काठमाडौँ।
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाएका छन्। उनले देशमा विधिको शासन कमजोर पार्ने दोहोरो मापदण्ड अझै कायम रहेको आरोप लगाउँदै, दुर्गा प्रसाईले समाजलाई विभाजनतिर लैजाने भड्काउ अभिव्यक्ति दिएको र आफूले नागरिकता प्राप्त गरेको मिति समेत तोडमोड गरी गलत प्रचार गरेको बताएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत भने, “दुर्गा प्रसाईपछि अझै कट्टर र भड्काउ भाषा बोल्नेहरू खुलेआम हिँडिरहेका छन्। शान्तिपूर्ण विरोधमा उभिएका युवाको टाउकोमै ताकेर गोली चलाउनेहरू पनि तिनै हुन्। तर गृहमन्त्रीसँग तिनै व्यक्तिलाई उस्तै रूपमा समातेर छानबिन गर्ने आँट देखिएन।”
संविधानविद् भनेर चिनिने व्यक्तिहरूको भूमिका र राज्यको व्यवहारमाथि प्रश्न उठाउँदै उनले थपे, “संविधानको कुन धारामा ‘सानालाई ऐन, ठुलालाई चैन’ लेखिएको छ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेको बीचमा फरक के रह्यो, गृहमन्त्रीज्यू?”
उनका अनुसार, न्याय मागिरहेका मृतक तथा घाइते युवाहरूको आवाज सुन्न सरकार तैयार छैन। “कलिला युवाहरूको रगत, पसिना र बलिदानीकै आधारमा गृहमन्त्री कुर्सीमा टाँसिएका छन्। तर त्यही युवामाथि कारबाही गर्न आयोगको प्रतिवेदन पर्खिनुपरेन, शक्तिशालीहरू भने खुलेआम लोप्पा खुवाउँदै हिँडिरहेका छन्,” गुरुङले उल्लेख गरेका छन्।
गुरुङले अन्त्यमा भनेका छन् , “मृतक र घाइतेहरूको उचित सम्बोधन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति बिना चुनाव सम्भव छैन।”











प्रतिक्रिया