‘बीवाईडी’ कर छली र डाटा सुरक्षामा अन्तर्राष्ट्रिय रूपमै विवादित

0
Shares

चिनियाँ गाडी ‘बिल्ड योर ड्रिम’ (बीवाईडी) को विद्युतीय गाडीले विश्वव्यापी रूपमा बजारलाई तीव्र गतिमा दिँदै गर्दा नेपाललगायत विभिन्न देशमा कर छली, डाटा सुरक्षा र राष्ट्रिय सुरक्षासँग जोडिएका गम्भीर मुद्दाहरूका कारण छानविन र प्रतिबन्धको समेत सामना गर्नुपरिरहेको छ ।

उक्त कम्पनीको नेपालस्थित बिक्रेता साइमेक्स इंक प्रालिले देशको अर्थ व्यवस्थालाई नै खल्बल्याउने गरी कर छली गर्दै आएको आरोप छ । साइमेक्स इंक प्रालिले बीवाईडीका गाडी आयात गर्दा उच्च क्षमताका गाडीलाई भन्सारमा न्यून क्षमताको उल्लेख गर्ने तथा गाडीको लागत मूल्यभन्दा न्यून बिजकीकरण गरेर राजस्व छली गर्दै आएका घटना निरन्तर सार्वजनिक हुँदै आएका छन् । कर छली भएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले २०८१ असार ४ गते साइमेक्स इंक प्रालिको कार्यालयमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको थियो । तर, डेढ वर्ष बितिसक्दासम्म कम्पनीमाथिको अनुसन्धान सकिएको छैन । सो अवधिमा विभागमा आधा दर्जन महानिर्देशक ९धचष्तभ फेरिँदा पनि साइमेक्स इंक प्रालिको राजस्व छली बारेमा कुनै निर्णय भएको छैन । उक्त छापा कम्पनीमाथि अरु संयन्त्रबाट हुनसक्ने कारबाही रोक्न गरिएको प्रपञ्चका रुपमा पनि थियो ।

साइमेक्स इंकले बिक्री गर्ने बीवाइडीको एट्टो–३ मोडेलको गाडीको क्षमता १५० किलोवाट भए पनि बीवाईडीले फर्जी कागजात बनाएर ९९ किलो लेखाएर अर्बौ रुपियाँ राजस्व छली भएको सम्बन्धमा विभागले कागजपत्र नियन्त्रणमा लिएको हो । साइमेक्सले भन्सार मूल्य ३६ लाख १० हजार तोकेको एट्टो–३ को १ सय ५० किलोवाटको हो ।

भन्सार शुल्क आर्थिक ऐन २०८० अनुसार २० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत गरी ४० प्रतिशत तिर्नुपर्नेमा उसले १०० किलोवाटको उल्लेख गरी १५ प्रतिशत भन्सार शुल्क, १० प्रतिशत अन्तःशुल्क तिरेर भन्सार छलेको विषयमाथि अनुसन्धान टुंगिएको छैन । यसअघि सो कम्पनीले सन् २०१५ मा बनेका २० वटा ई–सिक्स मोडेल कार आयात गर्दा १ करोड ८४ लाख रुपियाँ न्यून बिजकीकरण ठहर भन्सार विभागले ठहर गरेको थियो ।


कम्पनीले २०७८ भदौ १७ मा जारी गरेको बिलको आधारमा बीवाईडी ई–सिक्स नेपाल भित्र्याउँदा भन्सारको प्रज्ञापनपत्रमा घोषित मूल्य वास्तविक नभएको विभागले फेला पारेको थियो । त्यसबेला कर छली गरेको राजस्व न्यायाधीकरणले ठहर गरेको थियो । कमर्सियल इनभ्वाइस नम्बर पीभी ९२१९६०००४६ को प्रतिगाडी १० हजार डलरका दरले प्रज्ञापन पत्रमा घोषणा गरेको बीवाईडी ई–सिक्स (२०१५ भर्सन) र कमर्सियल इनभ्वाइस नम्बर सीआई (पीभी) २१९६००२८०९२ को प्रतिगाडी २७ हजार डलरका दरले आयात गरेको थियो ।

ई– सिक्स कार अधिकतम खुद्रा मूल्यमा भ्याटसमेत जोडेर ५० लाख रुपियाँ रहेको उल्लेख गरिएको थियो । तर, साइमेक्सले ५९ लाख रुपियाँमा विक्री गरेर प्रतिगाडी ९ लाख रुपियाँ ठगी गरेको उल्लेख छ । गाडीको ब्याट्री चार्जर, एसी र अन्य सामग्रीहरू गाडीसँगै जोडिएर आउने भए पनि सो कम्पनीले छुट्टै देखाउने गरेको अनुसन्धानमा खुलेको थियो ।

त्यस्तै २०८१ भदौमा साइमेक्स इंक प्रालिले यातायात व्यवस्था विभागबाट बिक्रीका लागि आयातको अनुमति नलिई प्रदर्शनीको कागजपत्र बनाएर ‘सिलायन सेभेन’ कार पनि नेपाल भित्र्याएको थियो । चोर बाटोबाट भित्रिएका त्यस्ता २० वटा गाडी बिक्रीका लागि राखिएको थियो । उक्त घटना सार्वजनिक भए पनि विभागले कुनै कारबाही गर्न सकेन ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले उच्च क्षमताका गाडी आयात गरी न्यून क्षमताको भन्दै भन्सार राजस्व छली मात्रै गरेको छैन । राष्ट्रिय सुरक्षामा पनि गम्भीर चुनौती सिर्जना गरेको छ । कम्पनीले अवैध रूपमा चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड आयात गरी बिक्री गरेको पाइएको छ । सामान्यतया सिम कार्ड आयात गर्न, कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने हुन्छ । तर, साइमेक्सले आफ्नो मुख्य उद्देश्य विपरीत, सिम कार्ड आयात गरेको पाइएको हो ।

साइमेक्स इंकले सिम कार्ड राख्ने डिभाइसको आयात अनुमति लिएर सिमकार्ड आयात गर्दै आएको छ । कम्पनीले भन्सार उपशीर्षक ८५२३.५२.१० मा सिमकार्ड उल्लेख गरेर आयात गर्दै आएको छ । दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल लाग्दैन । तर, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भने लाग्ने व्यवस्था छ । साइमेक्स इंकले २०२४ मार्च २६ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट एमटीसीएफ–थ्री मोडल नम्बर उल्लेख भएको उपकरणको टाइप अप्रुभल स्वीकृति लिएको देखिन्छ ।

नेपालमा विदेशी सिमको प्रयोग कारोबारमा कानुनले बर्जित गरेको छ । तर, नेपालमा आयात भएका बीवाईडीका विद्युतीय गाडीमा चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड राखेर ल्याएको छ ।साइमेक्सले गाडी आयातका लागि पाएको विदेशी मुद्रा सटही सुविधा प्रयोग गरेर सिम कार्ड आयात गरेको छ । सामान्यतया, यस सुविधा केवल सवारीसाधन र त्यसका पाट्र्स आयातका लागि मात्र दिइन्छ । तर, साइमेक्सले यस सुविधा प्रयोग गरेर चिनियाँ सिम कार्डको अस्वाभाविक मूल्य (२,३०० युआन अर्थात् ४४ हजार २२ रुपियाँ) मा आयात गरेको छ ।

मोबाइल फोन प्रयोगका लागि सिम कार्ड आयात गर्दा ६०÷६५ रुपियाँ प्रतिगोटा लागत पर्छ । तर, साइमेक्सले प्रतिसिम कार्ड ५८ हजार ५८७ रूपियाँमा आयात गरेर ठूलो अन्तर्राष्ट्रिय मुद्रा चीन पठाएको देखिन्छ । यसलाई विदेशी विनिमय ऐन, २०१९ अनुसार विदेशी मुद्रा दुरुपयोग मानिन्छ । साइमेक्सले नेपाली बजारमा १०औं हजार बीवाईडीका गाडी बिक्री गरिसकेको हुँदा ती गाडीमा सो सिम कार्ड प्रयोग भएको अनुमान गरिएको छ । सिम कार्ड आयातसँगै बीवाईडीका गाडीमा राखिएको डिभाइसले डेटा सिधंै चीनमा पठाउन सक्छ ।

नेपाली उपभोक्ताहरूका गाडी चलाउने डेटा मात्र होइन, सुरक्षा निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूको डेटा पनि जोखिममा पर्छ । सिम कार्डमा रहेको नेटवर्क र डेटा ट्रान्समिसन क्षमता प्रयोग गरेर, उपभोक्ताको लोकेसन, कल डिटेल, गाडी चलाउने व्यवहार र अन्य संवेदनशील जानकारी चीन पठाउन सकिने जानकारीहरु बताउँछन् । बीवाईडीमा चीन टेलिकमको सिम ‘इन बिउल्ड’ सिम कार्ड राखेर पठाएको र त्यसबाट प्रत्यक्ष डेटा जस्तै लाइभ लोकेसन, अडियो तथा भिडियोलगायतका जानकारी सिधैं चीन गइरहेको आशंका गरिएको छ ।

जसबाट नेपालको प्रचलित कानुनहरु दूरसञ्चार ऐन २०५३, भन्सार ऐन २०६४, विदेशी विनिमय ऐन २०१९, व्यक्तिगत गोपनियता ऐन २०१८ लगायतको उल्लंघन गर्दा पनि नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र नेपाल राष्ट्र बैंकजस्ता नियामक निकाय मौनजस्तै देखिएका छन् । जसले आर्थिक अनियमिताको चरम नमुनाको संकेत गर्दछ । यसबारेमा नेपाल समाचारपत्र दैनिकले कम्पनीको धारणाबारे बुझ्न साइमेक्स इंकका प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग ९८५११२..४४ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

श्रीलंकाले भन्सारमै रोक्यो
नेपालमा बीवाईडी छानविनमा तानिए पनि कारबाहीमा परेको छैन ।तर, अरु देशमा भने क्रमशः कारबाही भोग्दै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसा बीवाईडीले नेपालमा जस्तै श्रीलंकामा पनि कर छली गरेको छ । श्रीलंकाको भन्सार कार्यालयले मोटर क्षमता कम देखाएर कर तिर्नबाट जोगिएको भन्दै जुलाई २०२५ मा करिब १ हजारभन्दा बढी बीवाईडीका गाडी भन्सारमा रोक्दै अनुसन्धान सुरु गरेको छ ।

श्रीलंकास्थित बीवाईडीको आधिकारिक बिक्रेता जेकेसीजी अटोले १५० किलोवाट मोटर भएको गाडीलाई १०० किलोवाट, ७९ किलोवाटलाई ४९ किलोवाट घोषणा गर्दै आयात गर्दै आएको छ । यसरी मोटर क्षमतामा गडबडी गरी कम महसुल तिरेको थियो । श्रीलंकामा १०० किलोवाट क्षमताको गाडीमा करिब २४ लाख श्रीलंकाली रुपियाँ (१२ लाख नेपाली रुपियाँ) अन्तःशुल्क लाग्छ भने १५० किलोवाट क्षमताको गाडीमा कर ५४ लाख श्रीलंकाली रुपियाँ हुन्छ । कम्पनीले ७९ किलोवाटको डल्फिन डाइनामिकलाई ४९ किलोवाट, १५० किलोवाटको डल्फिन प्रिमियमलाई ९९ किलोवाट, १२० किलोवाटको एम–६ लाई १०० किलोवाट र १५० किलोवाटको सिल डाइनामिकलाई १०० किलोवाटको भनेर बिक्री गर्दै आएको आरोप पनि छ ।

यसअघि पनि बीवाईडी एट्टो–३ मोडेलका करिब १ हजार गाडी भन्सारमा रोकिएका थिए । तर, उक्त मुद्दा अदालतमा विचाराधीन रहँदा आयातकर्ताले करिब ३ अर्ब ६० करोड श्रीलंकाली रुपियाँ (१ अर्ब ८० करोड नेपाली रुपियाँ) बराबरको बैंक जमानत बुझाएर ती गाडी अस्थायी रूपमा ग्राहकलाई बिक्री गरेको थियो । श्रीलंकाको अदालतले मोटर क्षमताबारे अध्ययन गर्न त्यहाँको मोराटुवा विश्वविद्यालयका विज्ञसहितको समिति गठन गर्न आदेश दिइसकेको छ ।

परीक्षणका लागि श्रीलंकन प्राधिकरणले बीवाईडीका कार भन्सारमै राखेको छ । आयातकर्ताले भने नेपाल र सिंगापुरका लागि जस्तै, कम्पनीले कम क्षमताको भेरियन्टमा उत्पादन गर्ने गरेको दाबी अदालतमा प्रस्तुत गरेका छन् । यो विषय त्यहाँको संसदसम्म पुगेपछि श्रीलंकाली संसदको सार्वजनिक वित्त समितिमा भन्सार विभागका वरिष्ठ निर्देशक सीवाली अरुकगोदाले सबै गाडीहरू १०० किलोवाट मोटरसहित घोषणा भए पनि ती वास्तवमा १५० किलोवाट हुन सक्ने आशंका गरिएको प्रष्ट पारेका थिए । विपक्षी सांसद मुजिबुर रहमानले संसदमा नयाँ र पुराना बीवाईडी एट्टो–३ बीच करिब ४५ लाख रुपियाँ बराबरको कर असमानता रहेको तथ्य प्रस्तुत गरेका छन् । कर विवादका कारण ५ नोभेम्बर २०२५ मा सयौ बीवाईडीका ग्राहकले कोलम्बोमा प्रदर्शन गरेका थिए ।

इजरायली सैन्य क्षेत्रमा बीवाईडी प्रतिबन्ध

इजरायलका राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इजरायलको रक्षा मन्त्रालयले आफ्ना सबै सैनिक बेसमा चिनियाँ विद्युतीय गाडी बीवाईडीको प्रवेशमा प्रतिबन्ध लगाएको छ । गाडीभित्र रहेका क्यामेरा र सेन्सरमार्फत संवेदनशील डेटा चुहिने आशंकाका कारण यस्तो निर्णय गरिएको हो ।

सैन्य अधिकारी, नागरिक र कर्मचारीले समेत गाडी बेस बाहिर छुट्टै स्थानमा पार्क गर्नुपर्नेछ । यसअघि यो प्रतिबन्ध जिरिफिन नामक स्थानमा रहेको गिडियोनिम सिग्नल कोप्र्स परिसरलगायत सीमित क्षेत्रमा मात्र लागू गरिएको थियो, तर अहिले सम्पूर्ण सेनामा लागू गरिएको छ । इजरायली सेनाका कर्नेलहरूका लागि बीवाईडी एट्टो–३ विद्युतीय गाडीहरू किन्न खोजिएको थियो । तर, त्यस गाडीको विद्युतीय प्रणालीको छानबिन पश्चात् गत जुलाई महिनामा रक्षा मन्त्रालयले योजना रद्द गर्ने निर्णय गरेको हो ।

इजरायलमा बीवाईडी एट्टो–३ मोडललाई विशेष रूपमा उल्लेख गरिएको छ, जुन अफिसरहरूका लागि तय गरिएको थियो । तर यसको इलेक्ट्रोनिक्स जाँचपछि कहिल्यै प्रयोगमा ल्याइएन । यो निर्णय साइबर सुरक्षा र गुप्तचर अधिकारीहरूको दबाबमा लिइएको हो, जसले यस्ता गाडीहरूमा जासुसी उपकरण रहेको जसले भिजुअल, अडियो र बायोमेट्रिक डाटा चीनका सर्भरहरूमा पठाउन सक्ने आशंका गरिएको छ । यो प्रतिबन्ध २०२५ अगस्टदेखि लागू भएको हो ।

बेलायतमा पनि प्रतिबन्ध
इजरायलमा जस्तै बेलायतले पनि सन् २०२५ को शुरुदेखि नै सैन्य परिसरहरूमा चिनियाँ गाडी बीवाईडीको प्रवेशमा प्रतिबन्ध लगाएको हो । गाडीभित्र रहेका क्यामेरा र सेन्सरहरूले संवेदनशील सूचना संकलन गरी बाह्य सर्भर वा विदेशी पक्षलाई पठाउन सक्ने जोखिम उल्लेख छ । यसलाई इजरायलको निर्णयसँगै मेल खाने कदमका रूपमा पनि हेरिएको छ । त्यहाँको कन्जरभेटिभ पार्टीका सांसदहरूले सैन्य र सरकारी तहबाट बीवाईडीलाई पूर्ण रूपमा हटाउन माग गरेका छन् ।

अस्ट्रेलियामा उच्च निगरानी
बीवाईडी कम्पनीको विद्युतीय गाडीमा रहेको सिम कार्डलाई बाहिरी व्यक्तिले डायल गर्दा, कारभित्रको संवाद (अडियो) तुरुन्तै फोनमा सुन्न सकिने तर गाडीको टच स्क्रिन वा डिजिटल डिस्प्लेमा कुनै कल भइरहेको संकेत देखिँदैन । साथै गाडी आफैंबाट कल बन्द गर्न सम्भव थिएन, स्टेरिङ ह्वील र एन्सर ह्याङ बटमहरूले पनि काम गरेनन् । गाडी बन्द भए तापनि कल जारी हुने लगायतका समस्या दोहोरिन थालेपछि बीवाईडीको अष्ट्रेलियाले वितरक ईभी डाइरेक्टले टेस्लासँग मिलेर समस्या समाधानमा लाग्ने बताए पनि समाधान भएको छैन ।

उक्त घटनाले राष्ट्रिय सुरक्षा र गोपनीयता गम्भीर चिन्ता उत्पन्न गराएको जनाइएको छ । बीवाइडीको ईभीमा क्यामेरा, माइक्रोफोन, जीपीएस जस्ता प्रविधिले प्रयोगकर्ताको गोपनीयता र राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने सम्भावनाको दृष्टान्त प्रस्तुत गरेको छ । अष्ट्रेलिया सरकारले अझैसम्म कुनै पूर्ण प्रतिबन्धको निर्णय नगरे पनि सर्तक रूपमा रहँदै नजिकबाट निगरानी गरिरहेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सुरक्षा जोखिम हुने चेतावनी दिएका छन् । कम्पनीले गाडी प्रयोगकर्ताको व्यक्तिगत डेटा बाहिर नपठाइएको तर प्रविधिको त्रुटिका कारण यस्तो देखिएको प्रतिक्रिया दिएको माई इलेक्ट्रिक स्पार्कले जनाएको छ । बीवाईडीले अस्ट्रेलियामा ५५ भन्दा बढी मोडलहरू उपलब्ध गराउने योजना बनाएको छ ।

दक्षिण कोरिया सर्तक
दक्षिण कोरियामा बीवाईडीको एट्टो–३ मोडेलमा रहेको ओटीए (ओभर द एयर) सफ्टवेयर अपडेट र नेभिगेसन प्रणालीका कारण चालक तथा सामाजिक रूपमा संवेदनशील डेटा चीनमा पठाइने आशंका रहेको भन्दै चिन्ता व्यक्त गरिएको द कोरियन टाइम्सले जनाएको छ । सुरक्षा जोखिम (जस्तै डाटा लिक) का कारण सरकारले काउन्टरभेलिङ ड्युटिज लगाउने सम्भावना व्यक्त गरिएको छ ।

भारतमा लगानी नै अस्वीकृत
भारतले चिनियाँ कम्पनी बीवाईडीले सन् २०२४ मा प्रस्ताव गरेको १ अर्ब डलरको संयुक्त लगानी योजना अस्वीकृत गरेको छ । सुरक्षाको कारण देखाउँदै भारतले बीवाईलाई प्रवेशमा रोक लगाएको इकोनोमिक्स टाइम्सले जनाएको छ । सरकारले कम्पनीको अस्पष्ट स्वामित्व संरचना र सम्भावित सैन्य सम्बन्धलाई पनि जोखिमको रूपमा उल्लेख गरेको छ । भारतमा बीवाईडीको विस्तारमा सबैभन्दा बढी प्रतिबन्धहरु छन् ।