काठमाडौँ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक (कार्यकारी प्रमुख) नियुक्ति प्रक्रिया आन्तरिक विवाद र कानुनी जटिलताका कारण रोकिएको छ। निगमका पूर्वकर्मचारी तथा हवाई–उड्डयन विज्ञ अच्युतराज (एआर) पहाडीले आफूलाई आवेदन दिन नदिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि प्रक्रिया अगाडि बढ्न नसकेको हो।
कात्तिक ८ गतेदेखि महाप्रवन्धक युवराज अधिकारीको कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन रहेको छ। पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरिएको महाप्रबन्धक छनोट समितिले कात्तिक २७ गते १५ दिने समयसीमा राखेर आवेदन मागेको थियो, जसमा १६ जनाले दरखास्त दिएका छन्। तर ती सबै आवेदन हाल पर्यटन मन्त्रालयमा सिलबन्दी अवस्थामा राखिएका छन्।
उमेरहदमा विवाद, सर्वोच्चको हस्तक्षेप
छनोट समितिले तोकेको “३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको” उमेरहद विवादमा मुख्य कारण बनेको छ। पूर्वकर्मचारी तथा हवाई–उड्डयन विज्ञ पहाडीले यो व्यवस्था वायुसेवा निगम ऐन २०१९ विपरीत रहेको दाबी गर्दै मंसिर ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
मंसिर ९ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै पक्षलाई १५ दिनभित्र कारण देखाऊ आदेश जारी गर्दै महाप्रबन्धक नियुक्ति प्रक्रिया रोकिएको छ। अन्तरिम आदेशमाथि सुनुवाइका लागि मंसिर १४ मा तोकिएको पेसी नआएपछि अब अर्को पेसी नभएसम्म प्रक्रिया अगाडि बढ्न नसक्ने भएको हो।
छनोट समितिका सदस्य कुलबहादुर लिम्बुले सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले कुनै पनि काम अगाडि बढाउन नमिल्ने बताएका छन्।
समितिको कार्यविधि ऐनविपरीत : पहाडीको दाबी
पहाडीले उमेरहद तोकिएको कार्यविधिले ‘विज्ञ’ व्यक्तिलाई रोक्ने उद्देश्य राखेको आरोप लगाएका छन्। उनका अनुसार—
• वायुसेवा निगम ऐन २०१९ ले उमेरहद तोकेको छैन,
• संरचनागत सुधारसम्बन्धी लिम्बु समिति (२०७५) ले पनि ४० वर्ष मुनिको उमेर सीमा मात्र सिफारिस गरेको थियो,
• तर अहिले ३०–६५ वर्ष उमेर दायरा राखेर विज्ञलाई रोक्ने कार्यविधि बनाइएको छ।
पहाडीले भने,
“योग्यता, अनुभव र दृष्टि भएको व्यक्तिलाई छान्नुपर्नेमा कार्यविधिले विज्ञलाई नै छेक्ने गरी बनाइयो। म आवेदन दिन योग्य हुँ, तर उमेरहदले रोकिनुपर्यो। यसको खारेजी चाहिन्छ।”
विगतका नियुक्तिमा फरक–फरक मानक
नेपाल एयरलाइन्सले विगतमा कार्यविधि आफू अनुकूल परिवर्तन गर्दै आएको पहाडीको आरोप छ।
• मदन खरेललाई ल्याउन ५५ वर्ष ननाघेको कार्यविधि बनाइएको,
• तर सुगतरत्न कंसाकारलाई नियुक्त गर्दा उमेरहद राखिएको थिएन।
त्यस्तै, एयरहोस्टेस भर्नामा पनि विभिन्न समय फरक–फरक उचाइ र उमेर मापदण्ड राखेको उदाहरण प्रस्तुत गर्दै पहाडीले “निगम सुधारका नाममा व्यावसायिक मानकीकरण कहिल्यै नभएको” टिप्पणी गरेका छन्।
भरिकै १६ आवेदन सिलबन्दी, प्रक्रिया ‘होल्ड’
समितिलाई प्राप्त १६ आवेदनमध्ये हवाई क्षेत्रका अनुभवी व्यक्तिदेखि प्राविधिक पृष्ठभूमिका नयाँ अनुहारसम्म परेका छन्। आवेदन दिनेहरूमा—
• टंकनिधि दाहाल (निगमका निर्देशक)
• योगराज शर्मा कँडेल (हवाई विज्ञ)
• डा. दीपकप्रकास बास्तोला (पूर्व उडान विभाग)
• भिमबहादुर चन्द
• चिरन्जीवि उपाध्याय (पूर्वकर्मचारी)
• सन्तुष्ट कुमार बस्नेत (TIA – अपरेसन म्यानेजर)
• रघुनाथ विडारी (पूर्व प्राधिकरण कर्मचारी)
• आशिष थापा
• इन्जिनियर अभिनव कार्की
• क्याप्टेन वेदप्रसाद उप्रेती (हवाई संग्रहालय)
लगायतका आवेदन परेका छन्।
छनोट समितिले शर्त पूरा गर्नेहरूलाई सर्टलिस्ट, ‘वर्क-प्लान’ प्रेजेन्टेसन र अन्तरवार्ता लिएर उत्कृष्ट ३ जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले एक जनालाई ४ वर्षका लागि कार्यकारी महाप्रबन्धक नियुक्त गर्ने व्यवस्था छ।
सरकार : “ढिलाइ हुँदैन, प्रक्रिया त्यहींबाट अघि बढ्छ”
पर्यटन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार नयाँ पर्यटन सचिव आए पनि प्रक्रिया जहाँ पुगेको छ, त्यहीँबाट निरन्तर जारी हुने छ।
“नियुक्ति ढिलो हुँदैन, सर्वोच्चका निर्णयअनुसार छिटो टुंग्याइनेछ,” उनले भने।
को हुन् अच्युतराज (एआर) पहाडी ?
अच्युतराज पहाडी नेपाल वायुसेवा निगमका दशौं तह (सहसचिव सरह) का पूर्वकर्मचारी हुन्।
उनले २०३५ सालमा मेकानिक बाट सेवा सुरु गरे, क्रमशः—
• २०४७ मा टेक्निकल अफिसर,
• २०६३ मा नवौं तह,
• २०७३ मा दशौं तह मा पदोन्नति पाए,
• २०७३ माघ ४ मा अवकास लिए।
उनले—
• मार्केटिङ,
• इन्जिनियरिङ,
• एयरक्राफ्ट इन्जिनियरिङ,
• फ्लाइट इन्जिनियरिङ
विभागमा लामो अनुभव बटुलेका छन्।
उनको दाबी अनुसार—
• हवाई नीति,
• हवाई अडिट,
• फाइनान्स,
• व्यवस्थापन,
• ट्राभल–टुर्स अपरेसन
लगायत क्षेत्रमा विज्ञता छ।
निगम, नागरिक उड्डयन प्राधिकरण र अन्य निकायका सञ्चालक समितिमा सदस्यका रूपमा समेत काम गरेको पहाडीले आफू “योग्य उम्मेदवार” भए पनि ६५ वर्षे उमेरहदले आवेदन दिनबाट वञ्चित गरिएको बताउँदै उमेर सीमा खारेजीका लागि सर्वोच्चमा रिट दायर गरेका हुन्।











प्रतिक्रिया