काठमाडौं।
काठमाडौं महानगरपालिकाले खेल मैदान मासेर व्यापार गर्ने २० विद्यालयका संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । राजधानीमा सञ्चालित अधिकांश विद्यालयले शिक्षाको नाममा व्यापार गर्न थालेको गुनासो बढेपछि विद्यालयले भाडामा दिएका सटर र केही भवनमाथि कामपाले डोजर चलाएको हो ।
करिब एक वर्षअघिदेखि महानगरले विद्यालयको संरचनामा डोजर चलाउन सुरु गरेको हो । कामपा नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले केही विद्यालयको संरचना भत्काउन बाँकी रहेको र केहीको भत्काइसकिएको जानकारी दिनुभयो । उहाँले यो हप्तामा कुलेश्वर माविले भाडामा दिएका संरचना भत्काउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँका अनुसार भत्काउन तयार रहेका ७ विद्यालयका संरचना अदालतको आदेशका कारण रोकिएको छ भने २० वटा विद्यालयका संरचना भत्कने भएका छन् ।
कामपा शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार हालसम्म करिब एक दर्जनभन्दा बढी विद्यालयको संरचना भत्किसकेका छन् भने बाँकी संरचना भत्कने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार जनकल्याण मावि बौद्ध, मंगलदेवी मावि, महेन्द्रमावि बौद्ध, बत्तीसपुतली मावि, जनप्रभात मावि कालिमाटी, जुद्धोदय मावि क्षेत्रपाटी र हिमालयन मावि न्युरोडले भत्काउन सुरु गर्दैगर्दा अदालत गरेर निषेधाज्ञा ल्याएका छन् ।
सायद हालम्म भाडामा दिएका संरचना भत्काइएका विद्यालयमा पद्मोदय मावि पुतलीसडक, धुम्बराह मावि धुम्बाराही, महेन्द्र राष्ट्रिय मावि वालुवाटार, विजय स्मारक मावि डिल्लीबजार, पद्मकन्या मावि डिल्लीबजारलगायत छन् ।
महानगरले भत्काउने सूचीमा पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि मध्ये बानेश्वर,पञ्चकन्या माबि वासबारी, जनपथ मावि कलंकी, जनविकास माबि बल्खु, नेपाल युवकमावि पकनाजोल, सिद्धि गण्शेश मावि पकनाजोल, शान्ति निकुञ्ज मावि भगवती तिवारी, शान्ति विद्यागृह लैनचौर, सहिद शुक्र मावि वागबजार छन् ।
कामपा प्रहरीले केही दिनअघि जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरू भत्काइएको छ । महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेले विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएका कारण भत्काइएको जानकारी दिनुभयो । शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । पाण्डेका अनुसार सो विद्यालयले यसअघि ती सटरहरूमा फलफूल पसल तथा अन्य साना पसलहरू सञ्चालन गर्न भाडामा दिएको थियो ।
महानगरपालिकाले शैक्षिक संस्थाहरूको जमिन शिक्षण क्रियाकलापमा ल्याउन गएको वर्षदेखि अभियान नै सञ्चालन गरेर काम गरिरहेको छ ।
विद्यालयका प्रधान अध्यापकले विद्यालयको भवन, सटर र खुलाक्षेत्र भाडामा दिएर विद्यालयको आम्दानी गरिरहेका थिए । स्रोतका अनुसार केही विद्यालयले कम रकममा सम्झौता गरेको देखाएर बढी रकम असुल गर्ने गरेका थिए । अब विद्यालयको जग्गामा व्यापार गर्न नदिने भएपछि विद्यालयको आम्दानी घटेको छ । भाडावापतको रकमले शिक्षक नियुक्ति भएको थियो । कामपा शिक्षा विभागका अधिकृत पौडेलले कामपाले आवश्यकताका आधारमा रकम विनियोजन गरेकोले भाडा खान जरुरी नभएको बताउनुभयो ।
केही विद्यालयले भवन, सटर र खुलाक्षेत्रलाई आफ्नो कमाइ खाने भाडो बनाएको गुनासो आएपछि कामपाले जुन प्रयोजनका लागि प्रयोग भएको हो, त्यसैका लागिमात्र प्रयोग गर्न निर्देशन दिँदै भत्काउन सुरु गरेको हो । अदालतको आदेशका कारण केही समस्या भएको जानकारी गराउँदै प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘मुद्दाको किनारा लाग्नासाथ भत्काउन सुरु गरेका थियौं ।’ कामपा शिक्षा विभागका अधिकृत पौडेलले महानगरको निर्णयअनुसार भाडामा दिएका सबै भाडाको संरचना भत्काउने बताउनुभयो ।











प्रतिक्रिया