काठमाडौं ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि नोबेम्बर १४ मा नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाउन थालिएको हो । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो ।
विश्व मधुमेह दिवसका अवसरमा शुक्रवार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले जनचेतनामूलक पर्चा, पम्लेटसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो । ग्रान्डी अस्पतालबाट सुरु भएको उक्त प्रभातफेरी भाटभटेनी, ग्रीनल्यान्ड चोक, धापासी हाइट, कृष्णमन्दिर हुँदै पुनः ग्रान्डी अस्पताल पुगेर कोणसभामा परिणत भएको थियो ।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ । यस्तै, ग्राण्डीले विश्व मधुमेह दिवसका अवसरमा मधुमेहको निःशुल्क परीक्षणसमेत गरेको छ । अस्पताल परिसरमा आयोजित निःशुल्क परीक्षणमा १ सय जनाले सुगर, रक्तचाप र डाईटीसियनसम्बन्धी परामर्श सुविधा लिएका थिए ।
ग्रान्डी अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. सन्देश पन्थीले मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण लाग्ने गरेको बताउनुभयो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने मुख्य उपाय भएको उहाँले बताउनुभयो ।
बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइएको छ ।











प्रतिक्रिया