सरकारले आफ्ना माग पूरा नगरे जनविद्रोह हुने संरक्षक प्रसाईंको चेतावनी


काठमाडौँ।

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिएका छन् ।

सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उनले आफूहरुले राखेका माग पूरा नभए जनविद्रोह हुने र त्यो कसैले नसोचेको हुने चेतावनी दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरु स्पष्ट रुपमा राखेको समेत उनले उल्लेख गरेका छन्। आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको उनकाे भनाइ छ।

प्रधानमन्त्री कार्कीले आफूहरुका मागकाे बारेमा अध्ययन गरेर आगामी पुस २ गते निर्णय दिने बताएको पनि प्रसाईले जानकारी दिए। २०६२/०६३ को जन-आन्दोलनको म्याण्डेट भनेको संघीयता र धर्मनिरपेक्षता ल्याउने नरहेको बताउदै उनले यसकाे बारे जनमतसंग्रह गर्नुपर्ने माग राखेको बताए।

किराँत, बौद्धसहितको हिन्दु अधिराज्य-राजसंस्थाका सन्दर्भमा र अहिलेको व्यवस्थाका सम्बन्धमा जनमत संग्रह गर्न समेत संरक्षक प्रसाईलेआग्रह गरेका छन् ।