काठमाडौँ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति सुशीला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहन सम्भव नरहेको बताएकी छिन् । बुधबार त्रिवि सभा बैठकमा सम्बोधन गर्दै उनले विश्वविद्यालयको कुलपतिबाट प्रधानमन्त्रीलाई हटाउनुपर्ने आवश्यकता औँल्याइन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन यस विषयमा काम गरिरहेको जानकारी दिँदै उनले भनिन्, ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन। राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन।’
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सभाले नै कुलपति चयन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी बोकेर हिँडेर हुँदैन। भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो, हुर्केपछि आफैँ बढ्छ।’
अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको उनको तर्क थियो। उनले भनिन्, ‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ, तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन। राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ।’
त्रिवि सभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरिसकेको छ । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले स्वआर्जन गर्नेतर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिइन् । उनले भनिन्, ‘सधैँ सरकारको मात्र आश गरेर हुँदैन । शैक्षिक कार्यक्रमहरू त्यसैअनुसार बनाएर पनि विश्वविद्यालयले आर्जन गर्न सक्छ। शिक्षक र विद्यार्थी मिलेर विश्वविद्यालयमै कमाइ गर्न सक्छन्।’











प्रतिक्रिया