कुलेश्वरबाट स्रोत नखुलेको साढे ५७ लाख रुपियाँसहित एक जना पक्राउ


काठमाडौँ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्नेपाखा टोलमा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बरामद रकम ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ छ।

हुन्डी मार्फत रकम कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी वृत्त कालिमाटीको टोलीले काभ्रेपलान्चोक–नमोबुद्ध नगरपालिका–९ घर भएका र हाल कुलेश्वर बस्दै आएका ३४ वर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

तिनको साथ र बसोबास गर्ने कोठामा गरिएको चेकजाँचमा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।