दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी: तीन नेपालीको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते


काठमाडौं।

भारतको उत्तर प्रदेशको बलरामपुरमा मंगलवार बिहान नेपाल–भारत सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दुई दर्जनभन्दा बढी नेपाली नागरिक घाइते भएका छन् । बसमा ४५ जना सवार थिए, जसमा धेरैजसो नेपालका विभिन्न जिल्लाका युवायुवती, सर्वसाधारण र परिवारका सदस्य थिए ।

दुर्घटना राति करिब २ बजेतिर यूपी २२ एटी ०२४५ नम्बरको बस बलरामपुर मोड नजिकै दुर्घटनामा परेपछि आगलागी भएको भारतीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस एक मालवाहक ट्रकसँग ठोक्किएर सडकछेउको हाई–टेन्सन पोलमा ठोक्किँदा सर्ट–सर्किट भएको र त्यसपछि बसमा आगो लागेको बताइएको छ ।

रातको समयमा धेरै यात्रु निद्रामै थिए । ठक्कर र आगोको तेज झिल्काले यात्रु हत्तपत्त ब्युँझिए । बसभित्र धुवाँ र आगो झनै बढेपछि यात्रुले आफैंले सिसा फुटाएर बाहिर हामफालेका थिए । तर, पछिल्लो भागमा बसेका केही यात्रु समयमै निस्कन नसक्दा जलेर मृत्यु भएको बताइएको छ ।
स्थानीयवासी, प्रहरी र दमकलको टोलीले करिब एक घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा ल्याएको थियो । शव पोलेर चिन्न नसकिने अवस्थामा रहेकाले पहिचानका लागि थप परीक्षण आवश्यक भएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

घटनामा घाइते भएकामध्ये धेरैजसो नेपालका विभिन्न जिल्लाका नागरिक रहेका छन् । उनीहरूलाई सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी पछि बहराइच मेडिकल कलेजलगायतका अस्पतालहरूमा रेफर गरिएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
उक्त दुर्घटनामा घाइतेहरूमा शिवबहादुर पुनजुवार, पुरनबहादुर बुढा, ईश्वरबहादुर, विष्णु, अनिलबहादुर, सरस्वती÷सपना खत्री, दीक्षाकर मगर, जहिदुल रहमान, ताति बेगम, विधायन यादव, विवस गुरुङ, लालबहादुर, छिरिङ लामा, विक्रम मनिया, सुवास अर्याल, कमलबहादुर पौडेल, बुधराम, ओमबहादुर, वसन्त सार्की, सोनम, अनिक्षा, नेपाल, गुनबहादुर÷सुरेश, बोधिबहादुर, धनकुमारी लगायतका रहेका छन ।

दूतावास र सरकारको समन्वय

नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनाबारे भारतीय प्रहरी, अस्पताल प्रशासन र स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । दूतावासका अधिकारी घाइतेलाई भेट्न अस्पताल पुगेका छन् र गम्भीर घाइतेको उपचारमा सहजीकरण भइरहेको छ । दूतावासका अनुसार मृतकको पहिचान प्रक्रिया जारी रहेको बताएको छ ।

रूपन्देही, कपिलवस्तु, नवलपरासी, स्याङ्जा, गुल्मी, म्याग्दी, सिरहालगायतका जिल्लाका परिवारले आफन्तसँग सम्पर्क हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । धेरैले बस काउन्टर र प्रहरीमार्फत वास्तविकता बुझ्न खोजे पनि सूची अपूर्ण भएकाले भ्रम बढेको छ । नेपालतर्फ सुरक्षा निकाय र स्थानीय प्रशासनले पनि भारतीय पक्षसँग प्रत्यक्ष समन्वय गर्दै घाइतेको विवरण संकलन गरिरहेको छ ।

भारतीय प्रहरीले ट्रक चालक घटनास्थलबाट फरार भएको र खोजी कार्य जारी रहेको जनाएको छ । साथै दुर्घटनामा बसको गति, सडकको अवस्थामाथि अवरोध, लामो दूरीको यात्रा तथा चालकको कार्यसमयजस्ता विषयमा विस्तृत अनुसन्धान थालिएको छ ।

बलरामपुरमा भएको यो दुर्घटनाले फेरि एकपटक नेपाल–भारत सीमाबाट चल्ने लामो दूरीका बस सेवाको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ । तीनको मृत्यु र दुई दर्जनभन्दा बढी नेपाली घाइते भएको यो घटना दुवै देशका अधिकारीका लागि सडक सुरक्षा, मर्मत–अनुगमन र आपतकालीन उद्धारमा सुधार आवश्यक छ भन्ने संकेत गरेको छ ।