एनपीएलको दोस्रो संस्करण आजबाट सुरु: चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिअनुहारका कारण उत्साह थपिने

खेल फ्लडलाइटमा हुने

752
Shares

काठमाडौंं।

पहिलो संस्करणको अपार सफलतापछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म आयोजना हुने एनपीएल–२ यसपटक फ्लडलाइटमा हुनेछ । गत संस्करणमा झैं ८ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा गत संस्करणमै खेलेका आठै टोलीहरूले खेल्ने भएका छन् । जसमा, विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्ससँगै कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्वदेश र विदेशका चर्चित अनुहारहरूले पनि खेल्ने भएको हुँदा एनपीएल–२ मा थप उत्साह थपिने देखिएको छ । तर, सबैभन्दा उत्साहित विषयचाहिँ यसपटक फ्लडलाइटमा खेलहरू सञ्चालन हुने हो । त्यसमाथि नयाँ निर्माण भएको प्यारापिटमा बसेर दर्शकले खेलको मजा लिने हुँदा यस पटकको एनपीएल २ निकै रोमाञ्चक र ऐतिहासिक बन्ने विश्वास लिन सकिन्छ ।

गत संस्करणमा प्यारापिट नहुँदा पनि दर्शकले यस प्रतियोगितालाई निकै मनपराएको थियो । गत वर्ष यस्तै चिसो समयमा पनि दर्शकहरूले धुलो र चिसोसँग सम्झौता गरेर पनि खेल हेरेका थिए । त्यतिबेला नै प्यारापिट त बन्नै पर्ने आयोजकको मनमा आइसकेको थियो । नभन्दै क्यानले एक वर्षमा दर्शकका लागि आरामका साथ सिटमा बसेर हेर्न पाउने बनाइदियो । योभन्दा ख्ुशीको कुरा अरू हुन नसक्ने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

गत संस्करणमाभन्दा दोस्रो संस्करणको एनपीएलबाट बढी आम्दानी गर्ने पनि क्यानले विश्वास लिएको छ । गत वर्ष २७ करोडभन्दा बढी आम्दानी गरेको एनपीएलले यो संस्करणबाट करिब ४२ करोड आम्दानी गर्ने विश्वास लिएको क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताउनुभयो ।

चर्चित विदेशी खेलाडीहरू

यस दोस्रो संस्करणको एनपीएलमा धेरै जसो चर्चित विदेशी खेलाडीहरूले खेल्ने भएका छन् । जसमा, सबैभन्दा चर्चित खेलाडी दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस हुनुहुन्छ । उहाँले विराटनगर किंग्सबाट खेल्नुहुनेछ ।

डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल ब्याटरमध्ये एक हुनुहुन्छ । यसैले उहाँको आगमनले एनपीएल अझ रोमाञ्चक बन्न सक्ने छ । यस्तै, दक्षिण अफ्रिकाबाटै सानदार बलिङ गर्नुभएका इमरान ताहिरले पनि यसपटक खेल्नुहुँदैछ । उहाँले च्याम्पियन जनकपुर बोल्ट्सबाट खेल्नुहुनेछ ।
यस्तै, गत पहिलो संस्करणमा दर्शकद्वारा अत्यधिक मन पराइएका न्युजिल्यान्डका जिमी निसामले पनि खेल्नुहुनेछ । गत संस्करणमा उहाँले जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन निकै सानदार प्रदर्शन गर्नुभएको थियो ।

ब्याटिङमा आक्रमक प्रदर्शन गर्नु भएकोले नै उहाँ नेपाली दर्शकका प्यारा बन्नु भएको हो । तर, यसपालि भने उहाँले पोखरा एभेन्जर्सबाट खेल्नुहुनेछ । यसै गरी अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार खेल देखाएर चर्चित हुनुभएका खेलाडीहरू जेसन रोयले पनि पोखरा एभेन्जर्सबाटै खेल्नुहुनेछ ।

आजको खेलको टिकट सबै बिक्री

कीर्तिपुरस्थित पूनर्निर्माण त्रिवि क्रिकेट रंगशालाको दर्शक क्षमता ९ हजार ४ सय ५० रहेको क्यानले बतायो । क्यानका सचिव पारस खड्काले सोहीअनुसार नै हरेक दिन टिकट बिक्री गर्ने बताउनुभयो ।

आज हुने जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुने खेलको टिकट सबै बिक्री भइसकेको पनि क्यानका सचिव खड्काले बताउनुभयो । उहाँले भन्नुभयो—‘आज हुने खेलको टिकट बिक्री भइसकेको छ । यसैले टिकट नपाएका दर्शकहरूले टेलिभिजनमै खेल हेर्नु होला भन्ने हामी आग्रह गर्दछौं ।’