काठमाडौंका १५ महिनाका एक बालकको श्वासनलीमा अड्किएको बदाम पाटन अस्पतालका चिकित्सकहरूले सफलतापूर्वक निकाली बालकको ज्यान बचाउनुभयो । यसले प्रायः बेवास्ता गरिँदा उत्पन्न हुने जनस्वास्थ्य समस्यालाई सतहमा ल्याइदिएको छ ।
एकछिन्को असावधानीले बालकको जीवन जोखिममा परेको र चिकित्सकको सीप, अनुभव र टिम–समन्वयका कारण बालकको जीवन बाँचेको कुरालाई आज हामीले गम्भीर रूपमा आत्मसात् गर्नु जरुरी छ । यस घटनाले बालस्वास्थ्यमा देखिएको जोखिम, आम अभिभावकको अनभिज्ञता, समुदायको अपर्याप्त सुरक्षा संस्कृति र सरकारको नीतिगत कमजोरी सबैलाई एकैचोटि उजागर गरिदिएको छ ।
पाटन अस्पतालका ईएनटी विशेषज्ञ डा. लिजन महर्जनको नेतृत्वमा ती बालकमा गरिएको रिजिड ब्रोङ्कोस्कोपी कुनै साधारण प्रक्रिया होइन । बालबालिकामा यो विधि विशेष संवेदनशील मानिन्छ, किनकि सर्जन र एनेस्थेसिया टोली दुवैले एउटै श्वासनली प्रयोग गर्दै काम गर्नुपर्छ । सानो त्रुटिले पनि जीवनमाथि गम्भीर असर पार्न सक्छ । यति जटिल अवस्थामा समेत चिकित्सकहरूको ज्ञान, सीप, निर्णय क्षमता र टिम वर्कका कारण बालकको जीवन जोगियो । यो स्वयं चिकित्सक समुदायप्रति उच्च सम्मानको विषय हो । यो सफलताले देशभर स्वास्थ्यकर्मीहरुको क्षमता, लगनशीलता र प्रतिबद्धताप्रति खुलेर प्रशसा गर्नै पर्छ ।
नेपालमा बालबालिकाको स्वास्थ्य समस्या अझै पनि चुनौतीका रूपमा रहेको छ । विशेष गरी घरमै बच्चाले खानेकुरा वा अखाद्य वस्तु मुखमा हाल्दा हुने समस्या र समयमै यो समस्याको पहिचान हुन नसक्दा धेरै अभिभावक तनाव भोग्न बाध्य छन् । समयमै अस्पताल पु¥याइएका यस्ता बिरामीको स्वास्थ्य समस्या पहिचान गरी चिकित्सकले गरेको समयानुकूल उपचारले कैयौँ बालबालिकाको जीवन जोगिइरहेको भए पनि अझै जनचेतनाको स्तर भने कमजोर छ ।
राज्य, विद्यालय, समुदाय र परिवार सबैले बालबालिकामाथि सतर्कता बढाउनुपर्ने आवश्यकता यति बेला झनै बढेको छ । बच्चाले आफ्नो हातमा भएको वस्तु मुखमा हाल्ने गर्छ तर अभिभावकले बेवास्ता गर्दा समस्या पहिचान हुन नसकी जटिल बन्न सक्छ । यही कारण अभिभावक शिक्षालाई अनिवार्य जनस्वास्थ्य अभ्यासका रूपमा हेर्नुपर्ने बेला भइसकेको छ ।
यहाँ राज्यको भूमिकासमेत अत्यन्त महत्वपूर्ण छ । विद्यालय शिक्षा प्रणालीमा प्रारम्भिक स्वास्थ्य सचेतनालाई अनिवार्यरूपमा समावेश गर्ने काम अझै पूर्णरूपमा हुन सकेको छैन । बालबालिकाको सुरक्षा, जोखिम चिन्ने सीप, स्वास्थ्य आपतकालीन स्थितिमा लिनुपर्ने सामान्य व्यवहार तथा कहिले अस्पताल पुग्ने भन्ने आधारभूत ज्ञान विद्यालय तहबाटै सिकाइदिए अभिभावक र समुदाय दुवै सशक्त हुन्छन् । घरमै बच्चाको सुरक्षा कसरी गर्ने, खेलौना वा खानेकुराले कति जोखिम ल्याउन सक्छ, समस्या देखिएमा के गर्नु उपयुक्त हुन्छ आदि कुरा बुझाउने कार्यक्रमलाई जति विस्तार गरिन्छ, त्यति नै यस्ता घटनामा कमी आउने हुन्छ ।
चिकित्सकहरूले धेरै बालबालिकालाई सुरक्षित जीवन दिएका छन् । तर उनीहरूको सीप र निष्ठाले मात्रै पर्याप्त हुँदैन, अभिभावक, समुदाय र राज्य तीनै तहले जिम्मेवारी काँधमा उठाए मात्र जोखिम समस्या न्यूनीकरण गर्न सकिन्छ । अभिभावकले सावधानी अपनाए, विद्यालयले शिक्षा दियो, समुदायले साथ दियो र राज्यले नीति कार्यान्वयनमा गम्भीरता देखायो भने हरेक बालबालिका सुरक्षित भविष्यतर्फ अघि बढ्न सक्छन् । बालबालिकाको जीवन जोगाउने काम सर्वप्रथम हाम्रै घर, विद्यालय र समाजबाट शुरु हुन्छ । सबै मिलेर यस जिम्मेवारीलाई अझ मजबुत बनाऔँ ।











प्रतिक्रिया