वर्तमान संकटपूर्ण अवस्थामा संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे


परासी ।

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले वर्तमान संकटको घडीमा संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ।

नेपाल जेसिजको आयोजनामा परासीमा शुरु भएको १८औं लेडी एकेडेमीको शनिवार उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन गद्र्र्रै लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नका लागि संसदको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभएको हो।

वर्तमान अवस्थामा राष्ट्रिय सभा एक स्थायी सदन भएकाले यसले नीति निर्माण, राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास म गर्दछु।’ उहाँले भन्नुभयो, ‘संसद मार्फत जनप्रतिनिधिहरूले आ–आफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने छ, मूलुकमा संविधानअनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्ने आवश्यकता र संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।’उहाँले संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आब्हान पनि गर्नुभएको छ।

नेपाल अहिले सामाजिक, आर्थिक र राजनीतिक संक्रमणको संवेदनशील चरणमा रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यस्तो अवस्थामा, युवापुस्ता विशेषगरी युवा महिलाहरूको भूमिका अत्यन्तै निर्णायक हुने भएकाले आफ्नो समाजमा नयाँ चेतना ल्याउने, असमानता मेटाउने र आत्मनिर्भर राष्ट्र बनाउने अग्रदूत बन्न आग्रह पनि गर्नुभयो। ‘अब तपाईंहरू शिक्षित मात्र होइन, सचेत नागरिक बन्नुहुनेछ र तपाईंहरूले सामाजिक न्याय, समावेशीता र समान अवसरका पक्षमा आवाज उठाउनुहुनेछ।

’ उहाँले भन्नुभयो, ‘मेरो बिश्वास छ तपाईंहरू आत्मनिर्भरता, सीप र उद्यमशीलताका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्नुहुनेछ। राजनीतिक, आर्थिक वा सामाजिक प्रत्येक तहमा महिलाको सहभागिता बढ्दै जानु देशको प्रगतिसँग प्रत्यक्ष सम्बन्ध राख्नेछ।’

उपाध्यक्ष घिमिरेले सहभागी युवा महिलालाई नेतृत्व तपाईंभित्रै भएकाले अवसर पर्खेर भन्दा पनि सिर्जना गर्न सक्ने आत्मविश्वास विकास गर्न आग्रह गर्नुभयो। उहाँले समाजले युवाहरुबाट धेरै आशा गरेको बताउँदै राष्ट्र निर्माणको लागि अघि बढ्नुपर्छ भन्नुभयो। ‘नेता त्यो हो, जसले बाटो चिन्छ, आफू त्यही बाटोमा हिँड्छ, र अरूलाई पनि त्यस बाटोतर्फ डोर्याउँछ। नेतृत्व सिकाइको कुरा हो, जन्मजात होइन। हामी सबैमा नेतृत्वको बीउ हुन्छ त्यसलाई उजागर गर्न चाहिने कुरा हो अवसर, अभ्यास र आत्मविश्वास। त्यसैले, म सहभागी दिदीबहिनीहरूलाई अनुरोध गर्छु’ उहाँको भनाई थियो।