त्रिपुरासुन्दरी भगवती जात्रा : वर्षमा तीन ठाउँ बस्ने अनौठो परम्परा,  त्रिपुरासुन्दरीको खड्गले नेपाल एकीकरण इतिहास

1.13k
Shares

धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित सल्यानकोटबाट शनिबार सुरु  भएको त्रिपुरासुन्दरी भगवतीको जात्रा आइतबार सल्यानबेसीमा न्वागी खाएपछि सम्पन्न भएको छ ।

शक्तिपीठ, इतिहास र लोकविश्वासको अनौठो संगम मानिने यो जात्रा वर्षेनी हजारौँ भक्तजनलाई आकर्षण गर्ने मात्र होइन, देवीप्रतिको श्रद्धा, गाउँको पहिचान र धार्मिक आस्थाको केन्द्र बन्ने गरेको छ । यश क्षेत्रमा त्रिपुरासुन्दरीले माइतिघरमा न्वागी खाएपछिमात्र गाउँ बासीले न्वागी खाने गर्छन् ।

   शनिबार  साँझदेखि रातभर गरिने विशेष पूजापाठपछि आइतबार बिहानै देवीको प्रतीकलाई सल्यानकोटको मन्दिरबाट सल्यानबेसीस्थित मन्दिर ‘माइतीघर’मा झार्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ।

oplus_0

प्रायः देवीदेवताको दर्शन गर्न भक्तजनले मन्दिर चढ्नुपर्छ, तर यस जात्रामा भक्तजन बाटैमै बसेर देवीलाई पिठ्युँमा बोक्दै ल्याइँदै गरेको दर्शन गर्न पाउँछन्। देवीको मूर्ति हेर्न भने पाइँदैन, र मूर्ति छुन पाउने अधिकार मुख्य पुजारीलाई मात्र हुन्छ। यो कठोर धार्मिक विधि र परम्परागत विश्वासका कारण जात्राको अध्यात्मिक महत्त्व अझै बढेको देखिन्छ। त्रिपुरासुन्दरीको मुर्ती पुजारी र भक्तजनले हेर्न नपाईने परम्परा र चलन छ ।

मुख्य पुजारी राना मगर थरका व्यक्तिले खाली खुट्टै तीन घण्टासम्मको उकालो–ओह्रालो, भीरालो र जङ्गली बाटो पार गर्दै देवीलाई बोकेर बेसीसम्म ल्याउँछन्। देवीलाई वर्षमा तीन स्थानमा राखेर पूजा गरिने परम्परासमेत अनौठो छ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देवीलाई सल्यानकोटस्थित पूर्वपट्टिको मन्दिर (मामाघर) मा राखिन्छ। त्यसपछि पश्चिमपट्टिको अर्को मन्दिरमा आठ महिनाभन्दा बढी पूजा हुन्छ, र मङ्सिरमा विशेष साइत हेरेर देवीलाई सल्यानबेसीस्थित माइतीघर झारिन्छ। फागुनमा पुनः साइत मिलाएर देवीलाई सल्यानकोटस्थित मूल घर लगिन्छ। यस्तो रोचक बसाइ–सराइ व्यवस्था भने अरू शक्तिपीठमा दुर्लभ मानिन्छ।

देवीलाई बेसी झार्ने यात्रामा पञ्चेबाजा, खुडा–खुकुरी, शंख, घण्ट, अविर, दियो–कलश र भक्तजनका जयजयकारले वातावरण पूर्णतः आध्यात्मिक तरंगले भरिन्छ।

बाटोभरि बसेका भक्तजन देवीको आगमनमा हात जोडेर श्रद्धा व्यक्त गर्छन्। त्रिपुरासुन्दरी गाउँपालिकाका राजु उप्रेतीका  अनुसार देवीको मूर्ति हेर्न नपाइने, नछुने र बाटोमै पूजा गर्ने चलन शताब्दीयौँ पुरानो सांस्कृतिक मूल्य हो जुन समुदायले आजसम्म जस्ताको तस्तै जोगाइराखेको छ। गाउँ पालिकाले आइतबार पालिकाभर सार्वजनिक बिदा समेत दिएको छ ।

त्रिपुरासुन्दरी भगवतीको उत्पत्ति शक्तिपीठ कथासँग गाँसिएको छ। सतीदेवीको शरीरका अङ्गहरू पृथ्वीका विभिन्न भागमा पतन हुँदा शक्तिपीठको निर्माण भएको र त्रिपुरासुन्दरी भगवतीको हालको उद्यान क्षेत्र (फूलबारी) मा सतीदेवीको कण्ड्याउलो पतन भएको उल्लेख स्कन्धपुराण र स्वस्थानी व्रतकथामा पाइन्छ। यही पहरामा आजको मन्दिर निर्माण हुनु स्थानीय किंवदन्तीसँग जोडिन्छ। कथनअनुसार पुजारी परिवारका पुर्खालाई देवीले सपनामा आफू रहेको स्थान देखाइदिएपछि मूर्ति पहराबाट निकालेर पूजारम्भ गरिएको भनाइ छ।

इतिहासकारहरूले गोरखाका रामशाहको पालामा मन्दिर निर्माण भएको बताउँछन्, जसले गोरखा राज्य विस्तारका क्रममा नुवाकोटसम्म शासन फैलाएका थिए।

त्रिपुरासुन्दरी भगवतीको जात्रा नेपालको राजनीतिक इतिहाससँग पनि जोडिएको छ। गोरखाबाट नुवाकोट विजयको तयारी भइरहँदा पृथ्वीनारायण शाह सल्यानकोट पुगेका थिए। त्यही बेला देवीले बालिकाको रूपमा सपनामा उपस्थित भई खड्ग दिएको उल्लेख स्वयं उनकै दिव्योपदेशमा छ । यो खड्ग ‘एकीकरणको संकेत’का रूपमा लिइन्छ। त्यसपछि पृथ्वीनारायण शाहले सल्यानटारमा देवीको नाममा जमिन, राँगा र बोका चढाएको इतिहास पनि पुराना ऐतिहासिक कागजातमा भेटिन्छ। स्थानीय ‘पाकाहरू’का भनाइअनुसार नेपाल एकीकरणमा त्रिपुरासुन्दरीको खड्गले मार्ग निर्देशन गरेको जनविश्वास आजसम्म जीवित छ।

oplus_0

सल्यानबेसीमा त्रिपुरासुन्दरी गाउँ पालिकाद्वारा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु उप्रेतीले मेलाले धार्मिक, साँस्कृतिक र पर्यटकीय विकासमा सहयोग पुगेको बताए ।

कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रामकृष्ण धरेल, वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

त्रिपुरासुन्दरी माइको महिमा, महत्त्व माथि चर्चा गरिएको छ ।