पाठक पत्र: एकातिर बेरोजगारी र मन्दी, अर्कोतिर घरधनीको मनलाग्दी भाडा


विभिन्न संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल, घरलगायतमा काम गर्ने अधिकांशले गुनासो गर्ने गरेका छन्, ‘काम त गरिरहेका छौं, तलब नपाएकोचाहिँ वर्षौं हुन लाग्यो ।’ मासिक तीनदेखि बढीमा १० हजार रुपियाँ तलबमा काम गरेका उनीहरुले त्यही तलब पनि नपाएको तीन महिनादेखि एक वर्ष बितिसक्यो ।

बिहानैदेखि बेलुकासम्म काम गर्नुपर्छ तर मन्दी भयो भन्दै साहुले तलब नदिएको उनीहरुको दुखेसो छ । यस्तै, व्यापारी तथा व्यवसायीहरु पनि व्यापार नै नभएको गुनासो गर्छन् । व्यापार हुने आशामा बिहान ६ बजेदेखि राति १० बजेसम्म पसल खोले पनि एउटै ग्राहक नपाउने उनीहरुको भनाइ छ ।

व्यापार व्यवसाय त ठप्प छँदै छ, सँगै आपतविपत पर्दा काम लाग्ने आशामा सहकारी, लघुवित्त, फाइनान्समा राखेको पैसा पनि डुबेको छ । त्यति मात्र होइन, पछिल्लो समय त ईसेवामा भएको पैसा पनि एकाएक गायब भइरहेको कतिपय व्यवसायी बताउँछन् । बैंकमा पनि राखेको भन्दा थोरै रकम मात्र देखाउने उनीहरुको भनाइ छ ।

‘तीन महिनाअघि मेरो खातामा डेढ लाख रुपियाँ थियो, केही दिनअघि पैसा झिक्न गएँ । १९ हजार रुपियाँ कम भएछ, कर्मचारीलाई सोध्दा त्यति नै बचत गर्नुभएको थियो भन्दै उल्टै ममाथि जाइलागे’, बिजुलीबजारका एक व्यापारीले भने । त्यसो त बैंक पनि डुब्ने अवस्थामा पुगिसक्यो । किनकि सहकारीजसरी बैंकको पनि लगानी तीन क्षेत्रमा हो– घरजग्गा, गाडी र शेयर । सहकारीले आँखा चिम्लेर लगानी गरेका थिए । शुरुमा सहकारीले कमाएको देखेर बैंकले पनि यही क्षेत्रमा भएभरको कर्जा लगानी गरे । अहिले त सहकारी भाग्नुप¥यो, बैंक संकटमा परेको छ । घरजग्गा, गाडी र शेयर कारोबार विगत पाँच वर्षदेखि डामाडोल छ ।

पाँच वर्षअघि तीन करोड भनिने घरजग्गा अहिले लाखौंमा बेचबिखन नभइरहेको अवस्था छ । गाडी र शेयर पनि उस्तै छ । चार वर्षअघि एक करोड भनिने गाडी अहिले लाखौंमा बिक्री हुँदैन त ३२ सयको शेयर मूल्य घटेर २६ सयमा झरिसक्यो । तैपनि किन्ने कोही छैनन् । यी वस्तुको मूल्य अझै घट्ने विज्ञहरुको अनुमान छ ।

घरजग्गा, गाडी र शेयरको मूल्य दलाल, बिचौलिया, भूमाफियाहरुले कृत्रिमरुपमा बढाएका थिए । पाँच दशकअघि पाँच हजार रोपनीमा नबिक्ने जमिनलाई टुक्राटुक्रा पारेर दलालहरुले आनाकै २५ लाखदेखि करोडौं पु¥याए । एक रोपनीमा १६ आना हुन्छ । गाडी नेपालमा बन्दैन । छिमेक भारत र चीनबाट आयात गरिन्छ । यहाँका अटो शोरुमहरुले छिमेकबाट एकदेखि बढीमा १० लाख रुपियाँमा सवारीसाधन किनेर ल्याए । अनि सर्वसाधारणलाई चाहिँ एक लाखको माल २० लाखमा बेचे ।

शेयर बैंक, वित्तीय संस्था तथा जलविद्युत् कम्पनीहरुले प्रतिकित्ता एक सय रुपियाँमा निष्कासन गरेका हुन् । दलालहरुले एक सयको माललाई मूल्य बढाएर ३२ सय पु¥याए । सर्वसाधारणले नाफा हुन्छ भनेर किने । अहिले दलालहरु उम्किए, सोझासाझा जनता फसे । सँगै यही क्षेत्रमा लगानी गर्दा सहकारी, लघुवित्त, फाइनान्स डुब्यो, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ ।
सहकारी, लघुवित्त, फाइनान्स डुब्दा करोडौं बचतकर्ता डुबेका छन् । एउटै बचतकर्ताको एकदेखि १२ करोड रुपियाँसम्म सहकारीमा डुबेको छ । सहकारीबाट ६३ लाखले ऋण लिएका थिए । लघुवित्त, फाइनान्सबाट २७ लाख र बैंकबाट २२ लाखले कर्जा लिएको पाइन्छ । त्यसै गरी, व्यक्तिबाट मिटरब्याजमा ऋण लिने पनि लाखौं छन् ।

यी सबै ऋणीले धितोको रुपमा घरजग्गा, गाडी, शेयर र सुन राखेका छन् । हिजो बैंक, वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष, कर्मचारीहरुले घुस खाएर कर्जा दिए । धितोको मूल्यांकनका आधारमा ८० प्रतिशतसम्म ऋण दिए । तीन करोडको धितो राखेर साढे दुई करोडसम्म ऋण दिएको पाइन्छ । ऋण दिएबापत सञ्चालक, अध्यक्षले लाखौं रकम घुस खाए ।

त्यस्तै, सेवाशुल्क तीन प्रतिशत, ब्याज १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । आम्दानी भएसम्म त ऋणीले सावाँब्याज तिरे । तर सबै क्षेत्रमा आएको मन्दीले मानिसहरुको आम्दानी घट्यो । व्यापार व्यवसाय नै नचलेपछि कसरी ऋण तिर्नु ? हो, त्यस्तो भयो । कमाइन्छ र तिरिन्छ भनेर ऋण लिए तर मन्दीले सबै चकनाचुर बनायो । अनि कर्जाको सावाँब्याज तिर्न नसकेपछि बैंक, वित्तीय संस्था होस् या व्यक्ति ऋणीमाथि जाइलागे । तीन किस्ता नतिर्नेबित्तिकै बैंकले कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइहाल्ने, धितो लिलाम गरिहाल्ने । व्यक्तिले त झन् पहिल्यै ऋणीको धितो आफ्नो नाममा पास गरेका हुन् । अनि ऋण तिर्न दिइएको म्याद ३ देखि ६ महिनाभित्र चुक्ता नगर्नेबित्तिकै त्यो धितो आफ्नो बनाइहाल्ने ।

यसरी धेरैले आफ्नो धितो गुमाए । एक करोड ऋण लिएर पाँच करोडको धितो गुमाउने पनि छन् यहाँ । त्यो सहन नसकेपछि कतिपयले प्राणसमेत त्यागेका छन् । आफ्नो वंश सिध्याएका छन् । धितो लिलाम गरेपछि बैंक, वित्तीय संस्था होस् या व्यक्तिको सोचाइ के थियो भन्दा दोब्बर मूल्यमा बेच्छौं । तर यिनीहरुको सपना पनि चकनाचुर बनेको छ । किनकि अहिले बैंक, वित्तीय संस्थासँग धितो त चाङ छ । यद्यपि, किन्नेचाँहि कोही छैन । नाफा खान त परको कुरा हो । पहिलेको मूल्यभन्दा आधामा दिँदासमेत नबिकेको अवस्था छ । एकातिर ऋण उठ्दैन, अर्कोतिर धितो बिक्दैन । यसले बैंक तनावमा परेको छ ।

पैसा हुनेहरुले पाँचदेखि ६७ वटासम्म घर बनाएको पाइन्छ, त्यो पनि दुईदेखि १९ तलेसम्म । त्यसरी खडा गरिएको घर सबै भाडामा लगाइएको छ । एउटा कोठाको ठाउँअनुसार पाँच हजारदेखि २० हजार, एक फ्ल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि २० लाखसम्म मासिकरुपमा भाडा असुलिन्छ । खाली सटर त २० देखि ६० लाखमा किनबेच गरिन्छ ।

घरधनीहरु बत्ती, पानी, फोहोर, इन्टरनेटको मनलाग्दी पैसा उठाउँछन् भने घरको कम्पाउन्डभित्र सवारीसाधन पार्किङ गरेको वा राखेको पनि महिनाको दुईदेखि पाँच हजारसम्म असुल्छन् । अहिले बजारमा व्यापक गुनासो सुनिन्छ कि यस्तो मन्दी र बेरोजगारीका बेलासमेत घरधनीहरुले भाडा बढाए ।

कोठाको दुईदेखि पाँच हजार र सटरको पाँचदेखि २० हजारसम्म भाडा बढाएको बताइन्छ । यसले सर्वसाधारणदेखि व्यापारीसम्म तनावमा परेका छन् । एकातिर रोजगारी र व्यापार व्यवसाय भएको छैन, अर्कोतिर भाडा ह्वात्तै बढेको छ । त्यसैले, धेरैले गाउँ फर्किने वा रोजगारीका निम्ति विदेश जाने सोच बनाएका छन् ।

सबै क्षेत्रमा गरिएको लगानी डुबेको छ । हरेक क्षेत्रमा मन्दी छ । व्यापक बेरोजगारी छ । अनि घरधनीहरुचाहिँ राज्यलाई घरबहाल कर नतिर्ने, आफूले असुल्ने भाडाचाहिँ बढाउने । सरकारले अब घरभाडा निर्धारण गरोस् । यसले जनता र व्यापारीलाई मात्र राहत नमिली राज्यको ढुकुटीमा समेत राजस्वको ओइरो लाग्नेछ ।
– रुसा थापा, भक्तपुर ।