सुरक्षा परिषद्को आकस्मिक बैठक सुरु


काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले देशका विभिन्न स्थानमा बढ्दै गएको सुरक्षा संवेदनशीलता र आगामी निर्वाचन प्रभावित हुन सक्ने आशंकाबीच आकस्मिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरु भएको छ । परिषद् बैठकमा पछिल्ला घटनाक्रम, सुरक्षा स्थिति, निर्वाचन वातावरण तथा एन्त्रिक सुरक्षा संयन्त्रको तयारीबारे समग्र मूल्यांकन हुने बताइएको छ।

बाराको सिमरामा बुधबारदेखि जारी अशान्ति र झडपपछि स्थिति नियन्त्रण गर्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेनजी’ समूहबीच भएको झडपपछि बुधबार रातिदेखि कर्फ्यू लगाइएको थियो।

घटनामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित बिहीबार बिहानैदेखि जेनजी समूहले आन्दोलन चर्काएपछि कर्फ्यू अवधि राति ८ बजेसम्मका लागि पुनः थपिएको प्रशासनले जनाएको छ।

राजनीतिक दलहरूले शान्ति–सुरक्षा र निर्वाचनको विश्वासिलो वातावरणबारे उठाइरहेका प्रश्नलाई थप गम्भीर बनाउने गरी सिमरामा कर्फ्यू लगाउनुपर्ने अवस्था आएपछि प्रधानमन्त्री कार्कीले सुरक्षा परिषद् बैठक बोलाएको स्रोतले जनाएको छ।

यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा सरोकारमा प्रारम्भिक बैठक बसेको थियो।