काठमाडौं।
नेपालले सन् २०२५ का लागि पनि फिच रेटिङ्स (Fitch Ratings) बाट आफ्नो सार्वभौम क्रेडिट रेटिङ “BB-” कायम राख्न सफल भएको छ। गत वर्ष यस्तै रेटिङ पाएको नेपालले पछिल्ला सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य विपत्ति तथा विश्वव्यापी आर्थिक सुस्तताबीच पनि समान रेटिङ कायम राख्न सफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
फिचले दिएको यो स्थिर रेटिङले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमता अन्तर्राष्ट्रियस्तरमा पुनः प्रमाणित भएको तथा समष्टिगत अर्थतन्त्र स्थिर र सन्तुलित दिशामा रहेको संकेत गर्ने मन्त्रालयको भनाइ छ।
अर्थ मन्त्रालयका अनुसार चुनाव–केन्द्रित खर्च बढ्ने सम्भावना तथा राजनीतिक अनिश्चितताबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, खर्चको प्राथमिकता निर्धारण, समयमै चुनाव सम्पन्न गर्ने तयारी तथा रणनीतिक परियोजनाको निरन्तरताजस्ता कदमले अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वासयोग्य छवि बलियो बनेको छ।
सरकारको मूल्यांकनअनुसार स्थिर रेटिङले वैदेशिक लगानी आकर्षणमा सहयोग पुग्नेछ। ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि तथा डिजिटल अर्थतन्त्रमा दीर्घकालीन लगानी बढाउन र अन्तर्राष्ट्रिय वित्तीय बजारमा भविष्यमै नेपालले सार्वभौम ऋण (Sovereign Bonds) जारी गर्दा आवश्यक पर्ने क्रेडिट प्रोफाइल बलियो बनाउन यो रेटिङ महत्त्वपूर्ण सूचक हुने मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय विकास साझेदार, वैदेशिक लगानीकर्ता, निजी क्षेत्र तथा आम नागरिकले जनाएको विश्वासका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आर्थिक स्थायित्व, सुशासन, पारदर्शिता, उत्पादनमूलक लगानी वृद्धि, रोजगारी सिर्जना र सामाजिक–आर्थिक रूपान्तरणका लक्ष्यप्रति सरकार प्रतिबद्ध रहने स्पष्ट गरेको छ।











प्रतिक्रिया