काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय (टीयू) मा नक्कली पीएचडी देखाएर सह–परीक्षा नियन्त्रक नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दा दायर हुनेमा झुटो विद्यावारिधि दाबी गर्ने सहप्राध्यापक डिल्लीराम प्रसाईं र उनलाई छनोटमा सिफारिस गर्ने तीन प्राध्यापक छन्।
अख्तियारका अनुसार सह–परीक्षा नियन्त्रक छनोट समितिमा रहेका संयोजक प्रा. डा. जया लक्ष्मी प्रधान तथा सदस्यहरू प्रा. डा. मोतिलाल शर्मा र प्रा. डा. मेधराज पोखरेलले प्रसाईंको झुटो विवरण स्वीकार गरेर अनुचित लाभ दिलाउने भूमिका खेलेका छन्। प्रसाईंले पीएचडी नगरी आफूलाई ‘डा.’ लेखेर आवेदन दिएका थिए र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएको झूटो प्रमाणपत्रसमेत पेश गरेका थिए।
टीयूले एक वर्षअघि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन खुलेपछि छ जनाको आवेदन परेको थियो। प्रतिस्पर्धीमध्ये प्रसाईंले विद्यावारिधि गरेको भनी अतिरिक्त अंक पाउने लाभ लिन झुटा कागजात तयार पारेको खुलेको छ।
अनुसन्धानबाट प्रसाईंले २७ भदौमा अन्तिम मौखिक परीक्षा मात्र दिएको तर उपाधि स्वीकृत नभएको पुष्टि भएको छ। डीन कुशुम शाक्यको अध्यक्षतामा बसेको अनुसन्धान समितिले पनि प्रसाईंको पीएचडी अन्तिम रूपमा स्वीकृत नभएको निर्णय गरेको थियो। उनलाई २९ माघमा मात्र विद्यावारिधिको उपाधि प्राप्त भएको र त्यसअघि नै झूटो दाबी गरिएको अख्तियारले जनाएको छ।
नपाएको उपाधि पाएको झुटो दाबी, कागजात पेश गरी पदको लाभ लिन खोजेको तथा झुटो विवरण स्वीकार गर्ने समितिका सदस्यहरू सहभागी भएको हुँदा चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले स्पष्ट गरेको छ।











प्रतिक्रिया