मुगु ।
कर्णाली नदीको सुसाहट र रारातालको शान्त गहिराइबीच एउटा ठूलो विरोधाभास वर्षौंदेखि बाँचिरहेको छ । त्यो विरोधाभास हो– ‘प्रकृतिले दिएको अथाह सम्पत्ति र राज्यले दिएको उपेक्षाको भारी ।’
काठमाडौंको वातानुकूलित कोठामा बसेर नक्सा हेर्दा मुगु निकै टाढा, धुमिल र दुर्गम देखिन्छ । तर, गमगढीको बजारमा उभिएर उत्तरतर्फ चियाउँदा देखिन्छ– सम्भावनाको नयाँ क्षितिज । वर्षौंसम्म पिछडिएको, गरिब र विकटजस्ता विशेषणले थिचिएको मुगु र सिंगो कर्णाली अब यो दयाको पात्र बन्न चाहँदैन । मुगु अब नेपालको विकासको मूल प्रवाहमा मिसिएर आफूलाई सबल र सक्षम प्रमाणित गर्न आतुर छ ।
आजको मुगु केवल सिटामोल नपाएर छटपटाउने बिरामीको कथा मात्र होइन, यो विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने, बहुमूल्य जडीबुटीको भण्डार र उत्तर–दक्षिण जोड्ने रणनीतिक नाका बन्ने सामथ्र्य राख्ने एउटा ‘सुतेको सिंह’ हो । मुगु र कर्णालीको भविष्य अब पुरानो रङ्गीन चस्माले हेरेर कोर्न सकिँदैन । आउनुहोस्, तथ्याङ्कको सुख्खा विवरणभन्दा माथि उठेर मुगुको माटो, मान्छे र भविष्यको सजीव चित्र कोर्ने प्रयास गरौं ।
सबैभन्दा पहिले हामीले मुगुलाई हेर्ने नजर बदल्नुपर्छ । हिजोसम्म सडक थिएन, सञ्चार थिएन, त्यसैले यो दुर्गम थियो । आज कर्णाली राजमार्गले जोडेको छ, इन्टरनेटले विश्वसँग जोडेको छ । अब मुगु दुर्गम होइन, दुर्लभ गन्तव्य हो ।
मुगुको भौगोलिक विकटता नै अबको विश्वबजारका लागि बिक्री हुने वस्तु हो । काठमाडौंको धुवाँ र कोलाहलबाट उम्कन चाहनेका लागि मुगुको शान्त हावापानी, राराको कञ्चन पानी र चङ्खेली हिमालको काख स्वर्गभन्दा कम छैन । मुगुलाई पिछडिएको क्षेत्र भनेर आरक्षणको डोकोमा मात्र बोक्ने कि, यसको विशिष्टतालाई पुँजीकृत गर्ने ? बहस यहाँबाट शुरु हुनुपर्छ ।
मुगुको कायापलट गर्ने जादुको छडी भनेकै सडक सञ्जाल हो । अहिलेको नाग्मा–गमगढी सडकखण्डको अवस्था हेर्दा मन कुँडिन्छ । ‘मृत्युमार्ग’ को उपमा पाएको कर्णाली राजमार्ग र त्यसको सहायक मार्गका रूपमा रहेको गमगढी सडकलाई दुई लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्नु मुगु सबलीकरणको पहिलो सर्त हो ।
तर, मुगुको भविष्य केवल दक्षिण (सुर्खेत÷नेपालगन्ज) सँग जोडिनुमा मात्र छैन । मुगुको वास्तविक ‘गेम चेन्जर’ भनेको उत्तरतर्फको नाक्चेलाग्ना नाका हो । गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासम्मको सडक जोड्न सक्ने हो भने यो नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो र सहज त्रिदेशीय पारवहन मार्ग बन्न सक्छ ।
सोच्नुहोस् त, मानसरोवर जाने हजारौं भारतीय तीर्थयात्री हुम्लाको हिल्सा वा रसुवागढीको साटो मुगुको बाटो हुँदै राराको दर्शन गरेर तिब्बत जान पाए भने यहाँको अर्थतन्त्र कहाँ पुग्ला ? कर्णाली करिडोरले छोएको र चीनसँग सीधा व्यापारिक सम्बन्ध स्थापित गर्न सक्ने यो नाका सञ्चालनमा आउँदा मुगु कर्णाली प्रदेशकै प्रमुख व्यापारिक हब बन्नेछ । तब मुगुमा सिमेन्ट र रड मात्र भित्रिने छैन, मुगुको स्याउ र जडीबुटी चीनको बजारमा पुग्नेछ ।
हामीले रारालाई बेच्न सक्यौं, तर रारामा पर्यटकलाई अड्याउन सकेनौं । मुगुको पर्यटन रारा तालमा गएर टुंगिन्छ, जुन विडम्बना हो । सबल मुगुको भविष्य ‘पर्यटन विविधीकरण’ मा निर्भर छ । मुगुलाई सांस्कृतिक सर्किटको रुपमा विकास गर्न सकिन्छ । मुगुको खस सभ्यता, देउडा संस्कृति र धामी–झाँक्री परम्परा आफैंमा एउटा विश्वविद्यालय हो । पर्यटकलाई रारा देखाएर मात्र हुँदैन, उनीहरूलाई मुगुको गाउँ–गाउँमा लैजानुपर्छ । मुगुम कार्मारोङ गाउँपालिकाको बौद्ध संस्कृति र खत्याडको मौलिक जीवनशैलीलाई समेटेर ‘होमस्टे सर्किट’ बनाउनुपर्छ ।
अहिले पनि रारा पुग्ने पर्यटकले स्तरीय बास र खानपानको अभाव झेल्नुपरेको छ । अब टेन्ट टाँगेर बस्ने रहरले मात्र पर्यटन धानिदैन । वातावरणमैत्री तर उच्च गुणस्तरका रिसोर्टहरू र स्थानीय परिकार पस्किने होटलहरू खुल्नुपर्छ । मार्सी चामलको भात, कोदोको ढिँडो, सिमीको दाल र कागुनोको खीरलाई ‘फाइभ स्टार’ मेनुमा रूपान्तरण गर्नुपर्छ ।
मुगुको माटोमा सुन फल्छ, तर बजार नपाएर कुहिएको छ । जुम्लाको स्याउले बजार पाउँदा मुगुको स्याउ बोटमै कुहिने अवस्थाको अन्त्य अबको प्राथमिक कार्यसूची हुनुपर्छ ।
मुगुबाट काँचो जडीबुटी (यार्सागुम्बा, पाँचऔंले, जटामसी) कौडीको भाउमा निकासी हुन्छ । अब मुगुमै जडीबुटी प्रशोधन केन्द्र खोलिनुपर्छ । यहाँको जडीबुटीबाट सुगन्धित तेल, साबुन वा औषधि बनाई ट्याग लगाएर विश्वबजारमा पठाउन सकिन्छ ।
मुगु अर्गानिक हब बन्न सक्छ । मुगुलाई ‘अर्गानिक जोन’ घोषणा गरिनुपर्छ । रासायनिक मल र विषादी प्रयोग नभएको यहाँको माटोको उत्पादन (सिमी, आलु, स्याउ) को माग काठमाडौं र विदेशका सुपरमार्केटमा उच्च छ । हरेक स्थानीय तहमा चिस्यान केन्द्र र ढुवानीका लागि सहुलियतपूर्ण ‘कार्गो’ व्यवस्था गर्न सके किसानको हातमा नगद पुग्छ । किसान धनी नभई मुगु धनी हुँदैन ।
बाटो र भवनले मात्र विकास हुँदैन, विकासको केन्द्रमा ‘मान्छे’ हुनुपर्छ । मुगुको मानव विकास सूचकाङ्क अझै पनि पुछारमा छ । सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने र सामान्य शल्यक्रियाका लागि जुम्ला वा सुर्खेत धाउनुपर्ने बाध्यता जीवितै छ ।
यसै गरी मुगुका युवालाई अब परम्परागत शिक्षाभन्दा पनि प्राविधिक सीपको खाँचो छ । जिल्लामै कृषि, भेटेरिनरी, इन्जिनियरिङ र पर्यटनसम्बन्धी डिप्लोमा कलेजहरू स्थापना गर्नुपर्छ । हातमा सीप भएको युवाले मलेसियाको मरुभूमिमा भन्दा आफ्नै पाखामा स्याउ फलाउनुमा गर्व गर्छ ।
स्वास्थ्यमा लगानी उत्तिकै जरुरी छ । जिल्ला अस्पतालको स्तरोन्नति र विशेषज्ञ डाक्टरलाई मुगुमा टिकाउन ‘विशेष प्रोत्साहन प्याकेज’ (कर्णाली भत्ता, वृत्ति विकासमा प्राथमिकता) को नीति कडाइका साथ लागू हुनुपर्छ । साथै, ‘टेलिमेडिसिन’ मार्फत काठमाडौंका विशेषज्ञ डाक्टरले मुगुको दूरदराजको बिरामी जाँच्ने प्रविधिको विस्तार गरिनुपर्छ ।
मुगुमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन भर्खर पुग्दै छ, तर अझै भरपर्दो छैन । गमगाढजस्ता खोलानालाबाट मझौला जलविद्युत् आयोजना निकालेर मुगुलाई ऊर्जामा आत्मनिर्भर बनाउन सकिन्छ । बिजुली पुगेपछि मात्र साना उद्योग चल्छन्, कम्प्युटर चल्छन् र सिंचाइ सम्भव हुन्छ ।
त्यस्तै ‘डिजिटल मुगु’ को अवधारणालाई अघि बढाउनुपर्छ । इन्टरनेटको पहुँचले यहाँका विद्यार्थीलाई विश्वसँग जोड्छ भने किसानलाई बजारभाउसँग । राराको फोटो इन्स्टाग्राममा देखेर आउने पर्यटकलाई फोर–जी सेवा दिन नसके उनीहरू दोहो¥याएर आउँदैनन् ।
अन्त्यमा, यी सबै सपना पूरा गर्ने साँचो भनेको ‘राजनीतिक इच्छाशक्ति’ हो । मुगुलाई प्रयोगशाला मात्र बनाउने कि नमुना बनाउने ? यो प्रश्न यहाँका जनप्रतिनिधितिर सोझिएको छ ।
डोजर चलाएर पहाड कोतर्नुलाई मात्र विकास मान्ने प्रवृत्ति मुगुका लागि घातक सिद्ध भएको छ । अबको नेतृत्वले ‘भ्यू टावर’ भन्दा ‘स्कुल र अस्पताल’ मा लगानी गर्नुपर्छ । उपभोक्ता समितिमा हुने राजनीति र भ्रष्टाचारको जालो नतोडेसम्म केन्द्रबाट आएको बजेट बालुवामा पानी हालेसरह हुनेछ । मुगुको विकासका लागि संघीयता वरदान साबित हुनुपर्छ, अभिशाप होइन ।
मुगु पिछडिएको होइन, राज्यले पछाडि पारेको हो । तर, अब अरुलाई दोष दिएर मात्र बस्ने समय छैन । मुगुसँग अथाह सम्भावना छ– जल, जमिन, जडीबुटी र जनशक्ति । मात्र खाँचो छ– सही व्यवस्थापन र इमानदार प्रयासको ।
अबको १० वर्षपछिको मुगुको कल्पना गरौं– जहाँ नाक्चेलाग्नाबाट चिनियाँ सामान बोकेका ट्रकहरू गमगढी बजारमा अनलोड हुँदै छन्, राराको किनारमा विदेशी पर्यटकहरू मुगाली स्याउको जुस पिउँदै छन् र यहाँका युवाहरू आफ्नै गाउँको जडीबुटी उद्योगमा काम गरेर बेलुका रमाउँदै घर फर्कंदै छन् ।
यो सपना असम्भव छैन । कर्णाली प्रदेशले आफ्नो समृद्धि यात्राको ‘पाइलट प्रोजेक्ट’ मुगुलाई बनाउन सक्छ । मुगु बन्छ अनि मात्र कर्णाली बन्छ र कर्णाली बने मात्र समृद्ध नेपालको चित्र पूरा हुन्छ । तसर्थ, आउनुहोस्, ‘पिछडिएको क्षेत्र’ भन्ने हीनताग्रन्थि त्यागौं र मुगुलाई नेपालको ‘समृद्धिको नयाँ गन्तव्य’ का रूपमा स्थापित गर्न हातेमालो गरौं । मुगुको भविष्य उज्यालो छ, मात्र त्यो उज्यालो देख्ने आँखा र त्यसलाई समात्ने हातहरूको खाँचो छ ।











प्रतिक्रिया