नेपाल ट्रस्ट जग्गा लिज प्रकरणमा पूर्वसचिव कार्की पक्राउ


काठमाडौं।

नेपाल ट्रस्ट जग्गा लिज प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्की पक्राउ पर्नुभएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं महानगरपालिका– १ दरबारमार्गस्थित रहेको नेपाल ट्रस्टको कार्यालयको जग्गा लिजमा दिने र लिने करार सम्झौता बदनियत देखिएको भन्दै कार्कीलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उहाँलाई पक्राउ गरेको जनाएको छ । यद्यपि यस प्रकरणमा कुनै बदमासी नभएको कार्की निकट स्रोतको दाबी छ ।

नेपाल ट्रस्टमा रहँदा उहाँले कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीको दाबी छ ।
निर्माण अवधि ३ वर्षसहित ३० वर्षको लागि लिजमा दिने सम्झौता गर्दा नेपाल ट्रस्टको कार्यालयलाई दीर्घकालीन हानि नोक्सानी पु¥याइएको सीआईबीको आरोप छ ।

२०७४ जेठ १४ गते करार सम्झौता भएको थियो । विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिहरूले गैर कानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको बताइएको छ ।
यसअघि कात्तिक २१ गते यसै प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि पक्राउ गरिएको थियो ।