संसारका मान्छेहरूले फेर्ने सासमा कुनै भेद हुँदैन । त्यस्तै भूगोल र भाषा फरक भए पनि साहित्यिक छाता एउटै हुन्छ । साहित्यलाई न त साँध सिमानाले छेक्छ, न त भिसा नै चाहिन्छ । चिनियाँ साहित्यकार मो यानले लेखेका कथा र उपन्यासिकालाई सर्वोत्तम श्रेष्ठले नेपालीमा अनुवाद गरेर नेपाली पाठकलाई चीनको प्रान्तहरूमा पु¥याउने काम गरेका छन् । चीनको शान्तुङ प्रान्तमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् ।

गाउँको परिवेशबाट उठ्न गरिएको ‘पहिलो प्रेम’ कथाभित्र अभाव र गरिबीका भेगाइहरू छन् भने भेडाको खोरजस्तो स्कुलको प्रसङ्गले धेरै अघिको कालखण्डतिर धकेल्छ । समकालीन विद्यार्थीहरूभन्दा उमेरले बढी र ज्यान पनि ठूलो भएको तु फङय्वी विद्यार्थीलाई दादागिरी र घमण्डी पात्रको रुपमा चित्रण गरिएको छ । छ औंला भएकी छात्रा र म पात्रलाई हेप्ने र पक्षपात गर्ने गरेबाट त्यो समयको शिक्षक र शिक्षा प्रणालीलाई यो कथाले उजागर गरेको पाइन्छ । स्कुलमा अलि ढिलो भर्ना भएकी नयाँ विद्यार्थी चाङ रोलान पढाइसँगै अन्य गतिविधिमा निपुण थिई ।
चाङले म पात्रलाई गुण लगाएबापत उसैको गालाजस्तो रातो स्याउ उपहार दिन्छ, तर चाङले अस्वीकार गरेको कथनले सानैमा गरिने एकतर्फी मायाको परिणामलाई देखाएको छ । बालमनोविज्ञानले सिर्जना गरेको सोच, विचार, चाहना र उत्ताउलोपनलाई गाउँले परिवेशमा उनेर शिक्षाप्रद सन्देश दिएको छ ।
अद्भुत जम्काभेट– काउमी तुङ्पेइसिङ गाउँमा रहेका आमाबाबुलाई भेट्ने तीव्र चाहनाले पाओतिङबाट रेल चढेर सदरमुकाममा राति पुग्छ । राति नै गाउँ पुग्ने विचारले मूलबाटो छोडेर चोरबाटो हिँड्दा पनि २० किमि पर्छ । खेत, जङ्गल, सुनसान झाडीको बाटो हिँडिरहँदा मनमा डर उत्पन्न भएपछि आफैँले आफैँलाई प्रश्न गर्छ– ‘के भूत हुन्छ ?, के तँ कम्युनिस्ट होइनस् ?, मालेको प्रशिक्षक भएर डराउँछस् ?’ उहिले सुनेका भूतप्रेतका विभिन्न कथाहरू दिमागभरि बोकेर गइरहँदा मिर्मिरेमा भाले बासेसँगै साइँला बाजेलाई भेट्छ । बाटोमा बाजेले भन्छ, ‘तिम्रो बाबुको पाँच युआन बाँकी थियो, त्यसको सट्टामा यो मुखनली लगिदेऊ’ भनेर हातमा थमाइदिन्छ । घर पुगेर चाउ (साइँला) बाजेले दिएको मुखनली दिँदा बुबाले छक्क पर्दै भन्छन्, ‘ऊ त केही दिनअघि मरिसक्यो त ।’ यस्तो लोककथाले प्रेतात्माको अन्धविश्वास र कम्युनिस्टहरू निडर हुन्छन् भन्ने बुझाउँछ ।
पारिवारिक कथामा चुल्ठो अति नै लामो भएकी श्रीमतीले छोरी पाएपछि व्यस्त भए पनि चुल्ठो राखिरहेको श्रीमान्लाई मन पर्दैन । श्रीमान्–श्रीमतीबीच ठाकठुक पर्नु स्वाभाविक नै हो । तर नारी मन न हो, सानो कुरामा श्रीमती ह्वाँह्वाँ रोएर छिमेकलाई राति असर पारेपछि उपप्रमुख माःले कार्यालयमा हुलाई पुँजीवाद र वर्गीय स्वतन्त्रताको कुरो उठाउँदै संगठन र पाटीको नियमभित्र राख्न खोजेको देखिन्छ । श्रीमती कुओ राति जोडले रुँदा मुखमा भान्टा कोचिदिएपछि शान्त त भई तर मानसिक अस्पतालमा धेरै महिना राखेर घर ल्याए । हु उपप्रमुखमा बढुवा भएपछि सञ्चारकर्मी य्वीले हुलाई आफ्नो बनाउन चाहन्छ र आफ्नो चुल्ठो काटेर दिई, तर घरमा श्रीमती कुओको चुल्ठो अझै उस्तै थियो । अन्त्यमा श्रीमान्ले कुओको चुल्ठो जबरजस्ती काटिदियो । परिवारभित्र सहज वातावरण बनाउन श्रीमान्–श्रीमतीको भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
सुनौलो कार्प माछा– नातिबाजेले माछा मार्ने क्रममा जालीमा कार्प माछा पारेको कथामा छिङ्छाओ तालभित्र चिन्चर केटी नै कार्प माछा भएको काल्पनिक कथाले डिजिटल पुस्ताको ध्यान खिच्न सक्छ । लौह बालक– रेलगाडी चल्न थालेकोमा उत्साह छ । बाआमा काममा गएपछि अर्कोतिर बालबच्चाको बिजोग हुनु पारिवारिक चुनौती देखिन्छ । बालकहरूको स्वभाव आ–आप्mनै पाराको हुन्छ । फलामे बालकलाई भेटपछि फलाम खान सिकेको फरक शैलीको कथाप्रसङ्गले सङ्गतअनुसारको फलमा एउटा बालकको जीवन भेटिन्छ ।
हवाई उडान– ४० बर्से दाइ होङ्सीलाई यान्यान नाम गरेकी भाउजू मिलाई दिई, बहिनीले । तर छ्याकटे अनुहार परेको श्रीमान् देखेर नयाँ दुलही यान्यान भागी । सबैले लखेट्दै लगेपछि यान्यान उड्दै–उड्दै गएर सल्लाको रुखमा थपक्क बसी । रातभर अनेक उपायहरू लगाए, तर तल झर्न मानिनन् नयाँ दुलही । आखिर धनुवाण हानेर तल झारेको कथावस्तुले उमेर ढल्केको होङसी श्रीमान् हुनु र नहुनु एउटै भएको सामाजिक यथार्थलाई चित्रण गरे पनि यान्यान उडेसरि स्वैरकल्पनामा उडाइदिन्छ ।
दिव्यौषधि एउटा विकट गाउँको रुढिवादी कथा हो । मोतीविन्दु भएको बज्यैलाई निको पार्न लु ओ वैद्यको भनाइ सुनेर मान्छेको पित्त प्राप्त गर्न लेखिएको कथाले पिछडिएको ग्रामीण भेगमा पु¥याउँछ । ढुङ्गे पुलमुनि लुकेर बसेका बुबा र छोराको संवादमा डर, त्रास र राक्षसी सोच र विरक्त लाग्दो कथाले मनै अमिलो बनाउँछ ।
नगरप्रमुख चाङ खचाङले सशस्त्र कार्यदललाई दिएको आदेशले गाउँका सोझा जनतालाई ढुङ्गे पुलमाथि लगेर मृत्युदण्ड दिन्छ । पुलमुनि बाबु–छोरा लुकेका छन्, त्यही पुलमाथि मृत्युदण्ड दिइरहेका बीभत्स लासहरू पुलबाट तल झर्छन्, रगत चुहिएर शरीर रातै हुन्छ । तल झरेको लासलाई चरचर चिरेर पित्त निकालेको डर लाग्दो घटनाक्रमले वैद्यको भनाइ पूरा गर्न लेखिए पनि पुरातन सोचको चिरफार गरेको भेटिन्छ ।
अन्न– यो एकदमै मार्मिक कथाले दुःख, अभाव र गरिबीको पराकाष्ठालाई चित्रित गरेको छ । पात्रा ईले आफ्नो सन्तान र सासूआमा भोकले मृत्युको मुखमा पुगेको बेला जङ्गली झार (साग) र सेतो माटो खुवाएर सास अड्याएको प्रसङ्गले पढ्दापढ्दै स्तब्ध बनाउँछ । कारखानामा काम गरेर फर्किंदा केही गेडा केराउ लुकाएर बोक्दा पाले वाङ्ले गाली गर्छ ईलाई । भोक थाम्न नसक्दा लुकेर केराउ मुखबाट निलेकी थिई भने घर पुग्दा फुशाङ, शैशङ भोकले घोप्टो परिरहेको देखेर ईलाई सहिनसक्नु हुन्छ र आत्महत्या गर्न झुन्डिन्छे, तर हरिकङ्गालको डोरी कच्चा भएकोले चुँडियो ।
ई आमा बाँची, तर रिङ्गटा लागेर बान्ता गर्दा केराउ निस्कियो । त्यही ४०–५० दाना केराउ भोकाएका नानीहरूले हारालुछ गरेर खाए र बाँचे । ईले कारखानाबाट दैनिक केराउ, मकै, चनाका दानाहरू निल्ने र घरमा गएर बान्ता गरी बालबच्चा र सासूलाई बचाएको कथाले वास्तवमै हृदय छुन्छ । लेखकको भनाइअनुसार चीनको काउमी तुङपेइसियाङ गाउँमा घटेको सत्य घटना ‘माता महान् छिन् । अन्न अनमोल छ ।’ बाट लेखेको बुझिन्छ ।
विषयवस्तुभन्दा केही पर पुगेर फेरि त्यहाँ कुनै प्रसङ्ग सिर्जना गर्दै खाएको, घुमेको, काम गरेको, खेलेको कुनै न कुनै लघुकथा जोडेर घुमाई–फिराई विषयलाई मूलधारमा फर्काउने लेखनकला उम्दा लाग्छ । उड्ने चरो– लाल क्रान्तिकारी बालसैन्य खडा गरेर जमिनदारसँग आलोचना गोष्ठी गर्नुपर्ने प्रसङ्गले लामो बाटो हिँडाउँछ । स्यवी पाओ पात्रले शाङलाई सजाय दिने कुरामा पापकर्म र पुण्यजस्ता कुराहरू उठाएका छन् । त्यस्ता घटनाक्रमलाई बज्यैको लोककथामा श्रीमती बितेपछि श्रीमान्ले श्रीमतीको गोप्य चिनो काटेर बाकसमा राखेको हुन्छ । बेलाबेला त्यही चिनो हेरेर चित्त बुझाउने गर्छ । तर पछिबाट बुहारीले थाहा पाएपछि त्यो चिनो झिकेर बाकसभित्र भँगेरा राखिदिन्छ । सधैँझैँ बाकस खोलेर हेर्र्र्र्र्र्र्र्दा चरो उडेर गएको अलौकिक लाग्ने छोटो र मीठो कथा सम्झना लायकको छ ।
वेश्यागमन– पात्र चिफान महाशय धनी र सौखिन अनि बौद्घिक पनि छन् । घोडामा चढेर डुल्ने गरेकोले बाटोमा माग्नेलाई आफूले लगाएको लुगा दिएर घर फर्किंदा आफू नाङ्गै । दयालु चिफानले वेश्यालयबाट २५ जना सुन्दरीहरू घरमा झिकाए । र, गलैँचामाथि नाङ्गै सुताए पनि अरू केही नगरी कथालाई अन्तै मोड्ने मो यानको लेखनशैली गज्जबको लाग्यो । तर अन्त्यमा चिफान महाशयले सय–सयवटा सिक्का दिएर सुन्दरीहरूलाई फर्र्काएर इमानदारिता देखाएको पाइन्छ ।
असल वैद्य– कथाकारले खेती किसानीको कुरोलाई उठाएर मौसमले साथ दिएमा कृषक वाङताछङको उत्पादन बढ्नेदेखि कृषकहरू बिरामी परे वैद्यको शरण लिनुपर्ने । सम्भोगरत दुम्सीले टोकेमा, त्यसको काँडाले घोचेमा के हुन्छ र के गर्ने भन्ने चाख लाग्दो कहानी भेटिन्छ । वैद्यले गर्ने उपचार विधिको निकै चर्चा गरेको छ भने गाउँमा काम गर्दा लाग्ने सामान्य रोग पनि कसरी जटिल बन्छ भन्ने अनुभवलाई समेटेको भेटिन्छ ।
सुरुङ– राज्यले जन्मदर घटाउने अभियानमा गाउँ–गाउँ पसेर गर्भवती महिला भएको घर भत्काइदिने र अत्याचार गर्ने गरेको घटनाले विद्रोहको बाटो देखाउँछ । राज्यले दमन गरे पनि कुनै परिवारमा छोरी मात्र भएकोले वंश धान्न छोरा चाहिएको छ । फेरि पनि छोराकै आशामा छन् । राज्यले गर्भवतीहरूलाई खोजिरहेको बेला बच्चा जन्माउन सुरुङभित्र लुकेर छोरा जन्माएको कथाबाट वंशको महत्वलाई देखाइएको छ भने छोरी किन वंशको अंसियार हुन सक्दिन भन्ने टड्कारो प्रश्न खडा गरेको छ । ‘माछा बजार’मा सानातिना कुरालाई पनि कथाको रुपमा विस्तार गर्न सिपालु कथाकारले माछाको व्यपार र व्यापारीले भोगेको कष्ट र अव्यवस्थित बजारको समाधान खोज्ने प्रयास गरेको देखिन्छ भने लेउ टोली प्रमुखलाई जोडेर सामान्य विषयलाई अर्थपूर्ण बनाउने कलात्मक लेखनीको प्रशंसा गर्नु नै पर्छ ।
छनौट गरिएका मो यानको यस आख्यानमा प्रायः शान्तुङ प्रान्तको काउमी गाउँको रहनसहन, जनजीविका र लोकोक्तिको प्रयोगले कथाहरू खँदिलो, जानकारीमूलक र अर्थपूर्ण बनेका छन् । चिनियाँ ठाउँ र नामहरू भएकोले पात्र–पात्राहरू खुट्याउन एकछिन् समय लागे पनि कथातत्वको धागोले तानिरहन्छ र पढिसकेपछि प्रस्ट हुन्छ । लेखकको कल्पनाशक्ति, समसामयिक विषयको उठान, स्थानीय भाषाशैली, मौलिक कथा र ऐतिहासिक कथनहरू मो यानको साहित्यिक मेरुदण्ड हो, जसले कथाहरूलाई शक्तिशाली बनाएको छ ।











प्रतिक्रिया