काठमाडौँ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले महत्वपूर्ण जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ भएको दोस्रो खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ सम्भावना जिउँदो राखेको छ।
यसै हारसँगै कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम खेल जिते पनि शीर्ष–४ मा पुग्न नसक्ने अवस्था बनेको हो। किनकि ४–४ अंक जोडेका पोखरा एभेन्जर्स र चितवन राइनोज एक–आपसमा खेल्न बाँकी छन्, जसले कम्तीमा एउटा टोलीलाई ६ अंकमा पुर्याउनेछ।
कर्णालीले ६ खेलमा २ अंक मात्र बटुलेको छ। एक खेलमा मात्र जित निकाल्न सफल कर्णालीले पाँच खेलमा पराजय भोगेको थियो।
मंगलबारको जितपछि पोखराले पाँच खेलमा आफ्नो दोस्रो जित दर्ता गर्दै ४ अंक जोडेको छ। अब बाँकी दुई खेलमा विजय हासिल गर्न सके पोखराले प्लेअफमा पुग्ने सम्भावना बलियो बन्नेछ।
यसअघिनै सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा प्रवेश गरिसकेको छ। विराटनगर किंग्स र काठमाडौँ गोर्खाज ८–८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफ नजिक छन्।











प्रतिक्रिया