१७ महिनापछि पोखरा महानगर खेलकुद समितिमा गोदारको पुनरागमन

7.33k
Shares

पोखरा। 

झन्डै १७ महिनापछि पोखरा महानगर खेलकुद विकास समितिले अध्यक्ष पाएको छ । महानगरपालिकाले दीपकबहादु गोदारलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । एक महिना अघि अध्यक्षमा नियुक्त गर्ने निर्णय भएपनि महानगरपालिकाले भने सार्वजनिक गरेको थिएन । दुई दिन अघि मात्रै प्याब्सन, एन प्याब्सन, हिसानसँगको औपचारिक छलफलमै खेलकुद विकास समितिका अध्यक्ष गोदारले अध्यक्षता गरेका थिए । यद्यपि आज पोखरा १३ आर्बामा आयोजित तेस्रो एन्ड्युरो माउण्टेन बाइक रेसमा औपचारिकता प्रदान गरिएको हो ।

गोदारको यो दोस्रो कार्यकाल हो । तीन वर्षको हुने छ । पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले गोदारलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए । तीन वर्षे कार्यकाल सकिएपछि महानगर खेलकुद विकास समिति कार्यसमिति विहीन थियो । लामो समयको रस्साकस्सी पछि नगरप्रमुख धनराज आचार्यले खेलकुद विकास समितिलाई गोदारलाई अध्यक्षको जिम्मेवारी दिदैं कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

नवनियुक्त अध्यक्ष गोदारले पोखरामा मंसिरको पहिलो साता राष्ट्रपति रनिङशिल्डबाट आफ्नो कार्ययोजना शुरु गर्ने जनाएका छन् । त्यसपछि कार्यसमितिको पूर्ण बैठक बसेर कार्ययोजना बनाउने उनको भनाइ छ  ।उनले  पोखरामा खास गरी विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई प्राथमिकता राखेर प्रतियोगिता सञ्चालन गर्ने उल्लेख गरे । उनले महानगर खेलकुद विकास समितिले गठन गरेका खेल संघहरुलाई आवश्यकता अनुसार पुनर्गठन गर्ने बताए । गठित खेल संघलाई सक्रिय बनाउँदै खेलकुदका गतिविधि अगाडि बढाईने जानकारी दिए । उनले आफ्नो पछिल्लो तीन वर्ष कार्यकालमा गण्डकी प्रदेशमै नमुना बनेर अगाडि बढ्ने  प्रतिबद्धता जनाए ।

उनकै मेहेनत र परिश्रमले गण्डकी प्रदेश तीन पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा (छैटौं, सातौं, आठौं ) )मा कराँते तर्फ च्याम्पियन बनाए । उनी आफै पनि आफ्नो समयको कराँतेका च्याम्पियन हुन् । उनले कराँतेमा गरेको योगदान र प्रशिक्षणकै कारण नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भईसकेका छन् । उनको खेलजीवन ३५ वर्ष पूरा भइसकेको छ । जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत रहेका गोदार नेपाल मुआथाईका प्रमुख प्रशिक्षक समेत हुन् । उनकै पहलमा नेपालमा मुआथाई खेल भित्रिएको थियो । पोखराबाट मुआथाई खेलको शुरुवात हुन पुग्यो । पृष्ठभूमि कराँते भएपनि अहिले मुआथाई प्रशिक्षण गराउँदै आएका छन् ।

नवनियुक्त गोदारको खेलकुद पृष्ठभूमि मेहनत र लगनशिलताले मात्रै खेलाडीले आफ्नो गन्तव्य बनाउँछ । पदकको आशा गर्छ । अनि अन्तिममा प्रशिक्षण गर्ने लक्ष्य कोर्छ । विना मेहनत खेलाडीले आफ्नो अस्थित्व जोगाउन सक्दैन् । पलायनको अवस्थामा पुग्छ । निरन्तरताको लगानीले मात्रै प्रतिफल पाइन्छ । त्यसको उदाहरण हो दिपकबहादुर गोदार ।

स्कुले जीवनबाट मार्शल आर्ट तर्फ आर्कषित गोदार उमेर ढल्कदैं गएपछि प्रशिक्षणमा व्यस्त छन् । यद्यपि जोश र जाँगर भने खेलाडीको भन्दा बढी नै चाहिन्छ । जुन प्रशिक्षणको दौरानमा प्रष्ट देखिन्छ । १४ वर्षकै उमेरबाट उनी खेलकुद क्षेत्रमा होमिएका हुन् । त्यसमा पनि बक्सिङ । टिभीमा बक्सिङ खेलको प्रत्यक्ष प्रसारण जस्तै गरी हेर्न पाईएपछि उनको मन पनि बक्सिङमै ढल्कियो । प्रेरणाको स्रोत बने सुरेश मल्ल र गणेशबहादुर भट्टराई । दुवै बक्सिङका साफ मेडलिष्ट समेत हुन् ।

उनीहरुकै सिको गर्दै बक्सिङ खेल्न थालेका गोदारले कालान्तरमा आईपुग्दा मुवाथाईलाई आफ्नो खेलकुद धान्ने साधन बनाईरहेका छन् ।कलिलै उमेरमा खासै सोच्न भ्याईसक्ने अवस्था पनि थिएन । अरुले खेलेको देखेर बक्सिङमा छिरेको गोदार तीन वर्षपछि कराँतेमा रुमलिए । ‘खेल्दा रगत आउँथ्यो । घरपरिवारको गाली खाइन्थ्यो । तर पनि खेलप्रतिको अभिरुचिले तगारो भने हालेन् ।’ उनीले विगतलाई सम्झिए–‘स्कुलै हापेर भएपनि खेल्न गइन्थ्यो ।’ २०५२ सालमा कराँते त्यसमा पनि फुल कन्ट्याक्टमा झोसिए । कमाई थिएन । परिवारको साथ थिएन । त्यसैबेला काम लाग्यो साथीभाइ ।

झिसमिसेमा पोखरा रंगशाला छिर्यो । सबै ठाँउ खुल्ला थियो । पुरानो भवनको बरण्डामा कराँते प्रशिक्षण हुन्थ्यो । त्यही गएर जोईन भए । कराँतेमा नि:शुल्क प्रशिक्षण थिएन । शुल्क तिर्नुपर्ने अनि पोशाक पनि किन्नु पर्ने । पैसा नहुँदा उनलाई कराँते खेल्न जोस्सयाए हिमाल खड्काले । उनै खड्काले कराँतेको फि(शुल्क) तिरिदिए । त्यतिबेला लाग्यो सबैभन्दा ठूलो गुन नै उनले लगाए । ‘फि तिर्ने पैसा थिएन । हिमाल खड्काले पैसा तिरिदिएपछि खेल्न थालियो ।’ उनी कराँते खेलको पुराना स्मरणलाई मानसपटलमा सम्झिए ।

समय एकैनास पक्कै हुदैन् । उनमा पनि लागू भयो । हिजो खेल्दा रगत आउने, हात खुट्ट सुन्निने हुदाँ परिवारले खेल्न रोक लगाउँथे । समय वित्दै गएपछि घरभित्र पदक र ट्रफी छिर्न थालेपछि परिवारको पनि सहयोग हुदैं गयो । परिवारको सहयोग हुन थालेपछि उनले आफ्नो  भित्रैदेखिको खेलकुदप्रतिको चाहनालाई चंगासरी आकाशमा उडाउने अवसरको रुपमा अनुसरण गरे । त्यसपछि उनको खेलकुद रफ्ता निकै अगाडि बढ्यो । एकपछि अर्को पदक घरभित्र छिर्यो । परिवारको साथ । लुरे, बाँसजस्तो सिठ्ठा ज्यान । २०५६ सालमा आईपुग्दा उनले बल्ल जिल्लास्तरीय कराँतेमा आफूलाई एरिनामा उभ्याए । पहिलो सहभागितामै स्वर्ण पदक जितेपछि मन फुरुङ्ग बन्यो । जोश जाँगर र हौसला एकैसाथ शीरमाथि आईपुग्यो । धरानमा आयोजित कराँते फष्ट च्याम्पियनसिपमा समेत उनकै नाममा स्वर्ण लेखियो । अल नेपाल हेभिवेट कराँते च्याम्पियनसिपमा दोस्रो पदकमै चिक्त बुझाए । उमेरमा उनले ५१ वटा जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेले । जसमा ३२ पदक जिते । ५४ केजी तौल समूहको ठिटोले १०५ केजी तौलको हेभिवेटसँग समेत भिड्न उनलाई खासै डर भने लागेन् । आँट र दृढ विश्वासले उनलाई आफ्नो प्रतिस्पर्धीलाई अब्बल देख्दैनथे ।

बक्सिङको पृष्ठभूमि र कराँतेको वर्तमान सिकाई र भोगाइले उनलाई मुवाथाई पनि अग्रसरता देखायो ।