फोहोर व्यवस्थापन समस्या छिट्टै सुल्झाऊ


स्थानीयवासीको ढिटका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । हाताहाती माग पूरा गर्नुपर्ने भन्दै स्थानीयले दुई दिनदेखि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न रोक लगाएका छन् । स्थानीय धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयले तीन वर्षअघि भएको १८ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दै फोहोर रोकेका छन् ।

स्थानीयले फोहोरमा राजनीति गर्दा समस्या बढेको मात्र छैन, उपत्यकाका स्थानीयको फोहोर सडकमा थुप्रिन थालेको छ । १७ दिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङ ल्यान्डफिल साइटमै पुग्नुभएको थियो । त्यस बेला स्थानीय र मन्त्रीबीच तत्काल सम्झौता कार्यान्वयन गर्ने मौखिक सहमति भएको थियो । सहमतिलगत्तै काम शुरु भइरहँदा १५ दिन कुरेर बसेका स्थानीयले १६ औँ दिनबाट फोहोर विसर्जन बन्द गराएका थिए । लगत्तै मन्त्री घिसिङले स्थानीयसँग कुरा गर्नुभएको थियो । बुधबार रातिसम्म वार्ता भए पनि माग पूरा हुन सकेन ।

स्थानीयले स्रोत सुनिश्चित गरी तत्काल काम शुरु गर्न आग्रह गरेका थिए तर सरकारले क्रमागतरुपमा काम गर्दै जाने बताएको थियो । मन्त्री घिसिङले स्थानीयको सबै माग तत्काल पूरा गर्न नसक्ने बताउनुभएको थियो । माग पूरा गर्ने विषयमा सरकार र स्थानीय दुवै पक्ष एक हुन नसक्दा समस्या बढेको छ । हुन त वार्ता र संवादबाट समस्या समाधान होला नै । तैपनि असम्भव माग राखेर लगातार आन्दोलन गर्नु उचित हुँदैन । मन्त्री घिसिङको निर्देशनमा स्थानीयको माग पूरा गर्ने विषयमा दैनिक बैठक बसिरहेको छ । शहरी विकास विभाग, कामपा, ल्यान्डफिल साइट परियोजना हेर्ने अधिकारीले स्थानीयको माग सम्बोधन गर्न सबै प्रक्रिया पूरा गरिसकेका थिए । तैपनि स्थानीयले आफूहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै ल्यान्डफिल साइटमा अवरोध गरेका छन् ।

स्थानीयहरु बन्चरेडाँडाका बस्तीहरूलाई तीनदेखि चार हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना शुरुआत गर्नुपर्ने, गुठी संस्थानको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्नेलगायत मागहरू राखेर निरन्तर आनदोलनमा छन् । स्थानीयको माग पूरा गर्न कामपाले दुई महिनाभित्र लिचेड व्यवस्थापन गर्ने, लिचेड ट्रिटमेन्ट प्लान्ट स्थापना गर्न चालू आवमा ३ करोड बजेट विनियोजन भएको, फोहोर ढुवानी गर्ने गाडीबाट बाटोमा लिचेड नचुहिने व्यवस्था गर्न सवारीसाधनमा लिचेड ट्याङ्की राख्ने व्यवस्था गरेको लगायतका सम्झौताअनुसार काम निरन्तर गरिरहेको छ ।

कामपाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न ५ वर्षमा १ अर्ब ५३ करोड रुपियाँ खर्च गरिसकेको छ । ५ वर्षमा साइट निर्माण, बाटो निर्माण, मुुआब्जा वितरण, क्षतिपूर्ति, शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा १ अर्ब ५३ करोड २५ लाख ५३ हजार रुपियाँ खर्च भएको छ । तर स्थानीयले माग पूरा नभएको बहानामा लगातार आन्दोलन गरिरहेका छन् । वार्ता र संवादबाट माग पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्छ । होइन भने दुवै पक्षले विकल्प खोजेर अघि बढ्नु आवश्यक छ ।