निर्वाचन आचारसंहिता लागू गर्ने तयारी


निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता माघको पहिलो साताबाट लागू गर्ने भएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता जारी गरेपछि बल्ल प्रतिनिधिसभा निर्वाचन आचारसंहिता जारी गर्ने तयारी गरेको हो । करिब दुई महिनाअघि जारी गर्नुपर्ने आचारसंहिता डेढ महिनाअघि मात्र जारी गर्न लागेको हो । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारलाई चुनावचिह्न प्रदान गरेपछि आचारसंहिता लागू गर्ने तयारी छ । राष्ट्रिय सभा उम्मेदवारको मनोनयन पुस २८ गते हुनेछ । राष्ट्रिय सभा निर्वाचनअघि आचारसंहिता ल्याउने भएको छ । आयोगले राष्ट्रिय सभामा जारी गरेको आचारसंहिता प्रतिनिधिसभाको निर्वाचन सम्पन्न नभएसम्म लागू हुनेछ ।

यसअघि २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असोज १२ गतेदेखि आचारसंहिता लागू भएको थियो । आचारसंहिता २४ निकायमा लागू हुनेछ । आयोगले आचारसंहिताको मस्यौदा सार्वजनिक गर्ने क्रममा सरकारी तथा निजी सबै क्षेत्रमा लागू हुनेछ । संस्था, विद्यालय वा विश्वविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला प्रचारप्रचार गर्न नपाइने, घर वा धरधनीको स्वीकृति नलिई निजी वा संस्थागत संरचनामा प्रचारप्रसार गर्न वा गराउन नपाइने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्वक सूचना प्रवाह गर्न वा गराउन नहुने आचारसंहिताको मस्यौदामा उल्लेख छ ।

त्यस्तै मस्यौदामा सामाजिक सञ्जाल नियन्त्रण र नियमन गर्ने विषय समेटिएको छ । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने दुस्प्रयास गर्न, भ्रामक सूचना सम्पे्रषण गर्न, अपमान गर्न, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टीकाटीप्पणी गर्न वा गराउन नहुने, निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न नपाइने उल्लेख छ ।

निर्वाचन आचारसंहिता लागू भएपछि सामाजिक सञ्जाललाई प्रभावकारीरुपमा नियमन गरिनेछ । उम्मेदवारको मनोनय दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रसारण गर्न रोक लगाइनेछ । कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणअन्तर्गत स्थानीय कार्यपालिकाको पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्यमा सहभागी हुन पाइनेछैन । आचारसंहिताको मस्यौदामा प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्रको प्रगति प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

मस्यौदामा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्नेछ । जसअनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा प्रचारप्रसार गर्नुपर्नेछ । प्रत्येक वर्ष राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिम कार्यप्रगतिको प्रतिवेदन सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नुपर्नेछ ।

आचारसंहितामा सम्बन्धित उम्मेदवारलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ । उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्रका साथ सम्पत्ति विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । सम्पत्ति विवरण आयोगले मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्यरुपमा राख्नेछ । आयोगले जारी गरेको आचारसंहिताको मस्यौदा लगभग पारित हुने सम्भवना छ । आचारसंहिता लागू भएपछि स्वच्छरुपमा निर्वाचन हुने आशा गर्न सकिन्छ ।