नवनियुक्त मुख्य सचिव अर्यालद्वारा पदबहाली लगत्तै २५ बुँदे ‘रोड म्याप’ पेस

प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्स बनाउने, विकास निर्माण र सेवा प्रवाहलाई विशेष जोड दिने

11.56k
Shares

-२१ फागुनको निर्वाचनलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने

-निजामती सेवाको साखलाई अभिवृद्धि गरी मुलुकको रुपान्तरणको मियोको रुपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने प्रतिबद्धता

-मुख्य सचिव अर्यालले व्यक्त गरे  देश र प्रशासन सुधार्ने दर्जनौँ प्रतिबद्धता

काठमाडौँ।

नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष समारोहका बीच पदबहाली गर्नुभएको छ । 
 पदबहाली गरेलगत्तै  आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले केही प्रतिबद्धतासहितका २५ बुंदे ‘रोडम्याप’ समेत पेस गर्नुभएको छ ।

 सरकारका सबै सचिवहरु तथा उच्च पदस्थ कर्मचारीहरु संलग्न रहनुभएको सो कार्यक्रममा नवनियुक्त मुख्य सचिव अर्यालले केही प्रतिबद्धता सहितका आफ्ना ‘रोडम्या’ पेस गर्नुभएको हो  । साथै सो रोडम्यापमा उहाँले विभिन्न मन्त्रालय र  निकायको प्रशासनिक नेतृत्वको रुपमा रहनुभएका सचिव तथा सम्पूर्ण कर्मचारीले अख्तियार गर्नुपर्ने नीति योजना र कार्यहरुलाई समेत समेट्नुभएको छ । 

 नवनियुक्त मुख्य सचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्तरोन्नति र क्षमता विकास गरी यसलाई ‘सेन्टर अफ एक्सिलेन्स’ को रुपमा स्थापित गर्दै विकास निर्माण र सेवा प्रवाहको नियमित अनुगमन मूल्यांकन र प्रतिवेदन तयार गरी नियमित सुधार गर्ने गराउने प्रभावकारी निकायको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरी मुख्य सचिव अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगमा रहेका अनुगमन तथा सहजीकरण संयन्त्रलाई थप क्रियाशील बनाउने दृढता व्यक्त गर्दै निजामती सेवालाई व्यवसायिक बनाउने क्रममा राष्ट्रसेवकहरुको क्षमता विकास, नैतिकता प्रवर्धन , जबाफदेहिता अभिवृद्धि र नेतृत्व क्षमता विकासको लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । 

नवनियुक्त मुख्य सचिव अर्यालले सरुवा प्रणालीलाई स्वचालित र समयबद्ध तथा बढुवालाई पूर्व अनुमानयोग्य बनाउन  प्रयत्न गर्ने र निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गराउन आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री कार्यालयमा रहेको नतिजा व्यवस्थापन महाशाखालाई प्रभावकारी बनाउदै विकास आयोजना कार्यान्वयनमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्ने परिपाटीलाई थप चुस्त बनाउने , विकास निर्माण कार्यलाई द्रुत  र निर्धारित समयमा नै सम्पन्न गर्न सहयोग पु¥याउन यस सम्बन्धी छुटै ऐनको मस्यौदा तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो । साथै उहाँले छिमेकी राष्ट्रहरु सहित नेपाल सँग दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरुसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न जोड दिने प्रतिबद्धता जनाउनुभयो । 

  मुख्य सचिव अर्यालले वर्तमान सरकारको सबैभन्दा ठुलो दायित्व र प्राथमिकता आगामी फागुन २१ को निर्वाचनलाई सम्पन्न गराउनु रहेकाले यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, लगायत सुरक्षा सँग जोडिएका सबै मन्त्रालय र निकायहरुबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन सबै पक्ष प्रतिबद्ध रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

अर्यालले आफ्नो जिम्मेवारी र अधिकार क्षेत्र भित्रको विषयमा समयमा नै निर्णय गर्ने , ढिलाइ नगर्ने, नपन्छाउने कार्य गर्न सचिवहरुलाई आग्रह गर्नुभयो । यसैगरी उहाँले सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयहरुले अनलाईन सेवाबीच अन्तर आबद्धता कायम गरी सेवावग्राहीलाई पटक पटक सरकारी निकायमा पेस गरेको डकुमेन्ट पुन अर्को ठाउँमा पेस गर्नुनपर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो ।

 यस्ता छन् नयाँ मुख्य सचिव अर्यालका प्रतिबद्धता र आग्रह

-वर्तमान चुनौतीपूर्ण अवस्थालाई निस्वार्थ र निस्पृह भावले सम्हाल्न प्रतिबद्ध हुनेछु।

-निजामती सेवाको साखलाई अभिवृद्धि गरी यसलाई सुशासन, सेवाप्राह, विकास निर्माण र मुलुकको समग्र रुपान्तरणको मियोको रुपमा स्थापित गर्न अहोरात्र क्रियाशील हुनेछु ।

-देशको गौरव र प्रतिष्ठा वृद्धि एवं नागरिक सन्तुष्टि अभिवृद्धि नै मेरो कार्यकालको सर्वोपरि लक्ष्य हुनेछ ।

-मेरो सम्पूर्ण शक्ति, सामर्थ्य , ज्ञान र अनुभव सार्वजनिक सेवालाई चुस्त र नागरिक मैत्री बनाउँदै प्रशासनलाई विकास र नतिजामुखी तुल्याउन केन्द्रित हुनेछु।

-देश संवेदनशीलताबाट गुज्रिएकाले विगतमा जस्तो ढिलासुस्ती सह्य हुँदैन । सबैले नतीजामुखी कार्यशैलीमा ध्यान दिनै पर्छ ।

-हामी सबै निजामती कर्मचारीहरु आफ्नो कर्तव्य जिम्मेवारी र दायित्व प्रति सदैव समर्पित हुन सक्नुपर्छ । 

-हामी सबैजना शासक होइन सेवक र जनताको शोषक र पीडकको रुपमा होइन पोषक र रक्षकको रुपमा उभिनुपर्छ । 

-राज्यका अन्य क्षेत्रमा राम्रो प्रभाव पार्न पनि निजामती सेवा अरुभन्दा अब्बल, अनुशासित, मर्यादित र परिणाममुखी हुन जरुरी छ ।

-आम जनताको नजरमा निजामती सेवा भनेको अल्छी, जुम्स्याहा, जिम्मेवारी लिन नचाहने, काम पन्छाउने , झुलाउने , राष्ट्र र जनताको सेवा भन्दा पनि आफ्नै सेवा, सुविधा र अवसरको लागि मात्रै केन्द्रित हुने गरेको आरोपबाट मुक्त हुनुपर्छ । 

-कर्मचारी सरुवा र पदस्थापनमा देखिएका अस्वस्थ्य खेल हटाउनै पर्छ ।

-जनताका गुनासोका  तत्काल सम्बोधन गर्न हेलो सरकारलाई प्रभावकारी बनाइने छ । 

-प्रशासनिक खर्चमा उच्च मितव्ययिता अपनाइने छ ।

-सार्वजनिक सेवामा गुणात्मक सुधार अत्यावश्यक छ ।

-निजामती कर्मचारीहरु राजनीतिक आस्था र गुटमा किमार्थ पनि विभाजित हुनुहुदैन् । 

-अमूक दल वा प्रणालीले नचिनेका व्यक्तिसँगको सामीप्यताले निजामती सेवा शिथिल भएकाले त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ । 

-कर्मचारीको कार्यशैली र नैतिकतामा आएको ह्रासले निजामती प्रशासन जनताको नजरमा गिर्दो अवस्थामा पुगेकाले असल कार्य संस्कृति र नैतिकवान् हुनैपर्छ  ।

-हामी मुहानमा बसेकाहरु सफा, इमान्दार र स्वच्छ बनौँ ।

-सबै जना अनुशासन र चेन अफ कमान्डमा बस्नैपर्छ ।

-राजनीतिक तटस्थता र संविधान तथा संवैधानिक मूल्य मान्यताप्रतिको अटल प्रतिबद्धता हाम्रा आदर्श हुनुपर्छ ।

-संघीयताको प्रभावकारी कार्यान्वयन हामी सबैको केन्द्रबिन्दु रहनुपर्छ ।

-जेनजी पुस्ताको मनोभावनलाई सधैं शिरोपर गर्दै अघि बढौं ।

-मुख्य सचिवको रुपमा मेरो व्यक्तिगत स्वार्थ, एजेण्डा केही छैन, हुँदैन । देशको नवनिर्माण र प्रशासनको आमूल रुपान्तरण मेरो लक्ष्य। 

-भ्रष्टाचार मुक्त सुशासनयुक्त शासन व्यवस्था कायम गर्न हामी सबै एक हौं ।

-भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गरौँ । बिचौलियावादबाट पुर्णत मुक्त बनौँ ।

-विकास निर्माण कार्यमा गुणस्तरीयता सुनिश्चित गरौँ ।

-राज्यलाई दीर्घकालिन दायित्व सिर्जना हुने गरी अनावश्यक संरचना र दरबन्दी सिर्जना नगरौं ।

-देशलाई ग्रेलिष्टबाट मुक्त गराउन सबैजना अग्रसर बनौँ।

-संघे शक्ति कलौ युगे अर्थात् म सधै टिमवर्कमा विश्वास गर्छु।

-निजामती सेवालाई सुशासन, सदाचार र सार्वजनिक सेवाको मियोको रुपमा स्थापित गर्न एवं नयाँ नेपाल निर्माणको कुशल सारथि र संवाहक बन्न हरपल प्रयासरत रहनेछु ।