प्रतिनिधिसभा पुनःस्थापनाका लागि कांग्रेस सांसदले थाले हस्ताक्षर अभियान

एमालेपछि कांग्रेसका सांसदहरू तात्न थाले


काठमाडौं।

सबैभन्दा ठूलो र पुरानो लोकतन्त्रवादी दल नोपली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेका छन् । जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा असंवैधानिक किसिमले विघटन गरेको निष्कर्ष निकालेको कांग्रेसका सांसदहरूले अब प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै औपचारिक रूपमा नै हस्ताक्षर अभियान थालेका हुन् ।

यसअघि अर्को पुरानो र ठूलो लोकतान्त्रिक दल एमालेका सांसदहरूले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै हस्ताक्षर अभियान थालेको थियो । एमालेले त वर्तमान सरकार नै असंवैधानिक किसिमले गठन भएको र प्रतिनिधिसभा विघटन पनि असंवैधानिक भएको ठहर गर्दै त्यसविरुद्ध देशभर जागरण अभियान थाल्दै आइरहेको छ ।

अब कांग्रेसका सांसदहरू पनि एमालेजस्तै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेले पार्टीले औपचारिक निर्णय गरोस् भन्ने दबाब सिर्जना गर्नका लागि हस्ताक्षर संकलन सुरु गरिएको जानकारी दिनुभयो । ‘यो अभियानमा पार्टीका अधिकांश सांसदहरू जोडिनुहुनेछ, प्रतिनिधिसभा पुनःस्थापनाका लागि शनिवारदेखि नै कांग्रेसमा सांसदहरूको हस्ताक्षर जुटाउन थालिएको छ । पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकाले पुनःस्थापनाका लागि आधिकारिक निर्णय गर्न दबाब पुगोस् भनेर हस्ताक्षर गरेका हौं’ –घिमिरेले भन्नुभयो । घिमिरेले सोमबारसम्म धेरैभन्दा धेरै सांसदको हस्ताक्षर जुटाएर बैठक बस्ने दिन पार्टीलाई बुझाउने बताउनुभयो । विघटित प्रतिनिधिसभामा कांग्रेसका सबैभन्दा धेरै ८८ सांसद थिए । यसअघि नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो ।

एमालेले संस्थागत रूपमै प्रतिनिधिसभा पुनःस्थापनाका लागि संघर्ष गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा स्वयं सांसदहरू पुनःस्थापनाको माग लिएर नआएको प्रश्न इजलासबाट उठेको थियो ।

कांग्रेस–एमालेसहितका ८ दलका प्रमुख सचेतकले विघटनलगत्तै विज्ञप्ति निकाले पनि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाका लागि औपचारिक निर्णय गरिसकेको छैन । भदौ २३–२४ मा भएको आन्दोलनको बलमा प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले भदौ २७ गते प्रधानमन्त्री भएकै दिन प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।