नेपाली समाजमा ‘पुरूष प्रधानता’ को गहिरो जरा रहेको परम्परागत संरचनालाई पछिल्लो समय क्रमशः तोड्ने प्रयास भइरहेको छ । यसै क्रममा, नेपालको अति संवेदनशील र विशिष्टीकृत स्वास्थ्य सेवाको नेतृत्वमा योग्य महिला चिकित्सकको आगमनले राष्ट्रिय आशा जगाएको छ । शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा वरिष्ठ नेफ्रोलोजिस्ट डा. कल्पनाकुमारी श्रेष्ठको नियुक्ति केवल एक प्रशासनिक निर्णय मात्र नभएर क्षमता, लगनशीलता र दूरदृष्टिको सम्मान हो ।
डा. कल्पनाकुमारी श्रेष्ठ चिकित्सा क्षेत्रमा अनवरतरूपमा समर्पित एक व्यक्तित्व हुनुहुन्छ । उहाँसँग काठमाडौँको ऐतिहासिक वीर अस्पतालमा काम गरेको महत्वपूर्ण अनुभव छ, जसले उहाँलाई जटिल स्वास्थ्य प्रणाली र बिरामीको संवेदनशीलता बुझ्न मद्दत ग¥यो । शहीद धर्मभक्तमा वरिष्ठ कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट र नेफ्रोलोजी विभाग प्रमुखको रूपमा उहाँले १ हजार ६ सयभन्दा बढी मृगौला प्रत्यारोपणको सफल व्यवस्थापनमा निर्णायक भूमिका खेल्नुभएको छ ।
अंग प्रत्यारोपणजस्तो जीवनमरणको संघर्ष जोडिएको सेवामा प्राविधिक दक्षताका साथै मानवीय स्पर्श र उच्च नैतिक बल (अंग प्रत्यारोपण समन्वय इकाइको नेतृत्व) गरिसक्नुभएको व्यक्ति हुनु समयको माग हो । सरकारले सही समयमा सही व्यक्तिलाई जिम्मेवारी दिएर समयसापेक्ष काम गरेको छ । यो सरकारको दूरदृष्टि र प्रशंसनीय काम हो । वर्तमान राजनीतिक परिदृश्यमा देखिएको महिला नेतृत्वको उपस्थितिलाई धेरैले ‘संयोग’ मान्न सक्छन् । तर यसलाई जेनजी पुस्ताले ल्याएको सामाजिक चेतनाको लहरपछिको आवश्यकताको रूपमा बुझ्नुपर्छ ।
प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र अब मृगौला÷कलेजो प्रत्यारोपण गर्ने विशिष्ट निकायको प्रमुखसमेत (महिला हुनु एक संयोग मात्र होइन, बरु यो देशलाई आवश्यक उदाहरणीय अभ्यास हो । महिला नेतृत्वले कामलाई टुंगोमा पु¥याउने अठोट, इमानदारी र जिम्मेवारीप्रतिको समर्पण बढी देखाउने गरेको जनमानसमा अनुभव छ । पितृसत्तात्मक समाजको पर्खाल तोड्दै महिलालाई उच्च तहमा जिम्मेवारी दिन नखोज्ने नेपाली परम्परालाई तोडेर डा. श्रेष्ठलाई दिइएको यो जिम्मेवारीले हजारौं मेहनती र कर्मजीवी महिलाहरूलाई प्रेरणा दिएको छ ।
यो सरकारको दूरदृष्टि र राष्ट्रिय विकासको बाटो बलियो बनाउने निर्णय हो । यो नियुक्ति वर्तमान सरकारको दूरदृष्टि र सही निर्णय गर्ने क्षमताको प्रमाण हो । डा. श्रेष्ठजस्ता अनुभवी, मेहनती र इमानदार व्यक्तिलाई छनोट गरी कार्य वातावरण सृजना गरिदिने हो भने, देशमा सुशासन र विकासले गति लिन धेरै समय लाग्दैन ।
आम नागरिक र सञ्चारमाध्यमको रूपमा हामीले यस्ता क्षमतावान् व्यक्तित्वको नियुक्तिको स्वागत गर्दै उहाँको कार्यसम्पादनमा हरक्षेत्रबाट सहयोग र स्याबासी दिनु आवश्यक छ । हरेक संस्थामा सही मान्छेको छनोट गरी जिम्मेवारी दिँदा मात्र जेनजीमा आएको निराशालाई मलहमपट्टी गर्न सकिन्छ र ‘समृद्ध नेपाल’ को परिकल्पना साकार पार्न सकिन्छ ।
डा. श्रेष्ठको यो सफलताको यात्रा केवल उहाँको व्यक्तिगत विजय नभई सम्पूर्ण राष्ट्रका लागि स्वास्थ्य र नेतृत्वको उज्ज्वल भविष्यको द्योतक बन्न सकोस् । स्वदेशमै मृगौला र कलेजो प्रत्यारोपणलाई अझ सहज र सर्वसुलभ बनाउन डा. कल्पनाको कार्यकालमा उत्कृष्ट सफलता मिलोस् । सरकार, आम नागरिक, बिरामी र आफन्तका तर्फबाट पनि उहाँलाई साथ र सहयोग मिलोस् । यसका साथै सहकर्मीहरुको सामूहिक भावना, साथ, सहयोग, सद्भावना अझ मजबुत बनोस् । संविधानमा व्यवस्था भए अनुरुप नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारको ध्यान पुगोस् र समयसापेक्ष निर्णय गर्ने क्षमताको विकास होस् ।











प्रतिक्रिया