धनुषा मिथिलाका वडाध्यक्षको गोली हानि हत्या, १ जना पक्राउ


काठमाडौ ।

धनुषाको मिथिला विहारी नगरपालिका –९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानि हत्या गरिएको छ । केहि समूहले शुक्रबार साँझ ६ बजे घरमै गोली हानि हत्या गरेको हो ।सो नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले घटनाको पुष्टि गर्दै वडाध्यक्ष यादवको घरमै बसिरहेको अवस्थामा गाउँकै युवाहरूको समूहले गोली हानेर हत्या गरेको जानकारी दिनुभयो । गोली हानेर यादवको हत्या भएपछि गाउँ आतंकित बनेको छ । सुरक्षा चुनौती थपिएको छ ।

मेयर यादवका अनुसार शुक्रबार साँझ गाउँमा स्थानीय दुई समूहबीच विवाद भएको थियो । त्यतिबेला वडाध्यक्षले सम्झाउन खोज्नुभएको थियो । सम्झाउन खोज्दा केहि विवाद पनि भएको थियो । त्यही रिसिबीमा केहि समय पछि वडा अध्यक्ष विन्देश्वर माथि गोली प्रहार भएको थियो । घट्ना पछि घट्नास्थल पुगेको प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । गोली हान्ने व्यक्ति प्रहरीमा कार्यरत रहेको आशंका गरिएको भएपनि पुष्टि हुन बाँकी रहेको बताइएको छ ।