काठमाडौं।
काठमाडौं महानगरपालिकाले तीन वर्षमा ३० हजार बिरुवा रोपेको छ । महानगरका ३२ वटै वडाका फुटपाथ, खोलाकिनारलगायत क्षेत्रमा बिरुवा रोपेको हो । अहिले काठमाडौं महानगर जताततै हरियाली देखिएको छ ।
कामपा उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनकका इन्जिनियर सरकारदीप श्रेष्ठले साँघुरा फुटपाथबाहेक सबै स्थानमा बिरुवा रोपेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘तीन वर्षयता वार्षिक करिब १० हजारका दरले वृक्षरोपण गरेका छौं । यो वर्ष चार महिना अवधिमा ८ हजार बिरुवा रोपिएको छ ।’ आयोजनाले विशेषगरी धोबीखोला, मनोहरा, रुद्रमती, इच्छुमतीलगायत राजधानीलाई घेरेको सबै नदी किनारामा पार्क र वृक्षरोपण सम्पन्न गरेको छ ।
‘नगन्यबाहेक सबै फुटपाथ र खोला किनारामा वृक्षरोपण गरिसकेका छौं, अब यो वर्षको बाँकी ८ महिना हुर्किएका, फुटपाथमा अवरोध पु¥याएका विरुबा काटछाँट गर्ने भएका छौं’ –इन्जिनियर श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार महानगरले कपूर, असारे र समी प्रजातिका बिरुवा रोपेको छ । चार महिनामा करिब ३ हजार समी, २ हजार कपूर र ३ हजार असारे फूलका बिरुवा रोपेको छ । आयोजनाले खाली स्थानमा वृक्षरोपण र हरियाली पार्क निर्माण सुरु गरेको छ ।
फुटपाथमा राखेको गमला हराउन थालेपछि अब कुनै पनि स्थानमा गमला नरहने भएको छ । विगत ४–५ वर्षअघि बाटोको दायाँबायाँ गमला राख्ने गरेको थियो । हिँड्न नमिल्ने र साँघुरो स्थानमा गमला रोपे पनि फराकिलो फुटपाथमा बिरुवा रोप्ने गरेको आयोजनाको दाबी छ । कामपाले ५ फिटमाथिका बिरुवा रोप्ने गरेको छ । झाँगिनेभन्दा पनि सीधा जाने विरुवा रोप्ने योजनाअनुसार तीन प्रकारको विरुवा रोपेको आयोजनाको भनाइ छ ।
आयोजनाअन्तर्गत यो वर्ष वृक्षरोपण, पार्क निर्माण गरी फिटनेसका सामग्री राख्न सुरु गरेको छ । कामपाले अधिकांश खोला किनारमा पार्कसहित फिटनेसका सामान राखेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा करिब १५ वटा पार्क निर्माण गर्ने तयारी थालेको छ । त्यसमध्ये करिब आधा दर्जन सम्पन्न भएको कामपाको दाबी छ ।
कामपाका प्रवक्ता नवीन मानन्धरले कामपाले हरेक वडालाई हरित वडा र महानगरलाई हरियाली र स्वच्छ वातावरणमैत्री काठमाडौं बनाउने योजनासहित वृक्षरोपणलाई निरन्तरण दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले परिकल्पना गरेजस्तै हरित महानगर बनाउने योजना सुरु भएको छ । यसले महानगरवासीलाई स्वच्छता दिएको छ । हामीले वृक्षरोपणमात्र नगरी सौन्दर्यीकरण गर्ने योजना अघि बढाएका छौं ।’
मुलुकको संघीय राजधानीलाई हरियाली राजधानी बनाउने योजनासहित व्यापक रूपमा वृक्षरोपण कार्यक्रमलार्ई अघि बढाएको जानकारी दिँदै आयोजनाका इन्जिनियर श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अब बिरुवा रोप्न लगभग सकिएको छ, सौन्दर्यीकरणमा लाग्नेछौं ।’ कामपाले रोपेका बिरुवा संरक्षण गर्न अनुगमन जारी राखेको छ भने ती बिरुवालाई मलजलसमेत गर्ने गरेको छ ।











प्रतिक्रिया