काठमाडौँ।
काठमाडौँ उपत्यकामा ४० वर्षभन्दा माथिका बासिन्दाको आँखा स्वास्थ्य स्थितिबारे हालसम्मकै व्यापक तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल आँखा कार्यक्रम र तिलगंगा इन्स्टिट्युट अफ अफ्थाल्मोलोजीले २०२२ देखि २०२४ सम्म सञ्चालन गरेको काठमाडौँ आँखा अध्ययनले आँखाका रोग, जोखिम कारक, सेवा पहुँच, जनचेतना तथा आँखादानप्रतिको धारणा जस्ता महत्त्वपूर्ण सूचकहरूको अवस्था पहिलो पटक व्यवस्थितरूपमा सार्वजनिक गरेकोछ । उक्त अध्ययनका निष्कर्षहरूमा सहर क्षेत्रमा आँखा स्वास्थ्य नीतिलाई वैज्ञानिक प्रमाणको आधारमा पुनरावलोकन र सुधार गर्न निर्णायक हुने अपेक्षा गरिएको छ ।
नतिजा सार्वजनिक गर्ने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिकास देवकोटाले अध्ययनले सरकारका लागि आवश्यक प्रमाण–आधारित जानकारी दिएको भन्दै खुशी व्यक्त गरे । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइटले यस किसिमका अनुसन्धानले अन्धोपन न्यूनीकरणमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गर्दै निरन्तर अध्ययनको आवश्यकता औंल्याए । कार्यक्रममा प्रमुख अनुसन्धानकर्ता डा. रिता गुरुङसहित डा. मोहन कृष्ण श्रेष्ठ, मनिस पौडेल तथा प्रतिभा न्यौपानेले अध्ययनका मुख्य निष्कर्ष र देखिएका अवस्था बारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा काठमाडौँ जिल्लामा पहिलोपटक गरिएको व्यापक आँखा स्वास्थ्य अध्ययनले राजधानीवासीमा दृष्टिदोष, अन्धोपन, मधुमेहसम्बन्धी आँखाका जटिलता तथा अन्य दीर्घरोगजन्य आँखा समस्याको दर उच्च रहेको देखाएको छ । तिलगंगा नेत्र विज्ञान संस्थानले सञ्चालन गरेको काठमाडौँ आँखा अध्ययनले ४० वर्षभन्दा माथिका प्रायः सबै सहभागीमध्ये कुनै न कुनै आँखा रोग भेटिएको तथ्य सार्वजनिक गरेको हो ।
भिजन २०२० कार्यक्रम सम्पन्न भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २०१९ मा प्रस्तुत गरेको “दृष्टि सम्बन्धी विश्व प्रतिवेदन” मार्फत २०३० सम्मको विश्वव्यापी आँखा स्वास्थ्य लक्ष्य तय गरेको थियो । एकीकृत जन–केन्द्रित आँखा हेरचाह ((आईपीईसी) मोडेलमार्फत प्रभावकारी अपवर्तक त्रुटि कभरेज, प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज तथा मधुमेह रेटिनोप्याथी उपचार कभरेज विस्तार गर्ने लक्ष्य नेपालले २०२१ देखि अपनाएको छ । यसै सन्दर्भमा काठमाडौँ जिल्लामा आँखा रोगहरूको वर्तमान अवस्था, जनस्तरमा देखिएका जोखिम कारक र स्वास्थ्य खोजी व्यवहार बुझ्न यस अध्ययन सञ्चालन गरिएको थियो।

अध्ययनका लागि काठमाडौँमा कम्तिमा ६ महिना बसोबास गरेका ४० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई लक्षित गरिएको थियो । ५,३९६ को नमूना निर्धारण गरी क्लस्टर नमूना प्रविधि प्रयोग गरिएको यो क्रस–सेक्शनल अध्ययन तिलगंगा नेत्र विज्ञान संस्थानमा मात्रात्मक विधिबाट सम्पन्न गरिएको हो । सहभागीहरूलाई विस्तृत आँखा परीक्षण तथा सामान्य स्वास्थ्य जाँचका लागि संस्थानमै ल्याइएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक स्वीकृतिपछि प्रशिक्षित स्वास्थ्यकर्मीहरूले प्रत्यक्ष अन्तर्वार्ता, स्वास्थ्य परीक्षण तथा मानक उपकरणमार्फत आँखा परीक्षण गरेका थिए ।
अध्ययनमा ४,९९० जनाले सहभागिता जनाए, जसमा ६३.१% महिला थिए । सहभागीहरूमध्ये करिब आधा जनजाति समुदायका थिए भने ८३.७% हिन्दू धर्मावलम्बी थिए । साक्षरता दर ७२.९% देखियो, र ४२.६% दैनिक ज्यालादारी मजदुर रहेका थिए ।सबैभन्दा महत्त्वपूर्ण तथ्य — ९७.७% सहभागीमा कम्तीमा एक किसिमको आँखा रोग पत्ता लाग्यो ।
अन्धोपनका ४१.७% केस मोतियाबिन्दुका कारण देखिए भने दृश्यदोषमध्ये लगभग ८०% अपवर्तक त्रुटिका कारण भएको पाइयो । यसले राजधानीमा अपवर्तक त्रुटिको समयमै उपचार तथा चश्मा पहुँच अभाव अझै चुनौती रहेको देखाउँछ ।
सामान्य स्वास्थ्य पक्षमा, ६९.४% मा उच्च रक्तचाप र ४७.२% मा मधुमेह भेटियो, जसले जीवनशैलीजन्य रोग (एनसीडीएस) को बढ्दो प्रभाव आँखा स्वास्थ्यमा समेत परेको प्रमाणित गर्छ । उच्च रक्तचाप भएका मध्ये १% मा रक्तचाप रेटिनोप्याथी देखियो भने मधुमेह भएका सहभागीमध्ये ७.३% मा मधुमेह रेटिनोप्याथी थियो । नयाँ पहिचान भएका मधुमेहीहरूमध्ये १.६% मा समेत रेटिनोप्याथी भेटिनु राजधानीमा अव्यक्त मधुमेह दर उच्च रहेको संकेत हो । त्यसैगरि अध्ययनले अधिक तौलको दर पनि उच्च देखायो—४३.५% अधिक तौल र २३% मोटो, जसले आँखा तथा मुटु–नसासम्बन्धी रोगका जोखिम बढाएको बताइन्छ ।

यो अध्ययनले काठमाडौँमा मोतियाबिन्दु, अपवर्तक त्रुटि, मधुमेह रेटिनोप्याथी, ग्लुकोमा र उमेरसम्बन्धी म्याकुलर डिजेनेरेशन जस्ता रोगहरू उच्च दरमा रहेको स्पष्ट गरेको छ । तीव्र शहरीकरण, जीवनशैली परिवर्तन, मधुमेह–रक्तचापको बढ्दो दर र धेरैले नियमित आँखा परीक्षण नगर्ने प्रवृत्तिले जोखिम थपिएको अध्ययनले देखाएको छ । विशेषज्ञहरूका अनुसार यी तथ्यले राजधानीमै आँखा स्वास्थ्य सेवाको अधिक पहुँच, नियमित स्क्रिनिङ कार्यक्रम र आईपीईसी मोडेलअन्तर्गत दीर्घरोग व्यवस्थापन मजबुत बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछ ।











प्रतिक्रिया