कमाइ खाने स्कुलको संरचनामा महानगरको डोजर

२० विद्यालयको संरचना भत्कने मुद्दाको कारण ७ ओटा रोकियो

3.76k
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले खेलमैदान मासेर व्यापार गर्ने २० विद्यालयको संरचनामाथि डोजर चलाउन सुरु गरेको छ । राजधानीमा सञ्चालित अधिकांश विद्यालयले शिक्षाको नाममा व्यापार गर्न थालेको गुनासो बढेपछि कामपाले विद्यालयले भाडामा दिएको सटर र केही भवनमाथि डोजर चलाएको हो ।

करिब एक वर्ष अघिदेखि महानगरले विद्यालयको संरचनामा डोजर चलाउन सुरु गरेको हो । केही विद्यालयको संरचना भत्काउन बाँकी छन्, केहीको भत्काइसकेका छौँ –कामपा नगर प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो । उहाँका अनुसार भत्काउन तयार रहेका ७ विद्यालयको संरचना अदालतको आदेशको कारण रोकिएको छ । भने २० विद्यालयको संरचना भत्कने भएको छ ।

कामपा शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार हालसम्म करिब एकदर्जन बढीको संरचना भत्किसकेका छन् । भने बाँकी संरचना भत्कने क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार भत्काउन सुरु गर्दैगर्दा अदालत गएर निषेधाज्ञा ल्याएका विद्यालयहरूमा जनकल्याण मावि बौद्ध, मंगलदेवी मावि, महेन्द्र मावि बौद्ध, बत्तीसपुतली मावि, जनप्रभात मावि कालिमाटी, जुद्धोदय मावि क्षेत्रपाटी र हिमालयन मावि न्युरोड छन् ।

महानगर प्रहरी बल प्रमुख पाण्डेका अनुसार करिब एकदर्जन विद्यालयको संरचना भत्काइसकेको र केही भत्कने क्रममा छन् । सायद यो हप्तामा कुलेश्वर माविले भाडामा दिएका संरचना भत्काउने तयारी गरिरहेका छौँ । हालम्म भाडामा दिएका संरचना भत्काइएका विद्यालयमा पद्मोदय मावि पुतलीसडक, धुम्बराह मावि धुम्बाराही, महेन्द्र राष्ट्रिय मावि वालुवाटार, विजय स्मारक मावि डिल्लीबजार, पद्मकन्या मावि डिल्लीबजारलगायत छन् ।

महानगरले भत्काउने सूचीमा पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि मध्य बानेश्वर,पञ्चकन्या मावि बाँसबारी, जनपथ मावि कलंकी, जनविकास मावि बल्खु, नेपाल युवक मावि पकनाजोल, सिद्धि गणेश मावि पकनाजोल, शान्ति निकुञ्ज मावि भगवतीबारी, शान्ति विद्यागृह लैनचौर, शहीद शुक्र मावि बागबजार छन् ।
कामपा प्रहरीले केही दिनअघि जन विकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटरहरू भत्काइएको छ । महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरिक्षक पाण्डेले विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएका कारण भत्काइएको जानकारी दिनुभयो ।