जेनजी विद्रोह र दलहरुको पुनर्गठन


जेनजी विद्रोहपछि राजनीतिक दलको पुनर्गठन एउटा महत्वपूर्ण एजेन्डाको विषय बनेको छ । दलहरुको आन्तरिक संरचनामा लोकतन्त्र गायब भएपछि राज्यसंयन्त्रको दोहन गर्ने ध्येयमा सीमित हुँदै गएका राजनीतिक दल र ती भित्रका गुट–उपगुट शासकीय बेथितिका मुख्य स्रोत एवं कारक बनेका छन् । जेनजी विद्रोह विशेष गरी पुराना दलहरूको सत्तालिप्साको विरुद्ध जनआक्रोश हो । दलहरुमा मौलाउँदै गएको विचारविहीनताको परिणामले जेनजी विद्रोहलाई भरपूर मलजल गरेको हो । यसले गर्दा अहिले दलहरुको पुनर्गठनको खाँचो सबैतिर अपेक्षित पक्ष बन्न पुगेको छ । यसले दलहरुलाई परिवर्तित परिस्थितिमा बदलिन चुनौती पैदा गरिदिएको छ । वर्षौंको जर्जर संरचना, लाभ र हानिको सम्बन्धले एउटा नाफा कमाउने कम्पनीको जस्तै बन्न पुगेको अवस्थामा जेनजी विद्रोहपछि आफूलाई सान्दर्भिक बनाउनुपर्ने परिस्थति बन्नुलाई सकारात्मकरुपमा लिन सकिन्छ । तर दलहरुले यस्तो अवस्थामा वस्तुतः समस्याको समाधान खोज्ने भन्दा टालटुलको उपाय अवलम्बन गरिरहेका छन् । निर्वाचन नजिकिँदै गर्दा दलहरुमा मिल्ने, मर्ज गर्ने नीति वैचारिकताभन्दा स्वार्थमिश्रित टालटुले सोच हाबी देखिएको छ ।

राजनीतिप्रति बेमतलबी रहेका भनिएका युवाहरूको राजनीतिप्रतिको चासो, सरोकार तथा चिन्ता शिखरमा छ । निर्वाचन सन्निकट भएकाले मतदाता नामावलीमा नामाङ्कन गराउने नयाँ मतदाताको संख्या बढ्दो छ । यसै पृष्ठभूमिमा नेपालको लोकतन्त्रको क्षयीकरणका कारक भनिएका पुराना राजनीतिक पार्टीहरू हौसिएर पछिल्लो आन्दोलनको म्यान्डेट भन्दै पार्टी पुनर्निर्माण, एकता तथा सुदृढीकरणका प्रयासमा लागेका छन् । राष्ट्रिय जीवनमा योगदान पु¥याएका सेलिबे्रटी व्यक्तित्व, जेनजी विद्रोहका अगुवा तथा केही अभियन्ताहरूका नयाँ राजनीतिक दलहरू पनि मैदानमा देखिएका छन् । तर परिवर्तित राजनीतिक परिवेशमा लोकतन्त्रको प्राणवायु मानिने राजनीतिक दलहरूको सांगठनिक स्वरूप, आजका मुलुकका यावत् समस्या र तिनका समाधानका कार्यसूची तथा प्राथमिकता कस्तो हुनुपर्छ ? भन्ने प्रश्नमाथि अर्थपूर्ण चिन्तन–मन्थन भएको छैन ।

अहिले विचारधाराभन्दा पनि व्यक्तित्व र स्वार्थका आधारमा दलहरु ध्रुवीकृत भइरहेका छन् । निर्वाचन नजिकिँदै गएसँग केवल चुनाव जित्ने हिसाबले दलहरु मिल्ने, विलय वा मर्ज गर्ने क्रम भइरहेको छ । यसबाट समस्या एकातिर र दलहरु अर्कोतिर लागिरहेको देखिन्छ । कांग्रेस, एमालेजस्ता दलहरूले केवल पुराना संरचनाको आडमा सत्ता सञ्चालनको प्रयास गरिरहेकै छन्, जबकि नयाँ दल र वैकल्पिक शक्ति बनाउने अधिकांश प्रयासहरू वैचारिक अस्पष्टता र गुटबन्दीको कारण असफल हुँदै गएका छन् । नयाँ दलहरू, चाहे रास्वपा होस्, चाहे अन्य दलहरू, विचारधारामा गडबडी र असमर्थता देखाउँदै आएका छन् । राजनीतिमा विकल्पको खोजी गर्ने युवाहरू पनि व्यवस्था र भ्रष्टाचारका विरोधमा उठेका छन् तर उनीहरूको आवाज वैचारिकतामा अभाव रहेको देखिन्छ ।

जेनजी विद्रोहले नेपाली राजनीतिमा एक नयँ सन्देश र चेतना ल्याएको छ । आजको युवावर्गको चिन्ता र चासो राजनीतिक परिप्रेक्ष्यमा गहिरो छ तर उनका आवाज र विचारहरूको मार्गदर्शन गर्ने कुनै स्थिर विचारधाराको अभाव छ । दलहरूको पुनर्निर्माण र एकताका प्रयासहरूभन्दा पनि आजको समाजलाई डो¥याउने नयाँ दृष्टिकोण र भिजन चाहिएको छ । दलहरूलाई केवल सत्ताको आकांक्षामा होइन, बरु समाजका आधारभूत समस्याहरूको समाधानका लागि एक सशक्त, विचारशील र साझा दृष्टिकोणको निर्माणमा केन्द्रित गर्न आवश्यक छ । यसरी मात्र नेपालमा वास्तविक परिवर्तन र सुधार सम्भव हुनेछ, जसले जनतासँगको विश्वास र भरोसा पुनः स्थापित गर्न मद्दत गर्नेछ ।