पुस्तक चर्चा: कर्णालीकी छोरी अमृताको संघर्ष, सफलता र समर्पण

1.22k
Shares

अमृता कठायत बस्नेत कर्णालीकी संघर्षशील नारीमध्ये एक हुनुहुन्छ । आफ्नो संघर्ष, सेवा र समर्पणको जीवन गाथालाई समेटेर उहाँले लेख्नुभएको ‘कर्णालीकी छोरी’ पुस्तक हालै प्रकाशित भएको छ । उहाँको जीवनको वृत्तान्त मात्र नभएर यस पुस्तकलाई समग्र कर्णालीको कथा मान्न सकिन्छ ।
पुस्तक ४६ शीर्षकमा विभक्त छ । आफ्नो व्यक्तिगत जीवनी मात्र नभएर आफू जन्मेको जुम्लाको भौगोलिक स्थिति, प्राकृतिक सम्पदा, खस सभ्यता, हस्तकला, मठमन्दिर, जातजाति, संस्कृति, भेषभूषा आदिको समेत प्रसंगअनुसार उल्लेख गरिएकाले यो पुस्तक सबै किसिमका पाठकका लागि खुराक बन्न सक्ने देखिन्छ । पुस्तक पढ्दै जाँदा पाठकलाई कर्णालीको जुम्ला पुगेको आभास मिल्छ ।

वि.सं. २०११ मा जन्मिएकी अमृताले आफू जन्मनुभन्दा अगाडिका कुरासमेत पस्कनुभएकाले यो पुस्तकलाई ऐतिहासिक दस्तावेजका रुपमा समेत लिन सकिन्छ । राणाशासनको अन्त्य भई प्रजातन्त्रको उदय भएको सूचना दिन जुम्लामा हवाईजहाजबाट पर्चा छरिएको रहेछ । पहिलोपटक जुम्लाको आकाशमा देखिएको हवाईजहाजलाई त्यस बेला स्थानीयवासीले अनौठो मानेर हेरेको कुरा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

बहुविवाह गर्ने प्रचलनलाई अमृताका पिताजीले पनि कायम राख्नुभएको रहेछ । उहाँका तीनवटी श्रीमतीका १५ छोराछोरी भएको कुरा अमृताले खुलेर लेख्नुभएको छ । यति मात्र होइन, उहाँका पिताजीका धेरै दाजुभाइ रहेछन् । पुस्तकमा उल्लेख भएअनुसार पुरानो घरमा स–साना धेरै कोठा थिए । प्रत्येक परिवारलाई एक–एकवटा कोठा हुने गरी मिलाइएको र ती कोठामा बिताएका क्षणहरु अहिले पनि स्मृतिमा रहेको अमृताले उल्लेख गर्नुभएको छ ।

घरमा एकजना काम सघाउने केटा थियो रे ! उसलाई सबैले होलिकप्टर भन्दा रहेछन् । हेलिकाप्टर र अमृताका काकाले बिहान ४ बजेतिरै कोठा–कोठामा गई पानी छ्यापेर सबैलाई उठाउने गरेको प्रसंग बडो रमाइलो छ । तर ठूलो तावामा एकैपटक चारवटा रोटी बनाउने गरेको र ७० जनाको एउटै आँगन भएको कुराले संयुक्त परिवार सकसपूर्ण हुने रहेछ भन्ने देखिन्छ ।

घरमा एकजना काम सघाउने केटा थियो रे ! उसलाई सबैले होलिकप्टर भन्दा रहेछन् । हेलिकाप्टर र अमृताका काकाले बिहान ४ बजेतिरै कोठा–कोठामा गई पानी छ्यापेर सबैलाई उठाउने गरेको प्रसंग बडो रमाइलो छ । तर ठूलो तावामा एकैपटक चारवटा रोटी बनाउने गरेको र ७० जनाको एउटै आँगन भएको कुराले संयुक्त परिवार सकसपूर्ण हुने रहेछ भन्ने देखिन्छ ।

छोरीलाई पढाउनुहुँदैन भन्ने समयमा लेखिका अमृताका दुई दिदीबहिनीले भने समाजलाई जितेर भए पनि पढ्ने साहस गर्नुभएको रहेछ । छोरी पढाएर बिगार्ने भयो भनेर पिताजीले छिमेकीहरुको गाली खानुपरेको कुरा अमृताले उल्लेख गर्नुभएको छ ।

त्यस बेला पाँच कक्षामा मात्र ए, बी, सी पढिने भएकाले अंग्रेजीमा कमजोर हुँदा जसोतसो एसएलसी गरे पनि कलेजमा भने अमृतालाई धेरै गाह्रो परेको रहेछ । यसैले पनि जुम्लामा अंग्रेजी बोर्डिङ स्कुल खोल्नुपरेको यथार्थ उहाँले पस्कनुभएको छ ।

त्यस्तै प्रौढ कक्षा सञ्चालनका क्रममा आफूलाई स्वागत भाषण गर्न लगाउँदा डरले अन्त्यमा ‘आजको सभा यहीँ विसर्जन भयो’ भन्दा अरुको हाँसोले लाज लागेको प्रसंग रोचक छ । बालमन्दिरको शिक्षिका हुँदा काठमाडौं गएको समयमा वर्षभरिको तलब एकैपटक थापेको, मासिक तलब १०० रुपियाँ हुँदा तोलाको २०० रुपियाँको सुन १५–१६ तोला जोडेको प्रसंगले त्यस बेलाको आम्दानी र बजारभाउ दर्शाएको छ ।

काठमाडौंको न्यूरोडमा इलामका इन्द्रकुमार बस्नेतसँग भएको पहिलो भेट र त्यसपछि लामो अवधिसम्म चलेको चिठी आदानप्रदान अनि कस्सिँदै गएको सम्बन्ध उत्तिकै पठनीय छ । दुवैतर्फको सहमति र व्यवस्थापनमा २०३३ मा गुह्येश्वरी मन्दिरमा विवाह भएको तर दुवैका पिताजी भने आउन नसकेको कुराले अलि खल्लो महसुस गराउँछ ।

कर्णालीकी छोरी पूर्व मेचीकी बुहारी हुन पुग्दाको रोमाञ्च र सकस दुवै उत्तिकै छन् । नयाँ ठाउँ, नयाँ बुहारी, नयाँ परिवेशले एक किसिमको रोमाञ्च पैदा गरेको छ भने नयाँ संस्कारमा घुलमिल हुन धेरै गाह्रो परेको उल्लेख छ । ६ दिनको सुत्केरी अवस्थामा बच्चालाई छोडेर आईएको अंग्रेजी विषयको अन्तिम मौका परीक्षा दिन जाँदाको पीडा एकातिर छ भने अर्कोतिर त्यसै पनि अंग्रेजी भनेपछि हाउगुजी हुने समयमा पढ्दै नपढी कसरी जाँच दिनु ? आउने जति उत्तर लेखेर अन्त्यमा परीक्षकलाई सम्बोधन गरी आफ्नो व्यथा नेपालीमै लेखेर परीक्षा सकेको, आखिर उत्तीर्ण भएको कुरा बडो मार्मिक छ ।

एकपटक श्रीमान्सहित छोराछोरी लिएर जुम्लाबाट काठमाडौं आउनुपर्ने भएछ । रजश्वला भएकाले ३ दिन भएपछि मात्रै जाऔँ भनेर अमृताले अनुरोध गर्दा पनि श्रीमान् मान्नुभएनछ र सबैजना प्लेन चढ्नुभएछ । अमृता लेख्नुहुन्छ, ‘रजश्वला भएपछि ३ दिनसम्म चन्दननाथ मन्दिरको वरिपरि जानुहुँदैन भन्ने विश्वास थियो तर मन्दिरमाथिबाटै प्लेन उड्यो । दुर्भाग्यवश मेघौलीको खेतमा प्लेन दुर्घटनामा प¥यो ।’ भाग्यवश बचेको यो क्षण अविस्मरणीय रहेको उहाँले व्यक्त गर्नुभएको छ ।
पुस्तकमा यस्तै उतार–चढाव, पीडा, खुशीका प्रसंगहरु धेरै छन् । २०४० मा चण्डोलमा १३ हजार रुपियाँमा आधा रोपनी जग्गा किनेर घर बनाएको, गाई पालेको, सागसब्जी उत्पादन गरेको कुराले किसानी जीवनप्रति आकर्षण भएको इंगित गर्दछ ।

जुम्लाको हिमाली जीवनदेखि झापाको मधेसी जीवन अनि काठमाडौंको शहरी जीवनमा आएका अनेक चुनौती र अवसरहरु पुस्तकमा पढ्न पाइन्छ । एक गैरसरकारी संस्थामा जागिर खाँदै गरेको बेला राजीनामा दिएर निर्वाचनमा लडेको कुराले साहस देखाएको छ । यस निर्वाचनमा भएको असफलताले जीवनमा ठूलो पाठ पढाएको अमृता लेख्नुहुन्छ । सहकारी समुदाय विकास केन्द्रमा काम गर्दाका गर्विला दिनहरु उत्तिकै उल्लेखनीय छन् ।

सन् १९९५ मा बेइजिङमा संयुक्त राष्ट्रसंघको आयोजनामा महिलासम्बन्धी चौथो विश्व सम्मेलनमा जान पाएकोले त्यहाँबाट धेरै कुरा सिक्न र अनुभव गर्न पाएका प्रसंगहरु त्यत्तिकै गहकिला छन् ।

मृगौलाको समस्याले थला परी विभिन्न अस्पतालमा उपचार गराउँदाका कुरा, बैङ्ककको एक अस्पतालमा रिपोर्ट हेरेर डाक्टरले ‘सरी तपाईंलाई केही पनि गर्न सक्दिन’ भनेको कुरा, दिल्लीको अस्पतालमा अपरेसन गरी पेटबाट झन्डै दुई बाल्टिन पानी निकालेको कुराले पाठकलाई समेत झसङ्ग बनाउन सक्छ ।
त्यस्तै दिल्लीकै अस्पतालको बेडमा अमृताले देखेको सपना पठनीय छ । आफ्नो मृत्यु भएर माथि उड्दै गएको, त्यहाँ बितेका आफ्ना अग्रजहरु देखेको, तिम्रो आयु सकिएको छैन, यहाँ नआऊ गइहाल भन्ने आकाशवाणी भएको सपनाले पठाकलाई समेत ऊर्जा थप्ने देखिन्छ । यो सपना सार्थक भएर अमृता अहिले पनि हामीमाझ हुनु हामी पाठकको समेत भाग्य मान्न सकिन्छ ।

जुम्लामा पढेर जुम्लाबाटै २०२८ सालमा एसएलसी गर्ने पहिलो जुम्ली छात्रा हुनुहुन्छ अमृता । जुम्लामा पहिलो बोर्डिङ स्कुल स्थापना, पहिलो वृद्धाश्रम भवन निर्माण, जेलमा पुस्तक वितरण एवं पुस्तकालय व्यवस्थापनजस्ता महत्वपूर्ण कार्य गर्नुभएकी अमृताले पुस्तकको अन्त्यमा सन्तानप्रति अभिभावकको भूमिका, विद्यार्थीप्रति शिक्षकको भूमिका दर्शाउनुभएको छ भने केही महत्वपूर्ण सुझावहरुसमेत पस्कनुभएको छ ।

आध्यात्मिक जागरणले मानिसलाई उज्यालोतिर धकेल्छ भन्नेमा उहाँले विश्वास गर्नुभएको छ । उहाँले पुस्तकमा आफ्नै विभिन्न घटनालाई उदाहरणस्वरुप पेस गर्नुभएको छ । त्यस्तै सपना भविष्यको संकेत, आन्तरिक ज्ञान र अलौकिक सन्देशको वाहक बन्न सक्ने कुरा दर्शाउँदै आफूले देखेका सपना यथार्थमा परिणत भएका केही घटना पनि उहाँले प्रस्तुत गर्नुभएको छ । बिरामी भएर जीर्ण अवस्थामा पुगेको बेला एक केटाले आनी छोइङ डोल्माद्वारा लिखित ‘फूलको आँखामा’ पुस्तक पढ्नू भनी दिएको पुस्तकले आफूभित्र आशाको दियो बालिदिएको अमृताको भनाइ मार्मिक छ ।
अकालमा मृत्युवरण गरेका अतृप्त आत्माका कुरा त्यत्तिकै रहस्यमय छ । जुम्लाको टुँडिखेलमा सप्ताह ज्ञान महायज्ञ लगाउँदा त्यस्ता आत्मा आएको कुरा विश्वास नै गर्न गाह्रो पर्ने अत्यास लाग्दो छ ।

पुस्तक पढ्दै जाँदा कहिले दुःखका आँसु झर्छन् भने कहिले हर्षका आँसु । पुस्तकमा उल्लिखित प्रसंगहरुले पाठकलाई प्रेरणा, साहस र ऊर्जा प्रदान गर्ने देखिन्छ । अर्जुन ढुंगानाद्वारा सम्पादित एवं लेखन कुञ्ज, घोष्ट राइटिङ नेपाल प्रा.लि.द्वारा प्रकाशित पुस्तकको मूल्य रु. ४५०।– रहेको छ । पुस्तकको अन्त्यमा ४ दर्जन जति रंगीन तस्वीरले पुस्तकको ओज झनै बढाएको देखिन्छ ।