester City मा माग आएको भनी नक्कली रोजगार सम्झौता पत्र, वेलायती दूतावास काठमाडौँको जालसाजी पत्र, नक्कली भिसा र नक्कली हवाई टिकट देखाएर झुक्याउने गर्थे। आकर्षक तलबको लोभ देखाई लामो समयसम्म पीडितलाई भ्रममा राखेर विदेश नपठाई उनीहरू सम्पर्कविहीन हुने गरेका थिए।
पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी दुबै प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ।
मुख्य आरोपी मनोज कुमार सिंहविरुद्ध यसअघि पनि अमेरिकासहित युके पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौँमा ४, ललितपुरमा २ गरी ६ वटा ठगी मुद्दा दर्ता छन्। त्यस्तै, आफूलाई पूर्वराजपरिवारको सदस्य दाबी गर्दै धाकधम्की दिएको अभियोगमा प्रहरी वृत्त दरबारमार्गमा १ मुद्दा दर्ता छ।
पक्राउ परेका यी व्यक्तिहरूले अहिलेसम्म ४८ जनाबाट कुल ४,३९,५१,५५८ (चार करोड उनन्चालीस लाख एकाउन्न हजार पाँचसय अन्ठाउन्न) ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीले मनोजसहितको समूहबाट यस्तै तरिकाले ठगीमा परेका अन्य पीडितलाई आवश्यक कागजातसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय वा जिल्ला प्रहरी परिसर भद्रकालीमा उपस्थित भई उजुरी दिन अनुरोध गरेको छ।











प्रतिक्रिया