अभियानकै बीचमा यस्ता शब्द बोल्नु सबै महिलाको अपमान हो, यस्तो नेतृत्व अब देशलाई चाहिँदैन: अष्टलक्ष्मी शाक्य


काठमाडौँ।

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति प्रयोग गरेको शब्दले समग्र महिलाको अपमान भएको आरोप लगाएकी छन्।

अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले ओलीको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाइन्। उनले भनिन्, “धामी, झाँक्री भनेको के हो? यस्तो अपमानजनक शब्द प्रयोग गर्न पाइन्छ? सामान्य व्यक्तिलाई पनि यस्ता शब्द प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिलाई त झनै हुँदैन।”

हालै एक मिडियासँगको कुराकानीमा अध्यक्ष ओलीले भण्डारीलाई लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ–ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भन्ने टिप्पणी गरेका थिए। शाक्यका अनुसार यस्तो अभिव्यक्ति नेतृत्वको हैसियतमा असुहाउँदो मात्र होइन, महिलाप्रति गलत दृष्टिकोणको द्योतक पनि हो।

उनले थपिन्, “नेतृत्वमा बसेका मानिसले यस्तो बोल्नु हुँदैन। तर केपी कमरेडले गर्नुहुन्छ, किनकि उहाँको सोचै छैन। महिलाप्रति हेर्ने दृष्टिकोण नै गलत छ।”

महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेको बेला यस्तो शब्द प्रयोग गर्नु झनै आपत्तिजनक रहेको शाक्यको भनाइ छ। उनले यस्तो नेतृत्व देशलाई आवश्यक नरहेको बताइन्।

“अभियानकै बीचमा यस्ता शब्द बोल्नु सबै महिलाको अपमान हो। यसको विरुद्धमा सशक्त आवाज उठाउनुपर्छ। यस्तो नेतृत्व अब आवश्यक छैन,” शाक्यले भनिन् ।