कर्मचारीवर्गमा सुधार अत्यावश्यक


जेनजी आन्दोलनपछि बनेको सरकारले सुशासनलाई संस्थागत गर्नुपर्ने भए पनि त्यसका लागि ठोस पहल गर्न सकेको छैन । यद्यपि भ्रष्टाचार नै हुने गरी ठूला–ठूला काण्ड भने घटाएको छैन । वर्तमान सरकारको मुख्य काम २१ फागुनमा निर्वाचन गराउने भएकाले सरकार मुख्यरुपमा निर्वाचनको माहौल बनाउनमा नै व्यस्त देखिन्छ । यस्तो अवस्थामा आम जनतामा व्याप्त निराशा चिर्न र जनतालाई दिनुपर्ने सेवा प्रभावकारी बनाउन कर्मचारी संयन्त्र बढी जिम्मेवार हुनु अत्यावश्यक छ ।

वास्तमा जनताको अपेक्षा कर्मचारीतन्त्रप्रति खासै ठूलो छैन । जनताको व्यक्तिगतभन्दा पनि राष्ट्रिय खालको अपेक्षा रहेको छ । विकास निर्माण हुनुप¥यो, सेवा प्रवाह राम्ररी हुनुप¥यो । जनताको मुख्य अपेक्षा नै यही हो । कुनै पनि काम सहज र सुलभ किसिमले हुनुप¥यो । कुनै विकृति हुन भएन । जनताको काम फटाफट हुनुप¥यो । कर्मचारीको व्यवहार परिवर्तन हुनुप¥यो भन्ने जनताको चाहना छ । जनताको करबाट तलब खाने कर्मचारीले शासक होइन, हामी त जनताका सेवक हौँ भन्ने किसिमको अनुभूति कर्मचारीले गर्नुपर्छ र सोही अनुसार जनताको काममा समर्पित भएर लाग्नुपर्छ ।

सरकारी कर्मचारीसँग जागिर दिनुस्, नियुक्ति दिनुस् र मेरो व्यक्तिगत काम गरिदिनुस् भनेर जनता आउँदैनन् । त्यस्तो व्यक्तिगत काम लिएर आउने निकै कम छन् । जनता कर्मचारीसँग मेरो गाउँको स्कूललाई सहयोग गरिदिनुस्, अस्पताललाई राम्रो बनाइदिनुस्, सडक बनाइदिनुस्, खानेपानी पु¥याइदिनुस्, गाउँमा बिजुली पु¥याइदिनुस् भनेर मात्रै जनता कर्मचारी भएको ठाउँमा आउने गर्छन् । शान्ति सुरक्षाको व्यवस्था गरिदिनुुस्, हामीले एकदमै निश्चिन्तरुपमा उद्योग व्यवसाय गरेर खान पाऊँ, त्यसअनुसारको वातावरण बनाइदिनुप¥यो भनेर जनता सरकारी कार्यालयमा आउने गरेका छन् । जनताको अपेक्षा त्यसअनुसारको छ भने कर्मचारीको सोच पुरातनवादी खालको छ । नतिजामा भन्दा प्रक्रियामा बढी ध्यान दिने, कामहरु अहिल्यै गर्नुभन्दा एक–दुई दिन थाती राखिदिने, जिम्मेवारी पन्छाइदिने, ढिलो गरिदिने प्रवृत्ति वर्षौं अघिदेखिको हो । जनताको काम राम्ररी नगरिदिने, हल्का किसिमले लिने प्रवृत्ति पनि हाबी छ, अहिलेको कर्मचारी प्रशासनमा । अबको जनअपेक्षाअनुसार कर्मचारी रुपान्तरण हुनुपर्छ । पहिलो काम रुपान्तरण नै हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकै क्रममा जेनजी विद्रोह हुन पुग्यो । गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने र जेनजी आन्दोलनले उठान गरेको सुशासनको एजेन्डालाई संस्थागत गर्नुपर्ने दायित्व स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रमाथि आएको छ । तर कर्मचारी संयन्त्र फेरि पनि पुरानै ढर्रामा चल्न थालिरहेको छ । त्यसैले अब उनीहरु आमूलरुपमा रुपान्तरण हुनै पर्छ । अब कर्मचारी डेडिकेटेड हुनुपर्छ । अझ निजामती कर्मचारीको हकमा तीनवटा चरित्रको विकास हुन सक्नुपर्छ अब म्ुख्यरुपमा । हालसम्म जे–जस्तो भए पनि अबका निजामती कर्मचारीमा चाहिने सबैभन्दा पहिलो गुण राष्ट्रप्रतिको समर्पणयुक्त भावनाले ओतप्रोत हुनुपर्छ । कर्मचारीले आफू जागिर खानको लागि मात्रै होइन, देश र जनताको सेवा गर्ने किसिमले निजामती सेवामा प्रवेश गरेको हो भन्ने सोच राख्नुपर्छ । निजामती कर्मचारीमा हुनुपर्ने दोस्रो अनिवार्य गुण उनीहरुले राष्ट्रियताप्रतिको सम्मान गर्ने बानीको विकास गर्न सक्नुपर्छ । र, तेस्रो उनीहरुमा जनताप्रतिको सेवाभाव हुनुपर्छ । कर्मचारीमा यति तीन गुणहरुको विकास हुन सकेमा उनीहरुले स्वतः देश र जनताप्रति संवेदनशील भएर काम गर्न सक्छन् ।