कोटेश्वरमा ट्राफिक व्यवस्थापनको विकल्प खोज


कोटेश्वर र कलंकी काठमाडौं शहर प्रवेशका मुख्य चोक हुन् । कलंकी चोकमा ‘अन्डरपास’ निर्माण भए पनि कोटेश्वर चोकमा ‘ओभरपास’ वा ‘अन्डरपास’ निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन । त्यसैले कोटेश्वर चोकमा सधैँ ट्राफिक जाम हुने गरेको छ । अझ ग्वार्कोस्थित चक्रपथमा ओभरपास निर्माण भएर सञ्चालनमा आएपछि कोटेश्वरको ट्राफिक जाम झनै थेगिनसक्नु भएको छ । यहाँको जाम पूर्वमा जडीबुटी चोक र पश्चिममा तीनकुने क्षेत्रसम्म पुग्नाले दिन–प्रतिदिन ट्राफिक समस्या चर्किंदै गएको देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्नु जरुरी छ ।

सरकारले केही वर्षअघि तीनकुनेबाट जडीबुटी आसपासको क्षेत्र जोड्ने सुरुङमार्ग निर्माण गर्ने विषयलाई नीति तथा कार्यक्रममा समेत समावेश गराएको थियो । तर यसको प्रक्रिया अझै अगाडि बढ्न सकेको देखिँदैन । यहाँ सडक विस्तार भए पनि यातायातका साधन बढेपछि दिनहुँ हुने सवारी जामले यात्रुलाई सास्ती भएको छ । यहाँको फराकिलो सडकमा घण्टौं हुने सवारी जामले ट्राफिक व्यवस्थापनको सवाल अब सडक विस्तारसँग मात्रै सम्बन्धित नभएको स्पष्ट हुन्छ ।

त्यसैले तीनकुनेदेखि जडीबुटी हुँदै मनोहरा नदीपारिसम्म सुरुङमार्ग वा आवश्यकताअनुसार ‘ओभरपास’ निर्माण प्रक्रिया अघि बढाउन ढिला गर्नुहुँदैन ।माइतीघरदेखि सूर्यविनायकसम्मको सडक ६ लेनको फराकिलो छ । कतिपय स्थानमा त ८ लेन पनि देख्न सकिन्छ । तर पनि कोटेश्वर–जडीबुटीमा अत्यधिक ट्राफिक जाम हुने गरेको छ । सार्वजनिक यातायात मात्र होइन कि एम्बुलेन्स, दमकलसमेत जाममा पर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले यो जामलाई न्यूनीकरण गर्ने हरउपाय अवलम्बन गरे पनि अत्यधिक सवारीसाधन र यहाँ ‘अन्डर पास’ वा ‘ओभरपास’ नहुँदा व्यवस्थापन गर्न सक्ने अवस्था छैन । त्यसैले वर्षौंदेखिको समस्या समाधानका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सरकारले पहल गरोस् । नत्र सूर्यविनायक–धुलिखेल सडक सुदृढीकरण कार्य सम्पन्न भएपछि कोटेश्वरको ट्राफिक जाम झनै बढ्ने पक्का छ ।

हुन त कोटेश्वर क्षेत्रमा ट्राफिक जाम घटाउन दुईवटा ‘फ्लाई ओभर’ र एउटा सुरुङमार्ग बनाइने कुरा केही महिनाअघि समाचारमा आएको थियो । यस प्रयोजनका लागि जाइकाबाट सहुलियतपूर्ण ऋण लिने मन्त्रिपरिषद्ले निर्णयसमेत गरेको थियो । जाइकाले ‘फ्लाई ओभर’ र सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । जसअनुसार तीनकुनेस्थित बागमती पुलबाट कोटेश्वरको मुनिभैरव मन्दिरसम्म ‘फ्लाई ओभर’ र त्यस आसपासबाट जडीबुटीसम्म सुरुङमार्ग निर्माण गरिने कुरा प्रकाशमा आएको छ ।

यसले केही झीनो आशा भने पलाएको छ तर प्रत्यक्षरुपमा काम शुरु नभएसम्म ढुक्क हुन नसकिने सरकारका विगतका काम कारबाहीबाट अनुमान गर्न गाह्रो छैन । यहाँको समस्या दिगोरुपमा समाधान गर्नका लागि ‘फ्लाई ओभर’ वा सुरुङमार्ग नै उत्तम विकल्प हो । यसका लागि शीघ्र प्रक्रिया अगाडि बढाउनुपर्छ । ‘फ्लाई ओभर’ वा सुरुङमार्ग निर्माण खर्चिलो भए पनि यहाँको ट्राफिक जाम व्यवस्थापन गर्न आधुनिक एवं भरपर्दाे विकल्प यही हो । यसतर्फ शीघ्र सरकारको ध्यान आकृष्ट होस् ।