पीआरको रमाइलो तिमी छौ र त


निर्माता निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्मित फिल्म पीआरमा समावेश तिमी छौ र त बोलको गीत सार्वजनिक गरिएको छ।

फिल्मका अभिनेता आरए सुरज पौडेलको जन्मदिनको अवसर पारेर हालै अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा आयोजित एक कार्यत्रमका बीच उक्त गीत रिलिज गरिएको हो।

गीतमा अभिनेता आरए सुरज पौडेल र अभिनेत्री विनिता कार्कीको रमाइलो नृत्य छ। मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर रहेको गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। गीत सलोमा युटुब च्यानलमा अपलोड गरिएको छ।

सलोन सलिना फिल्म्स्को ब्यानरमा रञ्जित साह र सन्तोष तिवारीद्वारा प्रस्तुत तथा लक्ष्मण सापकोटा र प्रदीप दाहालद्वारा निर्मित फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कु“वर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी. नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा छन्।

‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ’ निर्देशक बस्नेतको भनाइ छ। उनका अनुसार फिल्म प्रेम, संघर्ष र आप्रवासनस“ग जोडिएको भावनात्मक कथामा आधारित छ। आगामी २६ गते रिलिजमा आउने फिल्ममा गणेश बुढाथोकीको लेखन, सौरभ सायमी र सौरभ लामाको छायांकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ।