
दोलखा जिल्लाको कालिन्चोक टाकुरा दुई फ्याक भएर कसरी छुट्टियो भन्ने कुराको प्रामाणिक इतिहास त पाइँदैन तर पौराणिक कालमा देवीसँगको युद्धका क्रममा महिषासुर दानवले सिँगौरी खेल्दा कालिन्चोक टाकुरालाई दुई फ्याक बनाएको किंवदन्ती छ ।
यसरी महिषासुरले दुई भागमा विभाजित गरेको भनिएको कालिन्चोक टाकुरामा आवत–जावत गर्नका लागि प्राचीनकालमा काठको भ¥याङ हालिएको थियो रे ! काठ मकाउने हुँदा बेलाबेलामा फेर्ने गरिन्थ्यो अरे ! पछि राणाकालमा दोलखाकै मागादेउरालीका तत्कालीन कमान्डिङ कर्णेल फौदसिंह खत्रीको पहलमा ती दुई टाकुरा जोड्न फलामको भ¥याङ हालियो । फौदसिंहकै सन्तति (पाँचौँ पुस्ता) पूर्व–सहायक रथी हिमालयविक्रम खत्री भन्नुहुन्छ, ‘सो भ¥याङ बनाउन फलामका खम्बाहरु कलकत्ताबाट ल्याइएका थिए ।’
यत्रा खम्बा कसरी कालिन्चोकमा पु¥याइएको थियो भन्ने मेरो प्रश्नमा उहाँ स्पष्ट पार्दै भन्नुहुन्छ, ‘कलकत्ताबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेलमा र त्यहाँबाट मानिसले बोकेको भरमा फलामका खम्बा कालिन्चोकमा पु¥याइएको थियो रे ! फेरि अचम्म त के भने, त्यो फलाममा खिया नलाग्ने रहेछ ।’ आफ्ना पुर्खाको गौरव इतिहासको प्रत्यक्ष अवलोकन भ्रमणका क्रममा कालिन्चोक पुगेर सो भ¥याङको नाप लिँदा लम्बाइ २२ फिट र चौडाइ ४ फिट पाइएको उहाँ बताउनुहुन्छ । प्रा. अमन श्रेष्ठद्वारा लिखित ‘दोलखा परिचय’ पुस्तकमा समेत यस भ¥याङको नाप यही उल्लेख गरिएको छ ।
पूर्व–सहायक रथी हिमालयविक्रम खत्रीका अनुसार कालिन्चोकको दुई टाकुरा जोड्ने भ¥याङमात्र नभएर कालिन्चोक टापुमा सानो पाटी र कुरीबाट अलि माथि यात्री बङ्गलासमेत कलकत्ताबाट ल्याइएकै फलामबाट निर्माण गरिएको थियो । अहिले टापुमा रहेको पाटी र कुरीको केही माथि रहेको यात्री बङ्गला मर्मत–सम्भार गरिएको अवस्था छ । तर फौदसिंहको पहलमा कलकत्तादेखि ल्याइएका फलामका मजबुत ऐतिहासिक खम्बा निकालेर सामान्य फलाम हाली यात्री बङ्गला पुनर्निर्माण गरेकोमा भने हिमालयविक्रम खिन्नता व्यक्त गर्नुहुन्छ ।
त्यस बेला फौदसिंह कर्णेलले कालिन्चोकमा ढुङ्गाको स्तम्भमाथि सिंहको मूर्तिसमेत स्थापना गराउनुभएको थियो तर सो मूर्ति हराएकोले कुनै भक्तद्वारा सो स्तम्भमा अहिले सिंहको अर्को मूर्ति राखिएको देख्न सकिन्छ । फलामे भ¥याङ निर्माणसँगै फौदसिंहले कालिका भगवतीलाई ठूलो घण्ट चढाउनुभएको थियो । म लेखकले पनि सो घण्ट फुटेको अवस्थामा देखेको थिएँ । चट्याङले फुटेकोले मर्मतका लागि निकालिएको तर पुनस्र्थापन नभएको ज्ञात हुन आएको छ ।
यहाँ मुख्य गरी भ¥याङको प्रसङ्ग भएकाले म म¥याङतिरै केन्द्रित हुन चाहन्छु । फौदसिंहको नेतृत्वमा निर्मित फलामे भ¥याङ नचढी पनि कालिन्चोक टाकुरामा पुग्न सकिन्छ । यसका लागि भने शिखरमा पुग्ने बेलामा दायाँतर्फको बाटो उकालो लाग्नुपर्छ । तर कुनै पनि मन्दिर वा स्तूपलाई दाहिने पारेर घुम्ने हाम्रो सनातनी परम्परा भएकाले कालिन्चोकको टाकुरालाई पनि दाहिने पारेर जानुपर्ने हुन्छ । त्यसैले जाँदा यो फलामे भ¥याङ चढेर जाने र फर्कंदा मात्रै पूर्वोत्तरतिरको बाटो फर्कने परम्परा बसेको हो ।
यस भ¥याङबाट खस्यो भने सुनकोशी नदीमा निस्किन्छ भन्ने किंवदन्ती पनि छ । भ¥याङमुनि खुल्ला भएको र त्यहाँबाट खस्यो भने सुनकोशीमा निस्किन्छ भन्ने गरेकाले भ¥याङ चढ्न डर लाग्थ्यो । ५० वर्षअघि म लेखक पहिलोपल्ट सो भ¥याङ चढ्दा मुनि खुल्ला भएकाले धेरै डर लागेको याद आउँछ । अझ फलामका खुड्किला चुइँक्क गरेर अलिकति ढल्किने हुँदा जीउ नै सिरिङ्ग हुन्थ्यो । त्यसमाथि ‘खसेर सुनकोशी नदीमा पुग्लास् नि !’ भनेर अग्रजहरुले तर्साउँथे । तर आजकाल खुड्किला त्यसरी नघुम्ने र दायाँ–बायाँको बारसमेत मजबुत भएकाले त्यस्तो डर लाग्दैन । सहजसँग दुई टाकुरामा आवतजावत गर्न सकिन्छ ।
(‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तकबाट उद्धृत अंश)











प्रतिक्रिया