नागार्जुन नपालाई खुल्ला पत्र: लोगोमा समावेशिता र नेपालभाषा रञ्जना लिपिको खोजी

5.17k
Shares

आदरणीय नागार्जुन नगरपालिका जनप्रतिनिधिहरु, सबैलाई साधुवाद÷ज्वजलपा÷नमस्ते । यतिखेर देशभर सुशासन अनि भ्रष्टाचारका विरुद्ध जनजागरण र जेनजी आन्दोलनबाट देश सुरक्षित अवतरणतर्फ अग्रसर भइरहेको छ । आशाका नवीन किरणहरु देखा परिरहेका छन् । नेपाल मण्डलको ऐतिहासिक नगरपालिका नागार्जुन नगरपालिकामा भाषा पुस्तान्तरणको लागि भाषा प्रशिक्षण, संस्कृति संरक्षण र अमूर्त सम्पदा संरक्षणमा उदासीनता देखाएको छ ।

जामाच्व÷नागार्जुन पवित्र स्थल :

जामाच्व ऐतिहासिकरुपमा प्रसिद्ध स्वयम्भूनाथ स्तूपासँग पनि सम्बन्धित रहेको छ । नागार्जुन पर्वतको शिखर भाग जामाच्व हो, जहाँ विपश्वी बुद्ध (सप्तबुद्धमध्ये पहिलो बुद्ध) ले तपस्या गर्दागर्दै तलाउरुपी नेपाल उपत्यकामा कमलको बीउ रोप्नुभएको र सोही बीउबाट स्वयम्भू महाचैत्य (ज्योतिर्मय भगवान्) प्रकट हुनुभएको कुरा स्वयम्भू महापुराणमा उल्लेख छ । विपश्वी बुद्धले तपस्या गरेको यस पवित्र स्थानलाई बौद्धमार्गीहरुले ‘जात मात्रो च्व’ भन्दा कालान्तरमा ‘जामाच्व’ भनियो र यसलाई खसकरण (नेपाली) भाषामा अपभ्रंश गरी ‘जामाचो’ समेत भन्ने गरिन्छ । यहाँ च्व भन्नाले नेपालभाषामा पर्वत÷पर्वतको शिखर÷टुप्पो भाग बुझिन्छ । विद्वान् अध्येता कृष्णप्रकाश श्रेष्ठको अथक मेहनत, अध्ययन, अनुसन्धान एवं संकलनअनुसार वि.सं. २०४४ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘स्थाननाम कोश’ पुस्तकको पाना नं. ङमा नेपाली भाषामा नागार्जुन र सोही स्थानको नेवारी भाषामा जामाच्व स्थाननाम रहेको उल्लेख गरिएको छ ।

यस पवित्र भूमिमा आचार्य नागार्जुन (बौद्ध दर्शनका गुरु) जामाच्व आउनुभई तपस्या गर्नुभएको र यो पवित्र स्थानको नाम तत्पश्चात् नागार्जुन रहन गएको कथन जनमानसमा पाइन्छ । यहाँ हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हिन्दु र बौद्ध दुवै धर्मका भक्तजनहरुको उपस्थिति रहन्छ । यो स्थान हिन्दु र बौद्ध दुवै धर्मको लागि पवित्र भूमि एवं आस्थाको केन्द्र हो । काठमाडौं उपत्यकामा प्रचलित पुराना नामहरुलाई नगरपालिकाहरुले नेपालभाषामा पनि प्रयोग गर्दै आएका छन् । जस्तै– काठमाडौं (येँ), पाटन (यल), कीर्तिपुर (किपु), भक्तपुर (ख्वप) भनेझैँ नागार्जुन पहाडको नेवाः एवं बौद्ध सभ्यताको साझा नाम नागार्जुन (जामाच्व) नाम नै सर्वस्वीकार्य हुनेमा दुईमत छैन । नागार्जुन नगरपालिकाले यहाँको यस ऐतिहासिक तथ्यलाई मनन गर्दै नागार्जुन नगरपालिकालाई खस (नेपाली) भाषामा ‘नागार्जुन नगरपालिका’ र नेपाल भाषा÷रञ्जना लिपिमा ‘जामाच्व नगरपालिका’ राख्नु जनभावनाको समेत कदर हुने देखिन्छ । नागार्जुन नगरपालिकाले मिति २०८२ कार्तिक १४ गतेबाट नेपालभाषा र तामाङ भाषाको लिपि प्रयोग गरी नयाँ लेटर हेड सार्वजनिक गरेको छ । यसमा नागार्जुनलाई नेपालभाषामा जामाच्व भनिने यथार्थलाई अस्वीकार गरी नेपालभाषामा समेत नागार्जुन नै लेख्ने प्रयास गरिएको छ । लेटर हेडमा नागार्जुन लेख्नुपर्नेमा उकार छुट गरी नागार्जन लेखिएको छ । नगरपालिकालाई अशुद्ध नलेख्न र नेपालभाषाको वास्तविक स्थाननाम प्रयोग गर्न ध्यानाकर्षण गराउँदासमेत मिति २०८२ कार्तिक १९ गतेबाट उक्त लेटर हेड प्रयोगमा ल्याएको छ ।

भाषा, संस्कृति संरक्षणसम्बन्धी संवैधानिक व्यवस्था :

नेपालको संविधान २०७२ प्रस्तावनाको मूल भावना एवं धारा ३ मा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख भए तापनि नागार्जुन नगरपालिकाले दीर्घकालीनरुपमा प्रयोग हुने नगरपालिकाको प्रतीक चिह्न (लोगो) निर्माणमा साधारण छलफल एवं सरोकारवालाहरुसँग राय–सुझावसमेत नलिई एकलौटी ढंगबाट छनौट गरेको देखिन्छ । त्यसै गरी संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकमा आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ भनी उल्लेख गरिए तापनि त्यो संवैधानिक प्रावधान कार्यान्वयनमा नगरपालिकाले पहलकदमी लिएको छैन । बरु स्थानीय पाठ्यक्रममा हाम्रो नागार्जुन तयार गरी खस भाषा तथा एकल भाषा नीतिलाई नै निरन्तरता दिएको छ, यसरी नगरपालिकाले संविधान विपरीत कार्य गरेको छ । मातृभाषामा शिक्षा पाउने हक बेवास्ता गरिएको छ ।

लोगोमा जीवन्त भाषा÷संस्कृतिलाई निषेध :

नागार्जुन नगरपालिकाको नेवाः समुदायको प्रतिनिधित्व रहने गरी कुनै चिह्न नगरपालिकाको लोगोमा राखिएको छैन र लोगोजस्तो संवेदनशील कुरालाई समेत नागार्जुन नगरपालिकाले लापरबाहीपूर्वक÷बलपूर्वक जनतामाझ प्रस्तुत गरेको छ । नेपाल मण्डलका कीर्तिपुर, गोदावरी, भक्तपुर, टोखा नगरपालिकाहरुले आफ्नो लोगोमा नेपाल सभ्यता झल्काउने गरी लोगोको माथिल्लो भागमा खस (नेपाली) भाषामा नगरपालिकाको नाम र तल्लो भागमा नेपालभाषा रञ्जना लिपिमा नगरपालिकाको नाम राखी जनभावना र स्थानीय जीवन्त संस्कृति झल्कने गरी लोगो तयार गरेको देखिन्छ । यस्ता उदाहरणीय निर्णयहरुको अनुशरण नागार्जुन नगरपालिकाले पनि गर्नुपर्दछ । नेपाल संवत् १०७ मा राजा गुणकामदेवले हल्चोक आकाश भैरव स्थापना गरी जात्रा शुरु गरेको र हाल १२ बर्र्से होल्च्व आकाश भैरव नाचले निरन्तरता पाउँदै आएको छ । नागार्जुन नगरपालिकाले आफ्नो यस्तो शताब्दीयौंदेखि चलिआएको जीवन्त परम्परालाई दर्शाउने नेवाः सभ्यता झल्कने गरी आफ्नो प्रतीक चिह्नमा कम्तीमा होल्च्व आकाश भैरव, लाखे र दलुचा (मन्दिर÷घरको झ्यालअगाडि झुन्ड्याइने परम्परागत नेवाः दियो) मध्ये कुनै एक चिह्न समावेश गरी खस (नेपाली) भाषा र नेपाल भाषा दुवै समावेश गरी जारी हुने नगरपालिकाको संशोधित प्रतीक चिह्न मात्र सर्वस्वीकार्य समावेशी हुन सक्छ । जनभावना कदर गर्दै नागार्जुन नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) समावेशी, ऐतिहासिक धरोहर अट्ने एवं जीवन्त संस्कृति झल्कने गरी संशोधन गर्नु नै पर्नेछ ।

हाल सार्वजनिक प्रतीक चिह्न (लोगो) मा नागार्जुन पर्वत (जामाच्व), जामाच्व स्तूपा, सूर्य, इचङ्गुनारायण मन्दिर, परेवालगायत अन्य पक्षी, मृग, पर्यटक, पक्की सडक, नेपालको झन्डा तथा नक्सा अंकित गरिएको छ । जनावर, प्रकृति सबै देखिन्छ तर आदिमकालदेखि यो भूमिमा बसी यहाँको संस्कृति रक्षा गर्ने जीवन्त नेवाः सभ्यता झल्काउने कुनै चिह्न नअट्नु विडम्बनाको कुरा हो ।

नागार्जुन नगरपालिकाद्वारा हाल सार्वजनिक प्रतीक चिह्न (लोगो) मा नागार्जुन पर्वत (जामाच्व), जामाच्व स्तूपा, सूर्य, इचङ्गुनारायण मन्दिर, परेवालगायत अन्य पक्षी, मृग, पर्यटक, पक्की सडक, नेपालको झन्डा तथा नक्सा अंकित गरिएको छ । जनावर, प्रकृति सबै देखिन्छ तर आदिमकालदेखि यो भूमिमा बसी यहाँको संस्कृति रक्षा गर्ने जीवन्त नेवाः सभ्यता झल्काउने कुनै चिह्न नअट्नु विडम्बनाको कुरा हो ।

आदर्श वाक्य÷नारा र सुशासन :

एउटै नगरपालिकाको फरक–फरक आदर्श वाक्य उल्लेख गर्नु लापरबाहीको पराकाष्ठा हो, जुन अस्वीकार्य छ । जनभावनाबमोजिम नजिकको सरकार स्थानीय तहले यसलाई निरन्तरता दिनुहुन्न । वास्तवमा नागार्जुन नगरपालिकाले आफ्नो लेटर हेड तथा वार्षिक बजेट तथा कार्यक्रम पुस्तकहरुको अध्ययन गर्दा शुरुमा देहायबमोजिम मुख्य आदर्श वाक्यलाई अंगीकार गरेको पाइन्छ ।

१. ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार’

२. ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार र आवासीय नगर’

३. ‘नगरपालिकालाई सांस्कृतिक रुपले उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्दै जनताको गुणस्तरीय जीवनयापनको अवसर सृजना गरी समृद्धि हासिल गर्ने’

४. नगरपालिकाको आधिकारिक वेबसाइटमा ‘समृद्ध नागार्जुनको आधार सुशासन, मानव विकास र पर्यटनसहितको पूर्वाधार’

५. लोगोमा संशोधित नारा ‘समृद्ध नागार्जुनको आधार, सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार’

६. लेटर प्याडमा नारा ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार’ ।

जनभावनाबमोजिम लोगो संशोधनको प्रस्ताव :

नागार्जुन नगरपालिकाको दीर्घकालीन लक्ष्य÷नारा÷आदर्श वाक्य परिवर्तन भइरहेको परिप्रेक्ष्यमा हाल जारी भएको नयाँ लोगोमा आफूखुशी राखिएको नयाँ नारालाई हटाउँदै लोगोको गोल घेराको माथिल्लो भागमा खस (नेपाली) भाषा÷देवनागरी लिपिमा ‘नागार्जुन नगरपालिका’ र तल्लो भागमा नेपाल भाषा÷रञ्जना लिपिमा ‘जामाच्व नगरपालिका’ लेख्नुका साथै लोगोभित्र नेवाः सभ्याता झल्कने गरी आफ्नो प्रतीक चिह्नमा कम्तीमा होल्च्व आकाश भैरव, लाखे र दलुचामध्ये कुनै एक चिह्न थप गर्नुपर्दछ अनि मात्र संविधानको परिकल्पनाबमोजिम पहिचान र संस्कृति संरक्षणमा स्थानीय निकायको भूमिकाले सार्थकता पाउन सक्छ । नगरपालिकाको नारा लेटर हेडको उपयुक्त स्थानमा राख्दै आइएको छ, त्यसलाई फेरि लोगोमा समेत अंकित गर्नु अनिवार्य हुँदैन । अरु त अरु, नागार्जुन नगरपालिकाले एउटै लेटर हेडको लोगोमा एउटा नारा लेखिनु अनि ‘फुटर’ मा अर्को नारा लेखिनुले पनि नगरपालिकाको लापरबाही प्रस्ट देखिन्छ ।

नागार्जुन नगरपालिकामा नेवाः देय् दबू नागार्जुन नगर समितिले बारम्बार यही कुरामा नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको छ । जस्तै– नेपाल सरकारको निर्णयअनुसार हरेक नेपाल संवत् प्रयोग गर्ने, बाग्मती प्रदेशसभाबाट जारी ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ कार्यान्वयन गर्ने, नागार्जुन नगरपालिकाको लेटर हेड, होर्डिङ बोर्ड÷डिजिटल बोर्डमा खस (नेपाली) भाषा÷देवनागरी लिपि र नेपालभाषा÷रञ्जना लिपिको प्रयोग गर्ने, हाल जारी लोगोमा नागार्जुन नगरपालिकाको ऐतिहासिक एवं जीवन्त संस्कृतिको प्रतिनिधित्व हुने गरी प्रतीक चिह्न संशोधन गर्ने आदि कार्यमा निरन्तर पहल वार्ता एवं छलफलको लागि नेवाः देय् दबू नागार्जुन नगर समिति सर्वदा तयार छ ।

जनप्रतिनिधिको जिम्मेवारी र सुशासनको अपेक्षा :

अन्त्यमा, नेवाः देय् दबू नागार्जुन नगर समिति नेपालभाषा, नेवाः सभ्यता, संस्कृति र अन्य अमूर्त सम्पदा संरक्षण र संवद्र्धनमा सदा समर्पित रहने जानकारी गराउँदै भविष्यमा नागार्जुन नगरपालिकासँग सहकार्य गर्ने उपयुक्त वातावरण तयार गर्न नगरपालिकालाई आग्रह गर्दछौं । नेवाः समुदायलाई भोट बैंकको रुपमा मात्र नहेरी संस्कृति एवं पहिचान संरक्षणमा अहोरात्र खटिने सच्चा नेपालीजनको रुपमा मूल्याङ्कन गर्न नगरपालिकालाई आग्रह गर्दछु र भन्न चाहन्छु– नेवाः सभ्यता संरक्षण, प्रवद्र्धनमा अहोरात्र खटिने नै छु र संविधानको प्रस्तावनामा उल्लिखित समानुपातिक समावेशिताको सिद्धान्त कार्यान्वयन, राष्ट्रभाषा संरक्षणको लागि नगरपालिकाले आफ्नो लेटर हेड÷होर्डिङ बोर्ड र लोगोमा नेपालभाषा÷रञ्जना लिपिको प्रयोग र जनभावनाबमोजिम लोगो संशोधनको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।

(लेखक नेवाः देय् दबू नागार्जुन नगर समितिका अध्यक्ष हुनुहुन्छ ।)