राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता


काठमाडौँ।

राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ का उत्कृष्ट करदातालाई सोमबार आयोजित कार्यक्रममार्फत सम्मान गरेको छ। विभागले विभिन्न क्षेत्रगत वर्गीकरणका आधारमा सबैभन्दा बढी कर योगदान गर्ने करदाताहरूलाई सम्मानित गरेको हो।

सबैभन्दा ठूलो आयकर तिर्ने कम्पनीको रुपमा यस वर्ष नेपाल दूरसञ्चार प्राधिकरण अगाडि आएको छ।
एकलौटी फर्म श्रेणीमा थर्ड आई इन्टरनेशनल, निर्यात व्यवसायतर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधि सेवा क्षेत्रमा ओरिक्स नेपाल प्रालि, तथा कृषि–पशुपन्छीजन्य उद्योग श्रेणीमा पोषक ब्रिडर फार्म प्रालि सम्मानित भएका छन्।

त्यस्तै, बैंक तथा बीमा क्षेत्रतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य–शैक्षिक सेवातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायमा सोल्टी होटल लिमिटेड, वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट, ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड उत्कृष्ट करदाताका रूपमा छानिएका छन्।

व्यक्तिगत आयकर अन्तर्गत सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई यस वर्ष सम्मान गरिएको विभागले जनाएको छ।

साथै, वार्षिक कारोबार ५० करोडदेखि १ अर्बसम्म हुने श्रेणीमा सीडिएस एण्ड क्लियरिङ लिमिटेड, र ५० करोडसम्म कारोबार गर्ने समूहमा भिएफ सर्भिसेज प्रालि सम्मानित भएका छन्।

२०७६ देखि २०८२ सम्म लगातार सर्वाधिक मूल्य अभिवृद्धि कर (VAT) बुझाउने कम्पनीको रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड उत्कृष्ट मानिएको छ भने विशेष उद्योग श्रेणीमा युनिलिभर नेपाल पुरस्कृत भएको छ।

गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने आन्तरिक राजस्व कार्यालयको रूपमा बागलुङ कर कार्यालयले सम्मान प्राप्त गरेको छ।