जनकपुरधाम।
मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
सरकारका अनुसार १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक तह उत्तीर्ण भई कुनै रोजगारमा संलग्न नभएका युवा भत्ताका लागि पात्र हुनेछन्। प्रदेशभर करिब १ लाख ५० हजार बेरोजगार स्नातक युवालाई यस योजनाबाट लाभ हुने अनुमान छ। युवालाई भत्ता वितरणका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ।
यस्तै, खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ राहत दिने निर्णय पनि बैठकले गरेको छ। किसान राहत कार्यक्रमका लागि झण्डै ३६ करोड रुपैयाँ लाग्ने मुख्यमन्त्री यादवले बताए।
मधेस प्रदेशका किसान यस वर्ष लामो समयको खडेरीपछि असोजमा परेको अविरल वर्षाबाट पुनः डुबानमा परेका थिए। मनसुन अवधि पूरा नहुँदै लामो समय पानी नपरेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।











प्रतिक्रिया