बक्स अफिसमा परानले मार्‍यो बाजी

गुम्यो जारीको साख,हर्ष सर्वाधिक कमजोर


पछिल्लापटक रिलिजमा आएका फिल्ममा परानले सबैभन्दा बढी कमाइ गरेको छ।
गत कात्तिक १४ गते रिलिजमा आएको अभिनेता नीर शाह प्रमुख भूमिकामा रहेको परानले गत शनिबार रातीसम्म १६ करोड ९७ लाख ९३ हजार ३ सय ४५ रुपिया“ कमाइ गरेको छ। यससँगै यो फिल्म यस वर्ष रिलिजमा आएका फिल्ममध्ये सर्वाधिक धेरै कमाइ गरेको फिल्म सावित भएको छ। चलचित्र विकास बोर्डद्वारा सार्वजनिक सिनेमा बक्स अफिस रिपोर्टअनुसार परानको यस अवधिमा कुल ५ लाख १८ हजार ३ सय ९ टिकट बिक्री भएको छ। परानले बक्स अफिस रिपोर्टमा सुपरहिट भनिएको फिल्म जेरी अन टपलाई समेत उछिन्न सफल भएको छ।


गत असोज ३१ गते रिलिजमा आएको जेरी अन टपले भने शनिबारसम्म कुल १२ करोड २६ लाख ६ हजार २ सय ४० ग्रस कलेक्सन गरेको छ। रिलिजको ५१ औ“ दिन मनाएको अनमोल केसीद्वारा अभिनित बिग बजेटको जेरी अन टपले कुल ३ लाख ९१ हजार ९ सय ९२ जना दर्शक पाएको छ। रिलिज भएको वर्षकै सर्वाधिक कमाइ गर्न सफल फिल्म जारीको सिक्वेल फिल्म जारी २ भने अघिल्लो बक्स रेकर्डको तुलनामा यसपटक अत्यन्तै कमजोर सावित भयो। कात्तिक २१ गते रिलिजमा आएको फिल्मले हालसम्म कुल ६ करोड २३ लाख ६९ हजार २ सय रुपिया“ मात्र ग्रस कलेक्सन गरेको बक्स अफिस रेकर्डले देखाएको छ।

यो अवधिमा २ लाख ७ हजार ७ सय १४ जनाले यो फिल्म हेरेका छन्। कात्तिक २१ गते नै रिलिजमा आएको अर्को फिल्म मनबिनाको धनले गत शनिबारसम्म ३ करोड ७९ लाख २ हजार ८ सय ७९ रुपिया“ ग्रस कलेक्सन गरेको छ। बाल गायक अशोक दर्जीको गायन यात्रा, संघर्ष र सफलताको कथामा बनेको मनबिनाको धन १ लाख ४५ हजार ५१ जनाले हेरेका छन्।
सबैभन्दा पछि गत मंसिर १२ गते रिलिजमा आएको खगेन्द्र लामिछाने र वर्षा राउतद्वारा अभिनित फिल्म हर्ष बक्स अफिसमा सबैभन्दा कमजोर देखिएको छ। रिलिजको सुरुदेखि नै व्यापारमा कमजोर देखिएको हर्षले हालसम्म जम्मा २८ लाख २ हजार ३ सय ४६ रुपिया“ ग्रस कलेक्सन गरेको छ। यो फिल्म जम्मा ८ हजार ४ सय ३६ जनाले हेरेका छन्।