संस्कृतिको जगेर्नाका लागि नेवार सुन्दरीबीच यमरी प्रतियोगिता


नेवारी समुदायको संस्कृतिको पहिचान मानिने यमरी पुन्ही नेवार सुन्दरीहरूका बीच यस वर्ष पनि नयाँ पुस्ताको उत्साहसँग जोड्दै मनाइएको छ।
नेवारी परम्परालाई आधुनिक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यले मिस नेवा र लिटिल नेवाहरूले एकै ठाउँमा भेला भएर यमरी बनाई एक–अर्कालाई खुवाउँदै उत्सवको रौनक बढाए।

कार्यक्रम मिस नेवा र लिटिल नेवाको आयोजक संस्था डिल्लीबजारस्थित नेप्लिज फेसन होमको कार्यालयमै आयोजना गरिएको थियो। ‘हाम्रा चाडपर्व केवल खानापिनमा मात्र सीमित छैनन्। यसले जातीय पहिचान, पारिवारिक सम्बन्ध र सामुदायिक एकता सिकाउँछ। युवा पुस्ताले आफ्ना चाड आफैं अनुभव गर्नुपर्छ भन्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम गरिँदै आएको छ’ आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले भनिन्।

मानन्धरका अनुसार नेप्लिज फेसन होमले वर्षभरि विभिन्न नेवारी पर्वहरू मिस नेवा र लिटिल नेवाहरूस“गै मनाउ“दै आएको छ। ‘नेवारी संस्कृति नया“ पुस्तामाझ हस्तान्तरण र प्रवद्र्धन गर्न यो कार्यक्रम गरि“दै आएको हो’ उनले भनिन्।

यस वर्षको कार्यक्रमलाई विशेष बनाउन यमरी बनाउने प्रतिस्पर्धासमेत राखिएको थियो। प्रतिस्पर्धीहरूले परम्परागत आकारदेखि ट्रेन्डी मोडेलसम्मका यमरी बनाएर सांस्कृतिक रचनात्मकता देखाएका थिए।

कार्यक्रममा समाजसेवी हरिगोपाल प्रधान, दिलकुमार महर्जन र नीलम कपाली, मिस नेवा प्रलिशा शाक्य, सकिना महर्जन र कृषा महर्जन, मिस नेवा सोसियल वेलफेयर चिफ तिमिला महर्जनलगायत सहभागी थिए। सहभागीहरूले यस्ता कार्यक्रमले मिस नेवालाई केवल सौन्दर्य प्रतियोगिता मात्र नभई संस्कृति संरक्षणको सक्रिय अभियानका रूपमा स्थापित गरिरहेको बताए।