जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरणको अन्तिम भिडन्तमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई तीन रनले पराजित गर्दै सिजनको समापन जीतसँगै गरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर २० ओभर पूरा खेलेर ७ विकेट गुमाउँदै १२६ रनमै सिमित भयो।

सुरुआती २९ रनमै चार विकेट गुमाएर संकटमा परेको जनकपुरलाई संजय कृष्णमूर्तिको अर्धशतकले उकासे पनि जित टाढै रह्यो। ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रनको प्रभावशाली पारी खेलेका संजयलाई अन्य ब्याट्सम्यानले सघाउन सकेनन्। ओपनर माज सदाकतले १२ रन बनाउँदा आसिफ शेख र अनिल साह शून्यमै पभेलियन फर्किए। अन्तिम ओभरमा १४ रन चाहिएको जनकपुर लक्ष्य नजिकिए पनि पूरा गर्न असफल रह्यो।

कर्णालीका बलरमध्ये विलियम बोसिस्टो दुई विकेटसहित प्रभावशाली रहे भने मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटका क्षतिमा १२९ रन जोड्यो। ओपनर इमरान शेखले ३३ रनको योगदान दिए भने गुल्शन झाले १९ रन जोडे। कप्तान सोमपाल कामीले १८ रन, प्रियाङ्क पान्चालले १६ रन र बोसिस्टोले १५ रन बनाए।

जनकपुरका लागि बलिङतर्फ ललित राजवंशी र आदित्य महताले दुई–दुई विकेट लिए भने अनिल साह, माज सदाकत र संगिथ कुरेले एक–एक विकेट हात पारे।

पहिलो संस्करणको विजेता जनकपुर यस सिजन भने अंकतालिकाको पुछारमै रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।